काठमाडौं, असार ४ (हाकाहाकी)– कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।
प्रवक्ता डा. गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ सय ७१ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ५ सय ९१ जना पुरुष र ८० जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ पुगेको छ । जसमा १ सय १४ जना महिला र १ हजार ७२ छन् ।
यसैबिच, काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।