काठमाडौँ– संसारभरी नै आर्टिफियिसल इन्टिलिजेन्स(एआई) को विकासले गति लिइरहँदा चीनले यस क्षेत्रमा ठूलो फड्को मारेको छ। चीनले यस क्षेत्रमा गरेको लगानी र प्रगतीले अमेरिकामा समेत चिन्ता व्यक्त भइरहेको छ।
चीनले एआई मार्फत नयाँ र इनोभेटिभ व्यवसाय गर्न चाहनेहरूका लागि भनेर अरबौ रुपयाँ विनियोजन गरेको छ। यति मात्र होइन यस क्षेत्रमा अनुसन्धान गर्नका लागि भन्दै चीनले धेरै रकम छुट्टाएको छ।
सन् २०२० भित्र नै एआईमा संसारकै उच्च कम्पनीहरूका स्थापना गर्ने चीनको योजना छ र विभिन्न अध्ययनले सो लक्ष्यको नजिक पुगेको देखाएका छन्। तर, केही अमेरिकी कम्पनीहरू क्षमताको हिसाबले निकै माथि छन् र चीनको अहिलेको लक्ष्य भनेको नै उनीहरूलाई पछाडि पार्नु हो।
यस अगाडि नै अन्य मुलुकलाई पछाडि पार्दै चीनले समाचार वाचन, वाचक र परराष्ट्र रणनीतिमा एआईको प्रयोग गरिसकेको छ। केही महिना पहिले त्यहाँको सरकारी टेलिभिजनमा रोवटले समाचार वाचन गरेको विषय संसारभर चर्चित बन्यो। समाचार वाचनमा रोवटको प्रयोग संसारमा नै त्यो पहिलो थियो। यति मात्र होइन्, संवादाताले संकलन गरेर ल्याएको तथ्याकंमा आधारित भएर समाचार तयार पार्ने काममा समेत एआईको प्रयोग चीनमा भइरहेको छ।
यतिबेला चीन यसलाई सैन्य क्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ, जुन अमेरिकाको लागि चिन्ताको विषय बनेको छ । त्यसैले पछिल्लो समयमा अमेरिकामा चीनले गरेको लगानीको नजिकबाट अवलोकन गरिरहेको छ भने केही अमेरिकी कम्पनीलाई चाइनिज कम्पनीसँग काम गर्न प्रतिबन्ध लगाइएको छ । रोवटको प्रयोगले भूराजनीतिक शक्तिलाई पुर्नभाषित गर्ने मात्र होइन्, यसलाई परिवर्तन नै गर्ने विज्ञहरूको तर्क छ।
चीन र भारतको बिचमा राजनीतिक र व्यापारिक द्धन्द्ध चर्किरहेको समयमा यि विषयहरू बाहिर आएका हुन् । अमेरिकाले पछिल्लो समयमा चीनलाई दिने माइक्रोचिप्समा कटौती गरिरहेको छ तर विश्लेषकहरूले यो प्रत्युत्पादक हुने र यसले चीनलाई वैकल्पिक उत्पादन गर्न प्रेरित गर्ने बताइरहेका छन् । एआईसँग सम्बन्धीत प्रविधि प्रत्यक्ष रुपमा गोपनियताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र अन्य विषयसँग सम्बन्धीत भएकाले दुई मुलुकको विचमा अझ द्धन्द्ध बढ्ने विज्ञहरूको भनाइ छ।
सन् २०१७ मा चीनले सन् २०३० भित्र एआईमा फड्को मार्ने र त्यसका लागि आवश्यक आधार सन् २०२० भित्र तयार पार्ने घोषणा गरेको थियो । विश्वकै प्रतिभावान युवाहरूको मुख्य गन्तव्य बनाउने र विश्वकै अग्रणी क्षेत्र बनाउने योजना चीनले अगाडि सारेको छ। यसका लागि उसले बाहिरबाट विज्ञ ल्याउने भन्दा पनि देशभित्रकै युवालाई प्राथमिकता दिने रणनीति अख्तियार गरेको छ। विशेषत स्वास्थ्य, यातायात र सञ्चारको क्षेत्रमा बढी केन्द्रित हुने चीनको लक्ष्य रहेको छ। यसलाई उसले केन्द्रमा मात्र सिमित नगरी प्रदेश र ग्रामिण भेगमा समेत विस्तार गरेको छ र निजी क्षेत्रलाई पनि प्रोत्साहिन गरिरहेको छ।
यसका लागि अमेरिकमा तालिम लिएका र त्यहाँ ठूला कम्पनीमा काम गरिरहेकाहरुलाई देशभित्र आकर्षण गर्ने काम पनि चीनले गरिरहेको छ । सरकारी तहमा मात्र होइन, निजी क्षेत्रले पनि यो क्षेत्रमा निकै लगानी गरेका छन् र अहिले विश्वमा चर्चित १० भन्दा बढी यस्ता कम्पनीहरू रहेका छन्। यद्यपी विभिन्न अध्ययनहरूले चीनले यो क्षेत्रमा नेतृत्व लिने हो भने अन्य देशका कम्पनीहरूसँग प्रतिस्पर्धा र सहकार्य गर्ने वातावरण बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन्।