Thursday, December 26, 2024

बुधबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि

काठमाडौ, असार ३ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो ।

बुधबारका संक्रमितसहित बिरामीको संख्या ७ हजार १ सय ७७ पुगेको छ । यीमध्ये पुरुष ६ हजार ६ सय ३८ र महिला ५ सय ३९ जना रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

उहाँले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ५ सय ८६ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभएको हो । संक्रमितको संख्या बढेसँगै कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म देशैभरबाट एक हजार १६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यसैबीच, प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो पटक नेपालगन्जमा एकजनाको ज्यान गएको छ । मृतकको संख्या २० पुगेको छ ।

मन्त्रालयको अनुसार आजसम्म कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ७३ रहेको छ । आज सबैभन्दा धेरै १ सय ८३ जना कोरोना संक्रमित महोत्तरीमा भेटिएका छन्। प्रदेश नम्बर दुई अहिले देशकै हट स्पट बन्दै गएको छ। ​

यसैगरी, देशैभर हालसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ नमूना परीक्षण गरिएको छ । र आजसम्म देशैभरका आइसोलेसनमा ५ हजार ९ सय ९० संक्रमितको उपचार भइरहेको छ भने देशभर क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख २५ हजार ७ सय ९८ रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार