Thursday, December 26, 2024

स्थानिय तहका क्वारेन्टिन र होल्डिङ सेन्टरलाई रकम निकासा

काठमाडौं, असार ३ (हाकाहाकी)– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले स्थापना तथा व्यवस्थापन गरी सञ्चालनमा रहेका क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि रकम निकास गरेको हो ।

मन्त्रालयले १७६ स्थानीय तह र स्थलमार्गबाट आउने नाका अन्तर्गतका २० वटा स्थानीय तहमा बन्ने होल्डिङ सेन्टरका लागि रकम निकासा गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वारेन्टिनका लागि १ सय ७६ स्थानीय तहलाई १३ करोड २२ लाख ५६ हजार ८ सय २५ र २० वटा होल्डिङ सेन्टरका लागि २ करोड ७७ लाख २३ हजार निकासा गरिएको छ ।

यसरी निकासा गरिएको रकम स्थानीय तहले क्वारेन्टिनमा बसेका व्यक्तिको बसोवास, बन्दोबस्त र खानपिनको व्यवस्था गर्न र आवश्कता अनुसार स्वास्थ्य परीक्षण गर्नका लागि खर्च गर्ने छन् । प्रवक्ता अधिकारीले कोभिड व्यवस्थापन सूचना प्रणालीमा पठाएको विवरण अनुसार १७६ स्थानीय तहलाई रकम पठाइएको बताउनुभयो ।

उहाँका अनुसार भारतबाट स्थलमार्ग हुँदै २० वटा नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिलाई राख्न होल्डिङ सेन्टर स्थापनाका लागि रकम पठाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ का बिरामीलाई सिफारिस गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको सिफारिस गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र सिफारिस गर्न सबै अस्पताललाई निर्देशन दिएको बताउनुभयो ।

उहाँले समन्वय गर्दा बिरामीलाई सहज हुने बताउनुभएको छ । समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चार वटा अस्पताल जानुपर्ने बाध्यता र त्यस क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा. अधिकारीले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार