Thursday, December 26, 2024

‘मेलम्चीको पानी परीक्षण असारमै हुन्छ’

काठमाडौ, असार ३ (हाकाहाकी)– खानेपानी मन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाण्डौ झारिने बताउनुभयो ।

उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराउनुभयो । पानीको वितरण काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै गर्ने उहाँको भनाइ थियो ।
यसैगरि,सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिनुभएको छ ।
विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजीसेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताउनुभयो ।

यसैगरी,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत सम्बन्धित मन्त्रालयसँग उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अर्यालले बैंक स्थापनाको लागि सम्बन्धित स्थानीय तहले बाँजो जमीन पहिचानको काम गरिरहेको जनाकारी दिनुभएको हो । यसको लागि केन्द्र सरकारले ५० प्रतिशत, प्रदेशले ३० र स्थानीय सरकारले २० प्रतिशत लगानी गर्नेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार