Thursday, December 26, 2024

सार्वजनिक यातायात सञ्चालनको तयारी

काठमाडौ, असार ३ (हाकाहाकी)– सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ ।

सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको विभागका महानिर्देशक गोगन हमालले जानकारी दिनुभयो ।

महानिर्देशक हमालले सिट क्षमताको आधा सङ्ख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेलगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको जानकारी दिनुभएको हो ।

तर विभागले बनाएको निर्देशिकामा व्यवसायीले सहमति जनाएका छैनन् । सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सामाजिक दुरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरूको खर्चसमेत नउठ्ने जनाएको छ ।
सरकारले भाडा वृद्धि गर्ने मात्र नभइ अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासङ्घको माग छ । महासंघका महासचिव सरोज सिटौलाले विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न नसक्ने, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी पनि नहुने बताउनुभएको छ ।

ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था ल्याउनुपर्ने भन्दै महासचिव सिटौलाले उनीहरूलाई अनुदान दिएर लगानीको सुरक्षा दिनुपर्ने बताउनुभयो । माग सम्बोधन भए सरकारले भनेकै मितिबाट गाडी चलाउन थाल्ने व्यवसायीको तयारी छ ।

ताजा समाचार

सम्बन्धित समाचार