राँझा– भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ ।
दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भए पनि अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकेको निकुञ्जले भ्रमण वर्ष २०२० लाई लक्षित गरी जङ्गल सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको हो ।
प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’, उषा पुन, संविधानसभाका पूर्वसदस्य देवराज भार, राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारू, कोहलपुर नगरपालिकाका कार्यवाहक प्रमुख सञ्जुकुमारी थारू, बैजनाथ, कोहलपुर र राप्तीसोनारी गाउँपालिकाका वडाध्यक्षले निकुञ्ज अवलोकन गर्दै भ्रमण वर्षमा बाँके निकुञ्जमा जङ्गल सफारीका लागि सामूहिक अनुरोध गरेका छन् ।
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते निकुञ्ज स्थापना भएको हो ।
बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । बाँके निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरेपर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ ।