काठमाडौ, जेठ ३२ (हाकाहाकी)– नेकपा पार्टीको पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाइ सञ्चो नभएकोले अन्तिम समयमा बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्री ओलीले आइतबार ४ बजे बालुवाटारमा निर्धारित बैठक स्थगित गरेको जानकारी १० मिनेट अघि मात्रै सचिवायलका सदस्यहरुलाई गराउनुभएको थियो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक के कारणले स्थगित भएको हो भन्नेबारेमा आफुलाइ थाहा नभएको बताउनुभयो ।
तर पार्टी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई सञ्चो नभएकाले अर्को दिन बसौँला भनेपछि बैठक स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले योसँगै तीन पटक पूर्वनिर्धारित सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गर्नुभएको छ भने दुई पटक स्थायी कमिटी बैठक स्थगित गर्नुभएको छ ।
आइतबारको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको थियो ।
नेकपामा एमसीसी को विवाद पेचिलो बन्दै गएको बेला बैठक दोस्रो पटक स्थगित भएको हो । दुवै अध्यक्षबीच छलफल पछिमात्र अब बैठकको मिति तय हुने स्रोतले जनाएको छ । नेकपा सचिवालयका बहुसंख्यक नेता एमसीसी पास गर्न नहुने पक्षमा छन् ।