Sunday, April 20, 2025

प्राकृतिक विपत्तिमा सहकार्य गर्न समझदारी

काठमाडौँ– दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बेला आइपर्ने समस्या एवं चुनौतीबाट हुनसक्ने क्षति न्यूनीकरणमा यस क्षेत्रका राष्ट्रबीच सहकार्य गरी यस क्षेत्रका जनताको सुरक्षित व्यवस्थापन र दिगो विकासमा कार्यरत एशियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी) र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । एडिपिसीको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ ।

यही मङ्सिर १६ र १७ गते म्यान्मामा आयोजना भएको एशियाली पूर्वतयारी साझेदारीको पाँचौँ क्षेत्रीय बैठकका क्रममा महासङ्घका उपाध्यक्ष किशोर प्रधान र एडिपिसीका कार्यकारी निर्देशक ह्यान्स गुटम्यानले सहमतिपत्रमा हस्ताक्षर गरे ।

हरेक वर्ष दक्षिण र दक्षिण पूर्वी एशियाका राष्ट्रमा बाढी, पहिरो, भूक्षय, आँधी, भूकम्पलगायतका प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुँदै आएको छ । प्राकृतिक विपत्तिबाट यस क्षेत्रका जनताको जीवन रक्षा एवं प्राकृतिक विपत्तिपूर्व अपनाउनुपर्ने सुरक्षा उपायमा संयुक्तरूपमा सहकार्य गर्ने उद्देश्यले यो समझदारी भएको महासङ्घले जनाएको छ ।

समझदारीअनुसार महासङ्घ र एडिपिसीको संयुक्त सहकार्यमा यस विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम, तालीम, कार्यशाला, गोष्ठी आयोजना, त्यसका लागि प्राविधिक सहयोग, जनशक्ति विकास, सूचना आदानप्रदान, तथ्याङ्क सङ्कलनलगायतमा सहकार्य गर्ने उल्लेख गरिएको छ । यसका लागि महासङ्घले आफ्नो देशैभर रहेको सञ्जालको भरपुर सहयोग लिनेछ ।

एशियाली पूर्वतयारी साझेदारीसम्बन्धी सो साझेदारी सञ्जालमा नेपालसहित यस क्षेत्रका राष्ट्र कम्बोडिया, म्यान्मा, फिलिपिन्स, पाकिस्तान र श्रीलङ्काका बहुसरोकारवाला निकायको सहभागिता रहेको छ । यस क्षेत्रीय साझेदारीमा यहाँका स्थानीय, प्रादेशिक, सङ्घीय सरकार, राष्ट्रिय अन्तरराष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र बौद्धिक समुदायको सहभागिता रहने र विपत्तिका बखत यी सबै निकायले आआफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नेछन् ।

क्षेत्रीय बैठकमा महासङ्घका उपाध्यक्ष प्रधानले प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका साथै प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिका विषयमा जनचेतना अभिवृद्धिलगायतको अभियानमा क्षेत्रीय साझेदारीमा नेपाली निजी क्षेत्र सहभागी हुन पाएकामा खुशी व्यक्त गरे ।रासस

ताजा समाचार

सम्बन्धित समाचार