भक्तपुर- मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा १५ भदौको बिहानै पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा प¥यो । उपत्यकामा पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्नेक्रम तीब्ररुपमा बढेपछि उपतयकाका विभिन्न स्थानमा जमिन भासिएको यो घटना पहिलो भने होइन ।
काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखको संख्यामा गहिरा इनारहरु खनिएका छन् । तालको रुपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अत्याधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेको छ । बोरिङका लागि सरकारी निकायले नै बजेट विनियोजन गरिरहेको पाइएको छ । विकासका नाममा विनाश निम्त्याउने आत्मघाती कदम सरकारले सञ्चालन गरिरहेको छ । जथाभावी बोरिङ गर्न उक्साउनेमा प्रदेश सरकार अगाडि देखिएको छ । प्रदेश सरकारले बोरिङका लागि खानेपानी समितिहरुलाई बजेट निकासा गरेर नै काम गरिरहेको पाइएको छ । प्रदेश ३ सरकारले वोरिङबाट पानी निकाल्न बजेट विनियोजन गरी काम नै सम्पन्न गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवासता गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावि बोरिङ गर्दा उपतयकाको जमिन भासिँदो क्रममा रहेको विज्ञहरुले बताएका छन् । ‘उपत्यकाभित्र इनारको संख्या एक लाखभन्दा बढीको संख्यामा छ । गहिरो बोरिङमध्ये अधिकांश अवैध छन् । वैध भएकालाई पनि जथाभावी अनुमति दिएको छ,’ उपत्यका विकास प्राधिकरणका भाइकाजि तिवारीले भने, ‘नियमविपरीत ड्रिलिङ गरेको तथ्य काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी छ । तर, अवैधरुपमा भएको त्यस्ता कार्य रोक्न बोर्डले कुनै काम गर्नसकिरहेको छैन ।’ गत साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल बोरिङमध्ये २० प्रतिशतले मात्र बोर्डमा दर्ता गरेका छन् ।
मुलुकको महत्वपूर्ण केन्द्रहरुमा समेत बोरिङ गरिएको छ । सरकारी निकाय, उच्च पदस्थ अधिकारी र विदेशी कूटनीतिक नियोगका कार्यालय तथा अधिकारी बसोबास गरिरहेको घर कम्पाउन्ड, हाउजिङ, अर्पाटमेन्टमा दर्ता नगरी बोरिङ सञ्चालन भइरहेका छन् । सिंहदरबार देखि राजधानीको मुटु सुन्धारास्थित हुलाक कार्यालयभित्र पनि गहिरो बोरिङ छ । यी बोरिङले पानीको शतह घट्दैछ । जसका कारण जमिन भास्सिँदै गएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटबाट काठमाडौं उपत्यकामा सयौं बोरिङ गरिए ।
‘वर्षायाममा पानी जमिनभित्र रिचार्ज हुँदैन । यस्तो अवस्थामा बोरिङले धेरै पानी तान्दा जमिनभित्रको पानीको सतह घट्न जान्छ । बोरिङमा तोकिएको भन्दा बढी पानी तान्दा जमिनभित्र समेत पानीको संकट पर्न जान्छ ।’ वातावरणविद् डा. नरेश रिमालले भने, ‘जभाभावी जमिनमा प्वाल पारेर बोरिङ गर्दा भविष्यमा नकारात्मक असरहरु देखिनथाल्नेछन् । जथाभावी ड्रिल गर्दा जमिन भासिँने सम्भावना रहन सक्छ ।’ बोर्डले बोरिङको स्वीकृति दिँदा मासिक कति पानी निकाल्ने भनी मापदण्ड तोकेको छ । तर, तोकिएको भन्दा सयौं गुणा बढी पानी निकाल्नेहरु छन् । काठमाडौं उपत्यकामा मात्र व्यावसायिक प्रयोजनका लागि ९२, हाउजिङका लागि ७०, आन्तरिक प्रयोजनका लागि ६५ वटा भन्दा बढी बोरिङ सञ्चालनको अनुमति लिइएको छ । अनुमति नलिई संचालन गर्नेहरु उत्तिकै छन् । गत वर्ष होटलका लागि ३६, विभिन्न संस्थाका लागि ३१ र अस्पतालका लागि भन्दै १५ वटा बोरिङ सञ्चालनको अनुमति लिइएको छ ।
