Tuesday, December 24, 2024

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

काठमाडौ, जेठ ३२ (हाकाहाकी)– चीनमा कोरोना भाइरसका संक्रमितहरु फेरि एकाएक बढेका छन् ।

त्यहाँका सरकारी अधिकारीहरुलाई उदृत गर्दै पीटिआई समाचार संस्थाले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले फेरी धेरै जना संक्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै संक्रमित एकैपटक देखिएको अधिकारीहरुको भनाई छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना संक्रमणको पुर्वअवस्थामा रहेका छन् । संक्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर संक्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

अरु १ सय ३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको समाचारमा बताइएको छ । आन्तरिक रुपमा सरेर संक्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् ।

पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना संक्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेको समेत बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार