Sunday, April 20, 2025

‘डम्पिङ साइट’ नहुँदा फोहर व्यवस्थापनमा चुनौती

कञ्चनपुर– कञ्चनपुरका स्थानीय तहमा फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) नहुँदा फोहर व्यवस्थापनमा चुनौती थपिएको छ ।

सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा ‘डम्पिङ साइट’ नहुँदा फोहर व्यवस्थापन गर्न गाह्रो भएको हो । कतै जग्गा अभाव र कतै व्यवस्थापनमै ध्यान नपुग्दा फोहरको वर्गीकरण र व्यवस्थापनमा समस्या देखिएको छ । भीमदत्त, शुक्लाफाँटा, महाकाली, बेलौरी र पुनःवास नगरपालिकामा अस्थायी रूपमा फोहर व्यवस्थापन गरिएको छ ।

बेदकोट, कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाले फोहर व्यवस्थापन गरेका छैनन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएका स्थानीय तह भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा फोहर व्यवस्थापन झनै जटिल बन्दै गएको छ । भीमदत्त नगरपालिकाले फोहर व्यवस्थापन केन्द्रको अभावमा महेन्द्रनगर बजारबाट सङ्कलन हुने फोहर सडकका खाल्टाखुल्टीदेखि कार्यालय परिसरमा थन्क्याउने गरेको छ ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रबाट मात्रै पाँच टनभन्दा बढी फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकासँग फोहर व्यवस्थापन गर्ने विकल्प नभएकाले कार्यालय परिसरमा फोहरमैला थुपारेर नष्ट गर्ने गरेको भीमदत्त नगरपालिकाका सरसफाइ शाखाका प्रमुख पुष्पराज भट्टले बताए ।

फोहर व्यवस्थापन केन्द्र निर्माणका लागि भीमदत्तले जग्गा खोजिरहेको नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए । नगरपालिकामा एशियाली विकास बैंकको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत डम्पिङ साइट निर्माण गर्नका लागि जग्गा पहिचानको कार्य भइरहेको उनले बताए । बेदकोट नगरपालिकामा पनि डम्पिङ साइटको अभाव रहेको छ ।

नगरपालिकासँग डम्पिङ साइट नहुँदा बजारको फोहरसमेत सङ्कलन गर्न नसकिएको नगरपालिकाका उपप्रमुख सुशिला सिंहले बताउनुभयो । उनले भने, “अहिले बजारको फोहोर व्यापारी आफैँ सङ्कलन गर्छन्, आफै नष्ट गर्छन ।” नगरपालिकाले डम्पिङ साइट निर्माण गर्न जमिन खोजिरहेको उहाँको भनाइ थियो । महाकाली नगरपालिकाले पनि अस्थायी रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ । महाकाली नगरपालिकाले दुई स्थानमा अस्थायी रुपमा फोहर राख्ने गरेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए ।

दोधारा क्षेत्रको फोहर संयुक्त वडा कार्यालय भवन नजिक राख्ने गरिएको र चाँदनी क्षेत्रको फोहोर गौरीशङ्कर सामुदायिक वनमा राख्ने गरिएको बताउनुभयो । स्थायी फोहोर व्यवस्थापन केन्द्र बनाउने योजना रहेको बताउँदै उनले भने, “जग्गाको खोजी गरिरहेका छौँ ।”

दोधारा र चाँदनी क्षेत्रबाट करीब तीन टन फोहर सङ्कलन हुने गरेको छ । बजार क्षेत्रमा फोहर सङ्कलनका लागि फोहर राख्ने टिनका डिब्बा भने राखिएका छन् । एशियाली विकास बैंकको क्षेत्रीय शहरी विकास आयोजनाको सहयोगमा शुक्लाफाँटा नगरपालिकाले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको छ ।

नगरपालिकाले वडा नं ११ को कृष्ण सामुदायिक वनमा अस्थायी डम्पिङ साइट बनाएको छ । शुक्लाफाँटाको झलारी, वन समिति र कलुवापुर बजारबाट नगरपालिकाले फोहर सङ्कलन गरेर व्यवस्थापन गर्ने गरेको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताए ।

कृष्णपुर नगरपालिकाले डम्पिङ साइटको अभावमा बजारको फोहर सङ्कलन गर्न सकेको छैन । कृष्णपुर नगरपालिकाको मुख्य बजार क्षेत्रका फोहोर डम्पिङ साइटको अभावमा सङ्कलन नभएको सूचना अधिकारी प्रेमसिंह बोगटीले बताए ।राजेन्द्रप्रसाद पनेरु/रासस

ताजा समाचार

सम्बन्धित समाचार