नेपालगञ्ज– अमेरिकी सहयोग नियोग यूएसएडको सहयोगमा नेपाल वातावरण पत्रकार समूह(नेवापस) ले सञ्चालन गरेको पानी परियोजनाबाट प्राप्त ज्ञान र अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार नेपालगञ्जमा आयोजित सो कार्यक्रममा संघिय सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, नेवापसका पदाधिकरी/कर्मचारी र पानी परियोजनामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पानी परियोजना र नेवापसले जल र जलचर संरक्षणमा गरेको कामको प्रशंसा गरे । वातावरणीय क्षेत्रमा भइरहेको कानून निर्माण र जनचेतनामा नेवापसको योगदान महत्वपूर्ण रहेको भन्दै सरकार सहयोग गर्न प्रतिवद्ध रहेको बताए । मन्त्री राईले विकास निर्माण गर्दा त्यसले भविश्यमा ल्याउन सक्ने परिणामहरुको बारेमा पनि सोच्न आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेवापसका महासचिव निमेष रेग्मीले पानी कार्यक्रमको बारेमा जानकारी दिए । राप्ती, कर्णाली र महाकाली नदीको संरक्षण लागि नेवापससँगसँग सहकार्य गरेकोमा पानी परियोजनालाई धन्यवाद दिँदै रेग्मीले जलीय जीवको संरक्षणमा परियोजनाले महत्वपूर्ण योगदान गरेको बताए ।
पानी नेफेज साझेदार सम्बन्धी प्रस्तुतीकरण दिँदै पानी परियोजनाका फिल्ड टिम निर्देशक भाष्कर भट्टराईले नेवापसले विगत २ वर्षदेखि राप्ती देखि महाकाली नदी सम्मका १२ जलाधार क्षेत्र (झिम्रुक, मध्य राप्ती, फोक्सुण्डो सुलिगाड, तल्लो कर्णाली, मध्य कर्णाली, तिला कर्णाली, रारा, ठुलीगाड, बोगटान लगाम कर्णाली, पश्चिम सेती, तल्लो महाकाली र रंगुन जलाधार क्षेत्र) मा सक्रियता पूर्वक सञ्चार अभियान सञ्चालन गरेको जानकारी गराए ।
उनले भने, ‘यस अभियानलाई प्रभावकारी रुपमा कार्यान्यवन गर्न नेवापसले नेपालगञ्जमा क्षेत्रीय कार्यालय स्थापना गरी टिभि, रेडियो, समूह छलफल तथा अनलाइन समाचार जस्ता कार्यक्रम सञ्चालन गरिरहेको थियो ।’
त्यसैगरी, नेवापस मार्फत गरिएका क्रियाकलाप मार्फत देखिएका उपलब्धी, सिकाई, सवालहरू तथा आगामी दिनहरूमा गर्नुपर्ने कार्यहरूको प्रस्तुतीकरण गर्दै नेवापसका चन्द्रकान्त पण्डितले स्थानीय सीप, परम्परागत ज्ञान तथा प्रथाजनीत कानूनहरु सहितका असल अभ्यासको श्रव्य दृश्यांकन गरी सूचना प्रवाह गर्ने उद्देश्य पानीको रहको बताए ।
समुदायका समस्या, जलाधार व्यवस्थापन, वातावरण संरक्षण तथा दिगो विकासका सवाल उठान गर्ने तथा तिनमा बहस र पैरवी गर्ने, नदी तथा जलाधारको स्वच्छता तथा स्वास्थ्य सुधार सम्बन्धी लक्षित समुदायको ज्ञानमा अभिबृद्धि गर्ने रहेको उनको भनाइ थियो ।
उनले भने, ‘जलिय जैविक विविधता, जलवायु परिवर्तन, लैंगिक तथा सामाजिक समता र वातावरणीय सुशासन सम्बन्धी लक्षित समुदायको चेतना, व्यवहार र अभ्यासमा सुधार ल्याउने कोसिस हामीले ग¥यौं ।’
माछा तथा जलीय जैविक विविधता, पानी तथा जलाधार ब्यवस्थापन, पुर्वाधार निर्माण, नदी जन्य तथा अन्य प्राकृतिक स्रोतको उपभोग, नदी प्रणाली स्तरको योजना तर्जुमा सुदृढीकरण, दिगो जलविद्युत विकासका लागि सहयोग रणनीतिक क्षेत्रहरू रहेका उनले जानकारी गराए ।
युएसएड पानी परियोजनाकी चिफ अफ पार्टी निलु बस्न्यातले जलाधार सुधारका लागि नेवापसले पानी परियोजना मार्फत सहयोग गरेको बताइन । “पानी सम्बन्धी जानकारीलाई अझै बढी सुचना आदानप्रदानमा नेवापसले भूमिका खेल्यो, संरक्षणको क्षेत्रमा नेफेजले एड्भोकेसीमा महत्वपूर्ण भूमिका खेलेको छ, ” उनले भनिन । सबैलाई धन्यवाल दिँदै उनले सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिइन् । स्थानीय सरकाले जल तथा जलाधार क्षेत्रमा काम गर्न गरेको प्रतिबद्धताले यस क्षेत्रमा काम गर्न उर्जा मिलेको बताइन् ।
कार्यक्रमको समापन गर्दै नेवापसका अध्यक्ष कसमस विश्वकर्माले समूहको ३४ वर्षको काममा पानी परियोजना एक महत्वपूर्ण अध्याय भएको बताए । उनले पानी परियोजना र संरक्षणका विज्ञहरूलाई धन्यवाद दिँदै आँखीझयाल मार्फत नदी संरक्षण र जलवायू परिर्वतनको मुद्दाहरू उठाउने बताए ।