Wednesday, December 25, 2024

वाग्मती सफा गर्न महाअभियानले स्थानिय तहसँग सहकार्य गर्ने

काठमाडौ, असार ३ (हाकाहाकी)– वाग्मती सफाइ महाअभियानले नदी किनारको दायाँबायाँका स्थानीय तहसँग सहकार्य गरी प्रदूषण नियन्त्रणमा काम गर्ने भएको छ ।
जुम प्रविधिबाट आयोजना गरिएको महाअभियानको बैठकमा यसै साता गोकर्णेश्वर, कागेश्वरी मनोहरा र कीर्तिपुर नगरपालिका एवं काठमामाडौँ तथा ललितपुर महानगरपालिकासँग पहिलो चरणमा वार्ता गर्ने निर्णय गरिएको हो ।

सफाइका लागि चेतना अभियान लगायत विषय नगरपालिकाको कार्य योजनामै राख्ने उद्देश्यले वार्तासहित सहकार्य गर्न लागिएको हो । बैठकमा ०७० जेठ ५ गतेदेखि महाअभियान शुरु गर्न लागि पर्नु भएका तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाई सफाइ अभियानमा लगाउनुपर्ने बताउनुभयो ।

सफाइ अभियानकर्मी एवं फोहर मैला महासङ्घका अध्यक्ष डिपी आचार्यले नुवाकोटको ल्याण्डफिल्ड साइट अहिलेको दिनमा तीन घण्टामात्र खुल्ने गरेकाले राजधानीबाट फोहर उठ्न नसकेको बताउनुभयो ।

विसं २०७६ चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी लागू गरिएपछि जुम प्रविधिबाट आज दोस्रोपटक सफाइ महाअभियानको बैठक गरिएको हो । बन्दाबन्दी अघि प्रत्येक हप्ता बुधबार बैठक गरी शनिबारको सफाइका लागि तयारी हुने गरेको थियो ।

बैठकले आजैदेखि प्रत्येक हप्ता बुधबार नियमित रुपमा जुम प्रविधिबाट बैठकलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । वाग्मती सफाइ महाअभियानले ३ सय ७० हप्ता पूरा गरिसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार