काठमाडौं, जेठ ३२ (हाकाहाकी)– नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर ‘काठमाडौं प्रेस’का प्रबन्ध सम्पादक गोविन्द परियारलाई ‘सिध्याइदिन्छु’ भन्दै सुमेग ट्राभल एजेन्सीका सञ्चालक मेघ केसीले दिएको धम्कीको भत्र्सना गरेको छ ।
महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई ‘काठमाडौं प्रेस’का प्रबन्ध सम्पादक गोविन्द परियारलाई सिध्याइदिन्छु भन्दै सुमेग ट्राभल एजेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै महासंघले धम्कीको घोर भत्र्सना गर्दै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन समेत सम्बन्धित निकायसँग माग गरेको छ ।
आइतबार बिहान ११ः५ बजे केसीले ९८५१०८२५१२ नम्बरको मोबाइलबाट फोन गरी मेरो विषयमा किन समाचार लेखेको म ‘सिध्याइदिऊँ’ भन्दै धम्की दिएको जानकारी काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले जानकारी दिएका छन् ।
गत जेठ २५ गते काठमाडौं प्रेसले ‘पर्यटनमन्त्रीकै संरक्षणमा चार्टर्ड उडानमा ब्रम्हलुट!’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यस्तै २६ गते क्यानले रोक्न निर्देशन दिएपछि पनि धमाधम चार्टर्ड उडान गर्दै ट्राभल एजेन्सी र ३० गते छानबिनमा तानिएको ट्राभल्स एजेन्सीसँग मन्त्रीको दबाबमा फेरी चार्टर्ड उडानको सम्झौता शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
समाचारमा कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा ट्राभल एजेन्सीहरुले यात्रुहरुसँग तीन गुणा महँगो भाडा असुलेको उल्लेख छ। सुमेग ट्राभल्ससँगै हार्भेस्ट मुन र सिरिन ट्राभल्स लगायतले चार्टर्ड उडानमा महँगो शुल्क असुलेको उल्लेख छ ।