Tuesday, April 22, 2025

पानीको स्रोतको दुस्मन बन्दै विद्युतीय फोहोर

काठमाडौँ– आधुनिक जीवनशैलीसँगै विद्युतीय उपकरणको प्रयोग बढ्दो छ । देशका ठूला तथा साना सहरहरुको साथै ग्रामिण क्षेत्रको प्रमुख समस्याको रुपमा देखिएको छ, इ–वेस्ट अर्थात् विद्युतीय फोहोर । विद्युतीय फोहोर दिनप्रतिदिन बढ्दै छ ।

‘दैनिक रुपमा प्रयोग गर्दै आएका मोवाईलदेखि एसी, रेफ्रीजेरेटर, टेलिभिजन, क्म्प्यूटर, वासिङमेसिनलगायत अन्य विद्युतीय सामानको आयु सकिएपछि वा बिग्रिएपछि फोहोरमा परिणत हुन्छन्,’ वातावरण विभागका सिनियर केमिष्ट शंकर पौडेलले भने, ‘विद्युतीय फोहोर हेर्दा हानिकारक हुन्छ जस्तो देखिँदैन । तर, यिनमा भएका हानिकारक तत्वले वातावरणमा अत्यन्तै विषालु रसायन प्रवाह हुने र वातावरण तथा वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पारिरहेको हुन्छ ।’ अझ यस्ता सामग्रीहरुले पानीको स्रातहरुमा ठूलो असर पार्दछ ।

संयुक्त राष्ट्रसंघ विश्वविद्यालयका अनुसार एसियामा पछिल्लो समय चीन र एसियाली केही अन्य भू–भाग विकशित राष्ट्रमा उत्पादित विद्युतीय फोहोर थुप्राउने ठाउँ बनेका छन् । त्यस्तै, विद्युतीय सामग्रीमा धातुलाई छुट्याउने वा टुक्र्याउन प्रयोग हुने रसायन वातावरणमा प्रवाहित हुँदा श्वास लिने क्रममा कुनै पनि प्राणीको शरीरमा प्रवेश गर्ने र जोखिम सिर्जना गर्ने केमिष्ट पौडेलले बताए । फोहोरमा हानिकारक रसायन तथा धातुको प्रयोग हुने भएकाले फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण बन्दै गएको छ । अझ खुलमखुला छाडिएका त्यस्ता सामग्रीहरुले जोखिम निम्त्याउने उनको बुझाई छ ।

यससँग सम्बन्धित विषाक्त एसिड, भारी धातु, कार्सिनोजेनिक रसायन र हानिकारक ग्याँसले सिधै वातावरण तथा वायुमण्डलमा प्रदुषण गर्दछ । प्रदुषित वातावरणका कारण मानिसमा छाला, स्वास प्रस्वास र प्रतिरक्षाप्रणली कमजोर हुनु लगायत विभिन्न किसमिको रोग लाग्न सक्छ ।

सहयात्री बन्दै ‘ब्लु वेस्ट टु भ्यालु’
ब्लु वेस्ट टु भ्यालुले विद्युतीय फोहोरलाई पहिले मर्मत गर्ने र मर्मत गर्न नमिल्नेलाई आवश्यक सावधानी अपनाई छुट्याएर अन्य सामानको कच्चा पदार्थका रूपमा प्रयोग गर्नेे काम गर्दै आएको छ । विभिन्न स्रोतबाट उत्पन्न भएका विद्युतीय फोहोर मैला व्यवस्थापनमा कम्पनी लागी परेको विद्युतीय फोहोर व्यवस्थापनका प्रोजेक्ट नेतृत्वकर्ता मनश्री नेवाले बताइन् । उनले विद्युतीय फोहोरमैला सम्बन्धी समाजमा जनचेतना जगाउनु आवश्यक रहेको बताउँछिन् ।

‘समाजमा विद्युतीय फोहोर सम्बन्धी जनचेतना जगाउनु आवश्यक छ’, उनले भनिन्, ‘फोहोरबाट पनि पैसा आउँछ भन्ने कुरा धेरैलाई थाहा छैन ।’ उनले जनचेतनाको प्रवाह हुन सके फोहोरको न्यूनीकरण गर्न सकिने बताइन् । पछिल्लो समय फोहोरका लागि घरघरबाट फोन गरेर बोलाउने गरेको उनले सुनाईन् । त्यस्तै, संस्थाले विद्यालयहरुमा बालबालिकाहरुलाई विद्युतीय फोहोरका विषयमा सचेतना कार्यक्रम गर्दै आएको छ । नेवाका अनुसार संस्थाले घर–घरमा संकलन गरी राखेका विद्युतीय फोहोरलाई पुनः प्रयोग गर्न सकिने र नसकिने वस्तुलाई छुट्टाएर पैसामा किन्ने गर्दछ ।

‘यसलाई प्रयोग गरेर अर्थोपार्जन गर्न सकिने अवसर पनि छ’, उनले थपिन् । विभिन्न श्रोतबाट फोहोर संकलन गर्ने, वर्गीकरण गर्ने, पुनःचक्रण र पुनःचक्रण गर्न नमिल्नेलाई एक ठाउँमा जम्मा पारेर कच्चा पदार्थका रुपमा दिने उनले बताइन् ।गत जेष्ठ महिनामा काठमाडौंको विद्युतीय फोहोरलाई व्यवस्थापन गर्न चौधरी ग्रुप र ब्लु वेस्ट टु भ्यालु दुई कम्पनबीच सम्झौता भएको थियो । सन् २०१७ मा गरिएको एक अध्ययनले काठमाडौंमा १७ हजार ७ सय ३० टन विद्युतीय फोहोर उत्सर्जन भएको कम्पनीले जनाएको छ ।

फोहोर कि मोहोर ?
फोहोर मैला व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न किसिमका फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर राख्नु आवश्यक छ । त्यसैगरी विद्युतीय फो्होरलाई पनि छुट्याउनु पर्दछ । विद्युतीय फोहोर हानिकारक र जोखिमपूर्ण छ । तर, यसको पुनःचक्रण गरेर फोहोरलाई मोहोरमा बदल्न सकिन्छ ।

यस्ता फोहोरमा बहुमूल्य धातु तथा तत्वसमेत हुन्छन् । सेलुलर फोन तथा अन्य विद्युतीय उपकरणमा सुन, चाँदीजस्ता धातुहरू प्रयोग हुन्छ । विद्युतीय उपकरणको मदरबोर्डमा सुन, चाँदी, तामा, प्लाटिनम प्रयोग हुन्छ । जटिल विद्युतीय परिपथमा ६० वटासम्म धातु तथा तत्वहरूको प्रयोग भएको पाइन्छ ।

के छ ऐनमा व्यवस्था ?
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ मा विद्युतीय तथा सूचना प्रविधिका लागि प्रयोग भएका सामग्रीलगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरूलाई फोहोरका रूपमा परिभाषित गरिएको छ ।

ऐनको दफा ४ को उपदफा (२) मा हानिकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व उत्पादकको हुने व्यवस्था छ । दफा ७ को उपदफा (३) मा हानिकारक र रासायनिक फोहोरमैला संकलन केन्द्र वा स्थानान्तरण केन्द्रमा निष्कासन गर्न नपाइने उल्लेख छ । तर, कुहिने र नकुहिने फोहोरमैला एकै ठाउँमा मिसाए स्थानीय तहले कारबाही गर्न सक्ने प्रदत्त छ ।

ताजा समाचार

सम्बन्धित समाचार