भारतको दिल्ली र हरियाणा राज्यहरुमा अत्याधिक बोरिङले पानीको सतह तल गई जमिन भाँस्सिने गरेको छ । हरियाणा राज्यमा पानीको हाहकाकार मच्चिइसकेको छ । बोरिङ खन्दा विगतमा केही मिटरभित्रबाट पानी आउने गरेकोमा अहिले सयौं मिटर तल जाँदा पनि पानी आउन छाडेको छ । त्यहाँ जमिन भाँस्सिएका घटना आइरहेका छन् । नेपालमा पनि अत्याधिक बोरिङले जमिन भाँस्सिने खतरा बढ्नसक्छ । इन्डोनेसियामा पनि जमिनमुनिको पानीको सतह घट्दै जाँदा राजधानी नै जोखिममा परेको अध्ययनले देखाएको छ । इन्डोनेसियाले राजधानी नै सार्नुपर्ने स्थिति रहेको पाइएको ।
बार्षिक १३.५ सेन्टिमिटरले भासिँदै
काठमाडौं उपत्यका अस्तव्यस्त छ । धेरै हिसावले जोखिममा पनि छ । उपत्यकाको जमिन दिनप्रतिदिन धसिदै गएको एक अध्ययनले देखाएको छ । हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले भासिँदा मानव वस्तीका लागि समस्या पनि थपिदै गएको छ । आकाशबाट हेर्दा जति मनमोहक देखिन्छ यो काठमाडौं, जमिनमा ओर्लिएपछि त्यति नै समस्याले ग्रसित छ । जनसंख्याको बढ्दो चाप र थेगिनसक्नु कंक्रिटको जंगलका कारण काठमाडौं उपत्यका धसिदै गएको छ । अर्थात् भासिन थालेको छ ।
त्रिभुवन विश्वविद्यालय, नास्ट र अमेरिकी संस्था युनाभले संयुक्त रुपमा गरेको पाँच वर्षे अनुसन्धानले काठमाडौं हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिदै गएको छ । अध्ययन अनुसार पाँच वर्षको अवधीमा काठमाडौं करिब ५० सेन्टिमिटर भन्दा बढिले भासिएको छ । सबैभन्दा बढि काठमाडौंको छाउनी क्षेत्र धसिएको छ । जहाँको क्षेत्र हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिदै गएको छ । दोस्रो नम्बरमा खुमलटार क्षेत्र पर्छ । यो क्षेत्र प्रतिवर्ष ११ सेन्टीमिटरका दरले भासिँदै छ । अध्ययनका लागि जिपीएस टावर राखिएका सबैजसो क्षेत्रको जमिन भासिँदै गएको पाइएको अनुसन्धानमा खटिएका भूगर्भविद् अनन्त गजुरेल बताउँछन् ।
जमिन भासिँदा पानीको स्रोतमा सबैभन्दा बढि प्रभाव परेको छ । कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ सालमा ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ । मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको सतह थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । भूसतहको पानी सुक्दै गएकाले नै जमिन भासिएको हो । यसले भयावह रुप लिनु अघि नै जमिन मुनिको पानीको दोहन रोक्न पर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।
भूमिगत जलस्रोतको दोहनकै कारण भासिन थालेको जमिन चिरा पर्नु अघि नै सचेत नभए स्थिति भयवाह हुन सक्ने विज्ञहरुको चेतावनी छ । अनुसन्धानले बेलैमा पत्ता लगाएको विषयलाई हेल्चेक्राई नगर्न र काठमाडौंमा तत्कालै पानीका अन्य स्रोतहरुको जोहो गर्न सरकार तत्पर हुन जरुरी छ ।
काठमाडौँका विभिन्न ठाउँमा पनि ‘सिंकहोल’ बनेको छ । काठमाडौँको चमति, जुन स्वयम्भू, नयाँबजार र शोभा भगवतीको बीचमा पर्दछ । उक्त स्थानमा पाँ वर्षअघि भ्वाङ परेको थियो । भ्वाङ पर्नुको मुख्य कारण थियो जमिनमुनिको पानी अत्याधिक दोहान । करिब ४० फिट गहिरो खाल्डो बन्दा कुनै भयानक दुर्घटना भने हुन पाएको थिएन । काठमाडौँको भूबनौट, जमिनमुनिको पानीको अत्यधिक प्रयोग र ठूल्ठूला भवनहरु बन्दै गर्दा यहाँको जमिन पनि भासिनेक्रम बढेको अध्ययनकर्ताहरुले औँल्याएका छन् ।