काठमाडौ, जेठ ३२ (हाकाहाकी)– नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । केही दिन ओरोलो लागेको संख्या शुक्रबारदेखि बढन थालेको हो ।
आइतबार मात्र ४ सय २५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिनुभएको हो ।
त्यसो त निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । आइतबारसम्म ९ सय ७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
उहाँका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको नमुना परीक्षणमा रुकुम पश्चिमका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबार मोरङका २५ जना, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७, बाराका ९, सर्लाहीका ६ र रौतहटका ७६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी नवलपरासी पूर्वका २, बझाङका ५, डडेल्धुराका २४, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, प्युठानका २ र दाङका ५४ जनामा संक्रमण पाइएको छ ।
धनुषाका १, रामेछापका २, गुल्मीका ८, नवलपरासी पश्चिमका २, रुपन्देहीका २६ र पाल्पाका १७ जनामा कोभिड–१९ पोजिटिभ देखिएको हो । यसैगरी सुर्खेतका ४०, दैलेखका २९, सिन्धुलीका १, र धादिङका २५ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी, आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ । पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो ।
रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालका अनुसार उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए ।