Wednesday, October 23, 2024

आँधीखोलाका माछा एमोनियाले मरेकोे पुष्टि

काठमाडौं– अक्सिजनको मात्रा न्यून र एमोनियाको मात्रा अधिक भएका कारण आँधीखोलाको स्याङ्जा गल्याङस्थित खण्डमा माछासहित जलचर मरेको केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंले पुष्टि गरेको छ।

घटना भएको ४८ घण्टा पछि गत सोमबार मिर्मीस्थित मत्स्य विकास केन्द्रले लिएको ड्यामसाइडको पानीको नमूना बुधबार केन्द्रीय प्रयोगशालाले परीक्षण गर्दा अक्सिजनको मात्रा न्यून, एमोनिया र एमोनियम ग्यासको मात्रा बढी तथा पानीमा धमिलोपनाको मात्रा बढी रहेको पाइएको हो।

पानीको नमूना परीक्षण गर्दा एमोनियमको मात्रा प्रतिलिटर ० दशमलव ०५ मिलिग्राम, एमोनियाको ० दशमलव ०१७ मिलिग्राम, धमिलोपना ३८ दशमलव ७ मिलिग्राम र अक्सिजन ३ दशमलव ५ मिलिग्राम रहेको पाइएको केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंका वरिष्ठ मत्स्य विकास अधिकृत श्रवणकुमार चौधरीले हाकाहाकीलाई जानकारी दिए।

उनका अनुसार सामान्यतः एमोनियम र एमोनियाको मात्रा प्रतिलिटर ० दशमलव ०२५ देखि ० दशमलव ०३० मिलिग्राम, धमिलोपना २५ दशमलव ६ मिलिग्राम र अक्सिजनको मात्रा कम्तिमा ५ मिलिग्राम हुनुपर्छ।

‘एमोनिया बढी भएपछि अक्सिजनको मात्रा ज्यादै न्यून देखिएको छ। धमिलापना पनि धेरै छ। सामान्यत बहने पानीमा धेरै धमिलोपन हुँदैन,’ उनले भने, ‘मिर्मीस्थित मत्स्य विकास केन्द्रले परीक्षण गर्दा यो भन्दा बढी रहेको भनिएको छ। यहाँ ल्याउँदा यथार्थ रिपोर्ट नआउने सम्भावना पनि उत्तिकै रहन्छ।’ तर, मिर्मीले परीक्षण गरेको रिपोर्ट सार्वजनिक भइसकेको छैन।

चौधरीका अनुसार कुहिएको वस्तुबाट एमोनिया ग्यास निस्कन्छ। खाँदिएर राखिएको वस्तु कुहियो भने झन बढी ग्यास निस्कन्छ। एमोनिया ग्यास रङहिन हुन्छ भने यसको गन्ध कडा र पिरो हुन्छ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले अनुसन्धान गर्न मत्स्य विकास केन्द्र र स्थानीय तहलाई निर्देशन दिइए पनि विवरण प्राप्त भइनसकेको बताए।

खिलुङ कालिका एग्रो फार्मले गत शनिबार राति एमोनियायुक्त कुखुराको सुली मिसाएपछि खोलाका माछासहित जलचर सोत्तर भएका थिए। फार्मबाट निस्कने सुली व्यवस्थापनका लागि गल्याङ नगरपालिका–७ को आँधीखोला किनारामा दुईवटा पोखरी बनाएको छ। पोखरी र आँधीखोलाको दूरी करिब ५० मिटर पर्दछ।

यो पनि पढ्नुस्
कसले मिसायो आँधीखोलामा एमोनिया?

ताजा समाचार

सम्बन्धित समाचार