Thursday, December 26, 2024

प्राकृतिक विपद्मा ३ बर्षमा ९ सय २२ को मृत्यु

काठमाडौ, असार ३ (हाकाहाकी)– प्राकृतिक विपद्‍मा परेर पछिल्लो ३ वर्षमा ९ सय २२ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार वैशाख २०७५ देखि ३ असार २०७७ अर्थात् आज (बुधबार)सम्म बाढी, पहिरो, डुबान, चट्याङ, आगलागी, जनावर आतंकजस्ता प्राकृतिक विपद्का घटनाबाट उनीहरूले ज्यान गुमाएका हुन्।

३९ हजार ३ सय १३ परिवार प्रभावित हुँदा ९ अर्ब ८ करोड ३२ लाख ३३ हजारभन्दा बढीको अनुमानित क्षति पुगेको छ । यो अवधिमा ८ हजार ८ सय ९९ विपद्का घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ ।

गएको वर्ष बाढी, पहिरो र चट्याङबाट २ सय ४५ जनाले ज्यान गुमाएका थिए । चट्याङ लागेर ८९ जना, पहिरोमा पुरिएर ८३ जना तथा बाढीले बगाएर ७३ जनाको मृत्यु भएको थियो।

त्यस्तै, झण्डै डेढ अर्बको भौतिक क्षति पुगेको थियो । विपद्‍बारे अध्ययन, त्यसको जोखिम न्यूनिकरण गर्न र यसबारे आवश्यक गृहकार्य गर्न सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन समेत गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बनेको प्राधिकरणमा सबै मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्रीहरु लगायत सदस्य हुनुहुन्छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्का घटनाबाट वर्षेनी ठूलो धनजनको क्षति भइरहेको बताउनुभएको छ । भूकम्प, बाढी, पहिरो, हावाहुरी लगायतका प्राकृतिक विपद्का घटना बढिरहेको उहाँको भनाइ छ।

कार्यकारी प्रमुख पोखरेलका अनुसार यो वर्ष प्रकोपबाट १२ लाख परिवार प्रभावित हुने अनुमान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार