Wednesday, April 23, 2025

विश्व शौचालय दिवस : ‘शौचालयको पहुँचबाट कोही पनि बञ्चित हुन नपरोस्’

काठमाडौँ– आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । ‘शौचालयको पहुँचबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौँ शौचालय दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले २०१३ बाट यो दिवस मनाउन शुरु गरेको हो ।

स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेका छन् । नेपालको संविधानको धारा ३० को उपधारा (१) मा भनिएको छ, ‘ प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ।’ तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा भने चुनौती रहेको छ।

गत असोज १३ गते नेपाल खुला दिसामुक्त देश घोषणा भइसकेको छ। ‘सरसफाइ गुरु योजना २०६८’ अनुसार काम भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। तर सरकारले पर्याप्त सार्वजनिक शौचालय बिनानै खुला दिसामुक्त राष्ट्र घोषणा गरेकोमा धेरैले आपत्ति जनाएका थिए।

पर्याप्त पूर्वाधारको निर्माण भइनसकेकाले कार्यान्वयन हुनेमा धेरैले आशंका व्यक्त गरेका छन्। तर, खानेपानी तथा सरसफाई मन्त्रालयले भने सबै घरमा शौचालयको पहुँच भएको दाबी गर्दै आएको छ । मन्त्रालयका अनुसार ९९ प्रतिशत जनसंख्यामा शौचालयको पहुँच रहेको छ ।

हाकाहाकीसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सबै घरधुरीमा शौचालय भएको र अब पूर्ण सरसफाइतर्फ सार्वजनिक शौचालयको निर्माण गरिने बताए । ‘पूर्वाधारको आधारमा मात्रै हामीले ओडिइफ घोषणा गरेका हौँ, अन्य कुराको सर्वेक्षण हुन बाँकी छ,’ उनले भने ।

उपत्यकाभित्रका अधिकांश सार्वजनिक शौचालयको संरचना खराब रहेको उनी स्वीकार्छन्। तर सबै कुराहरू क्रमश सुधार र विस्तार हुँदै जाने उनको भनाइ छ । उनी भन्छन्, ‘सार्वजानिक शौचालयको निर्माण कार्य अघि बढिसकेको छ। त्यसबाहेक हामी निजी संस्थाहरूसँग सहकार्य गरेर लामो यात्रामा होटेलको शौचालय प्रयोगको लागि पनि पहल गर्दैछौँ। पूर्ण सरसफाइतर्फ पानी, शौचालयको प्रयोग र त्यसको आवश्यक पूर्वाधारमा जोड दिन्छौँ ।’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । तर नेपालका अधिकांश शहरी क्षेत्रमा सो प्रावधानको कार्यान्वयन हुन सकेको छैन । शौच गर्नका लागि कुनै होटेल वा महल छिर्नुपर्ने बाध्यता आज पनि उस्तै छ ।

उदहारणको लागि काठमाडौँ महानगरपालिकाकै कुरा गर्ने हो भने जम्मा ५८ वटा मात्र सार्वजानिक शौचालय छन् । तीमध्ये पनि ४९ मात्र चालू अवस्थामा छन् । प्रयोगमा रहेका मध्ये १५ वटा शौचालयमा पानी उपलब्ध छैन । कतिपय शौचालयको फोहोर सोझै ढलमा मिसाइएको छ ।

अर्काेतर्फ मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारभित्र एउटा पनि सार्वजानिक शौचालय छैन । काठमाडौँ उपत्यकामा दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त ठाउँमा समेत सार्वजनिक शौचालय छैनन् । त्यस्तै ललितपुर महानगरपालिकामा ६ वटा मात्र सार्वजानिक शौचालय छन् । तीमध्य पाँच मात्रै प्रयोगमा छन् ।

यूनिसेफले गरेको अध्ययन अनुसार २ अर्ब मानिस सुरक्षित सरसफाईको पहुँचभन्दा बाहिर छन् । यो झण्डै विश्वको आधा जनसंख्या हो । त्यसैगरी उक्त अध्ययनका अनुसार ६७३ मिलियन मानिसहरू अझै पनि खुला क्षेत्रमा नै शौच गर्दछन् । विश्वव्यापि रूपमा, कम्तिमा २ अर्ब मानिस दूषित पिउने पानी प्रयोग गर्छन् । पर्याप्त सरसफाइको अभावका कारण प्रत्येक वर्ष ४ लाख ३२ हजारको झाडापखालाका कारण मृत्यु हुने गरेको छ । युद्घबाट प्रभावित देशमा बसोबास गर्ने ५ वर्षभन्दा मुनीका बच्चाहरू हिंसाले भन्दा स्वच्छ पानी र सरसफाइको अभावले झाडापखालाका रोगहरूबाट ग्रसित भएको कुरा अध्ययनले देखाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार