Tuesday, April 22, 2025

परशुराम नगरपालिकाद्वारा बाढीपहिरो नियन्त्रणका लागि तटबन्ध र वृक्षरोपण

डडेल्धुरा– रंगुन नदी र यसका आसपासका पुन्तुरालगायतका नदीमा बर्सेनी आउने बाढी, डुबान र कटान नियन्त्रणका लागि परशुराम नगरपालिका डडेल्धुराले हरेक वर्ष तटबन्ध र वृक्षरोपण गर्दै आएको नगरप्रमुख भीमबहादुर साउँदले बताएका छन्।

बाढी, खहरे र पहिरोका कारण खेतीयोग्य जमिन मासिएपछि नगरपालिका र वडाहरूले पनि वृक्षरोपण र तटबन्धनको कामलाई निरन्तरता दिँदै आएपछि खेतीयोग्य जमिन मासिने क्रम रोकिएको उनी बताउँछन्।

नेपाल वातावरण पत्रकार समूह (नेवापस)को आयोजनामा जोगबुडामा गरिएको पानी छलफलमा बोल्दै नगरप्रमुख साउँदले भने,‘चुरेसँग जोडिएको नगर भएकाले धेरै बाढी पहिरोको समस्या छ। अहिले वनजंगल संरक्षण भएकाले बाढीपहिरो नियन्त्रण भएको अवस्था छ। त्यससँगै रंगुन जलाधार क्षेत्रमा दुबैतर्फ तटबन्ध भएकाले पनि यो क्षेत्र संरक्षित भएको छ। ’

उनले रंगुन नदीसँग अन्य पुन्तुरा र शीर्षलगायतका नदीले पनि कटान गरेको बताउँदै ती नदीमा पनि तटबन्धका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग भइ प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

बाढी पीडितहरूले उठाएका माग सम्बोधन गर्दै उनले नगरपालिकाको सीमित स्रोतका कारण ठूला कार्यहरू गर्न नसकेको बताए। २०६० सालदेखि पुन्तुरा र रंगुन नदीमा आएको बाढीका कारण विस्थापित भएका सिमल खेतका पीडितहरूको मागअनुसार आफूले सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी गराए।

पानी छलफलमा सहभागीले बाढी, पहिरो, कटान र पटानका विषयमा आ–आफ्ना समस्या राखेका थिए। उनीहरूले बाढीका कारण माछाको बासस्थान पुरिएको जानकारी दिए । पानी छलफलमा बोल्दै बाढी पीडितले २०६०,६४ र ६५ सालको बाढीले तत्कालीन परशुराम गाविसको वडा नम्बर २ हाल सिमल खेतका ६९ घर परिवारको उठीबास लागेको बताए। पटकपटक सरकारसँग आफ्नो गुमेको जमिन र घरबासका लागि माग गरे पनि आफूहरूका कुनै माग सुनुवाइ नभएको गुनासो गरेका थिए । उनीहरूले हाल नगरपालिकालाई बगर भएको खेत डोजर लगाइ सम्याइदिन समेत माग गरे।

विगतका तुलनमा अहिले वृक्षरोपणका कारण बाढीको समस्या झेल्न नपरेको स्थानीयहरूको भनाइ छ । कार्यक्रममा बोल्दै परशुरामधाम सवडिभिजन वन कार्यलयका सहायक वन अधिकृत दिपेन्द्र केसीले वृक्षरोपणलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताए।

उनले भने, ‘हामीले यहाँ हाल ९३ ओटा वन समूहहरू गठन गरी उनीहरूमार्फत वन संरक्षण गरिरहेका छौँ। हरेक वर्ष परशुराम धाम सवडिभिजन वन कार्यलय अन्र्तगत एकदुई हेक्टर तटीय क्षेत्रमा वृक्षरोपण भइरहेको र चुरे क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। ’

सोही कार्यक्रममा बोल्दै भगवती सामुदायिक वनका अध्यक्ष मिनबहादुर बोहोराले वन विनाशकै कारण खहरे, बाढी र पहिरो निम्तिएको बताए। उनले अहिले वन संरक्षण र नियमित वृक्षरोपणले गर्दा केही मात्रामा रोकिएको जानकारी दिए।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्षले आफ्नो वडामा खहरे नियन्त्रणका लागि बजेट छुट्टाइएको बताए। त्यस्तै बाढीको जोखिम रहेका स्थानहरूमा जालीको व्यवस्था गरिएको पनि जानकारी दिए। उनले पछिल्लो समय सामुदायिक वनमा आगलागी र डडेलोका कारण वन विनाश भइरहेको बताउँदै यस विषयमा जनचेतना आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा जलचर संरक्षणका लागि नगरपालिकाले कार्यविधि बनाइरहेको नगरपालिकाका नगरप्रमुख साउँले जानकारी दिए। उनले माछा तथा जलचर संरक्षणका लागि नदीको निश्चित भाग स्थानीय समुदाय वा समूहलाई दिइने, विनाशकारी रूपमान माछा मार्नेलाई दण्डित गर्ने लगायतमा कुरा समेटी कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत बताए। पानी छलफलमा बाढी तथा पहिरो पीडित, माछा समूह, विभिन्न वडाका वडाध्यक्ष, सामुदायिक वन, प्रहरी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण नेफेजका प्राविधिक निर्देशक चन्द्रकान्त पण्डितले गरेका थिए।

कार्यक्रममा ३ बुँदे प्रतिबद्धतासमेत गरिएको छ। ती निम्नानुसार छन्:
१. नदी खोलाका माछा संरक्षणका लागि नदीको निश्चित भाग स्थानीय समुदाय वा समूहलाई दिइनेछ। जलका लागि आवश्यक नीति नियम समेटी कार्यविधि निर्माण गरिनेछ।
२. नदी नियन्त्रण तथा जलाधार संरक्षणको लागि प्रदेश तथा संघीय सरकारलाई पहल गरिनेछ।
३. जलाधार, वनडडेलो तथा खहरे व्यवस्थापनका लागि थप जोड दिइ अनुगमन कार्यमा तीब्रता दिइनेछ।

ताजा समाचार

सम्बन्धित समाचार