काठमाडौ, जेठ १५ (हाकाहाकी)– आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैया विनियोजन गरेको छ ।
बिहीबार संसदको दुबै सदनमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले ‘लकडाउन’ अवधि भर श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने बताउनुभयो ।
उहाँले आव ०७७÷०७८ को बजेट प्रस्तुत गर्दै यो रकम लकडाउन अवधिभर सरकारले नै व्यहोर्ने जानकारी दिनुभयो । त्यो रकम सम्बन्धित प्रतिष्ठानले तत्काल श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीका रुपमा प्राप्त गर्न सक्ने र व्यवसाय सहज भएपछि कोषमा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । सरकारको यो निर्णयसँगै कामविहीन बनेका श्रमिक र व्यवसाय बन्द भएका रोजगारदाताले ठूलो राहत पाएका छन् ।
यसैगरी, सरकारले यो वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि नगरिएको तर भत्तालाई निरन्तरता दिएको छ । सरकारले महिनाको तीनहजार सामाजिक भत्ता दिँदै आएको छ ।
सुरक्षा भत्ताका लागि सरकारले यो वर्ष ६७ अर्ब ५० करोड रकम छुट्याएको छ । त्यस्तै ७० वर्षमा माथिका वृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो वर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना अघि सारेको छ ।
त्यस्तै ,सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेट तथा कार्यक्रममा स्वास्थ्यका लागि बिशेष गरी कोरोना रोकथामका लागि ६ अर्ब, स्वास्थ्यकर्मीको ५ लाखको निःशुल्क बीमा गर्ने जनाएको छ । कोरोना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिर्नेछ ।
एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सुरु गर्न ५ अर्ब १० करोड विनियोजन गरेको छ । आउँने वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । विपदको बेलामा निजी क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सक्ने व्यवस्था गरिने । कान्ति बाल अस्पतालमा थप आईसीयू बनाइने तथा राष्ट्रिय रोग निदान केन्द्र स्थापना गरिने बजेटमा जनाएको छ ।
यसैगरी आउँने आर्थिक वर्षमा रेल रेवा सञ्चालन तथा रेल मार्ग निमाणको लागि सरकारले ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै जयनगर जनकुर तथा बिजलापुरसम्म रेल सञ्चालन गर्ने जानकारी दिनुभयो ।
त्यस्तै पूर्व पश्चिम रेल मार्ग, वर्दिबास–निजगढ रेल मार्ग विस्तार कार्य तथा रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन र रक्सौल–काठमाडौं रेल मार्गको अध्ययन कार्य आउाने वर्ष्भित्र सम्पन्न गरिने बताइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गएकोवर्षभन्दा ८ अर्ब ७१ करोड बढी बजेट विनियोजन गर्नुभएको छ । शिक्षा मन्त्रालयलाई १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरिएको छ ।
आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने खतिवडाले
बताउनुभयो । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याइनेछ । त्यस्तै आउँने वर्ष साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना रहेको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।
निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड रुपैया विनियोजन गरिएको छ । त्यस्तै विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्टाइएको छ । त्यस्तै राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम विस्तार गर्नका लागि ६ अर्ब रुपैयाँ छ ।
कोरोना भाइरस कारण विद्यालय सञ्चालनमा समस्या भइरहेका बेला सरकारले भर्चुअल कक्षा सञ्चालनमा जोडमा जोड दिएको छ । माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने सरकारको योजना छ । त्यस्तै माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने भएको छ ।
शिक्षाको गुणस्तर सुधारलाई बजेटमा प्राथमिकतामा राखेको जनाउँदै अर्थमन्त्री खतिवडाले दृष्टिवीहिन बालबालिकाको शिक्षालाई सहज बनाउन सेतो छडी र ब्रेललिपीका पाठ्यपुस्तक निशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो । यस्तै, शैक्षिक बेरोजगारलाई सहकारी मार्फत् कर्जा उपलब्ध गराएर आत्मनिर्भर गराइने सरकारको योजना छ । पर्यटन विश्वविद्यालयको स्थापनाका लागि संभाव्यता अध्ययन र माध्यमिक तह भन्दामाथि पर्यटन सम्बन्धी पाठ्यक्रम तयार पारिनेछ ।
सुन, मदिरा र सुर्ती सबैको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री डा. खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताउनुभयो । ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो।
बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेको मूल्य भोलिदेखि नै लागू हुनेछ । त्यस्तै, देशको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय सम्पतीका रुपमा जगेर्ना गरिने बताइएको छ । सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिसँग जोडिएका विषयको अध्ययन, अनुसन्धान र विकास गरिने भएको छ ।
जिवन्त इतिहासको रुपमा रहेका पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण सम्वर्धन र विकास गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो।
उहाँले काठमाडौं उपत्यका भित्रको मौलिक संस्कृति तथा सम्पदाको जगेर्ना र पर्यटन प्रवर्धनमा जोड दिने समेत बताउनुभयो । कीर्तिपुरमा राष्ट्रिय संस्कृति संग्राहलय निर्माण कार्य अघि बढाउने, उपयुक्त स्थानमा वृहत सहिद पार्क निर्माण, सम्पदा सूचिमा रहेका सम्पदा संरक्षण र सम्वर्धन, वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा जोड दिने घोषणा समेत भयो । लुम्बिनीमा निर्माणाधिन ५ हजार मानिस अट्ने ध्यान केन्द्र तथा सभा हाल निर्माण गरिने भएको छ । त्यस्तै जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृति सम्वर्धन र विकासको गुरुयोजना तर्जुमा गर्ने र काम अघि बढाइने भएको छ ।
देवघाट, पाथीभरा, बराह क्षेत्र, हलेसी, रुरु, खप्तड लगायत क्षेत्र विकासका लागि आवश्यक रकमको व्यवस्था गरेको र रामायण परिपथ निर्माण र अमुर्त सांस्कृतिक सम्पदा जगेर्नाका लागि अभिलेख पुस्तिका तयारीका लागि समेत बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले घोषणा गर्नुभयो ।