Thursday, April 24, 2025

काठमाडौँ र ललितपुरमा अगाडि बढे साइकल लेनका योजना

ललितपुर– ललितपुर महानगरपालिकाले मंसिरको अन्तिम साताबाट साइकल लेन निर्माणको काम शुरु गर्ने भएको छ।

महानगरले पहिलो चरणमा कुपन्डोल–जावलाखेल–लगनखेल खण्डमा साइकल लेन निर्माण गर्नेछ। सोही लेनलाई हुँदै मंगलबजार हुँदै पुल्चोकसम्म पु¥याइने छ। हाकाहाकीसँग कुरा गर्दै महानगरका प्रवक्ता राजु महर्जनले सय वटा साइकल राख्न मिल्ने साइकल स्टयाण्ड निर्माणको काम सकिएको र मंसिरको अन्तिम साताबाट लेन निर्माणको काम हुने जानकारी दिए।

महानगरको उक्त सडकमा साइकल र अरू सवारीसमेत चलाउने गरी लेन बनाउन लागेको उनले जानकारी दिए। साइकल लेनका लागि अहिलेकै सडकको केही अंश लिइने छ। सडकको दायाँबायाँ भागमा साइकल लेनका व्यवस्था गर्ने तयारी छ। ‘सडकको दायाँ र बायाँ दुवैतर्फ १ दशमलव ३ मिटर चौडाइको लेन निर्माण गरिनेछ,’ उनले भने ‘उक्त लेन साइकलको मात्रै भनेर चिनाउन साइकलको चित्र पनि बनाउँछौं।’

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार साइकल लेन १.५ मिटर हुनुपर्ने हो। तर सडक निर्माण भइसकेकाले र पहिलाको संरचनामा नै साइकल लेन निर्माण गर्नुपर्ने भएकाले १.३ मिटरको बनाइने उनले बताए। ‘कुनै ठाउँमा १.३ भन्दा पनि कम हुन सक्छ,’ उनले भने।

काठमाडौँ महानगरपालिकासँग सहर्काय गरि गोदावरीसम्म सइकल लेन बनाउने तयारी भइरहेको उनले जानकारी दिए। साइकल लेनका लागि महानगरले ५० लाख रुपैयाँ छुट्याइएको छ । साइकल लेनसँगै ऐन निर्माण गर्ने उनले जनाए। साइकल प्रयोगकर्ताको सुरक्षालाई ध्यान दिँदै महानगरपालिकाले साइकल कानुन बनाउने जिम्मा नेपाल साइकल सोसाइटीलाई दिएको उनले जानकारी दिए।

‘अब बन्ने कानुनले साइकल यात्रा सुरक्षित र सहज महसुस हुनेछ,’ उनले भने। अपांगता, पैदलयात्रु तथा साइकलयात्रुलाई विशेष प्राथमिकता दिएर कानुनको मस्यौदा बनाइरहेको उनले बताए।

वातावरणमैत्री सवारीसाधन प्रवद्र्धन गर्न साइकल लेन बनाउने कदमको यो सुरुवात भएको उनको भनाइ छ। ‘यो निरन्तर आगामी वर्षहरूमा पनि अगाडि चल्नेछ। ट्राफिक जाम व्यवस्थापनमा समेत सहज हुन्छ,’ उनले भने। आर्थिक, स्वास्थ्य र वातावरणीय संरक्षणका हिसाबले साइकल लेनको आवश्यकता रहेको बहस वर्षौ देखि चल्दै आएको थियो।

बढ्दो प्रदूषण अन्त गर्नका लागि साइकललाई प्रवद्र्धन गर्नुपर्ने र त्यसका लागि लेन निर्माण गर्नुपर्ने सर्वत्र आवाज उठिरहेको छ। तर, साइकल मार्ग निर्माणमा उपत्यकामा महानगर र नगरपालिकहरुले खासै ध्यान दिएका छैनन्।

यस्तौ काठमाडौँ महानगरपालिकाको शहरी योजाना आयोगले पनि माईतिघरदेखि तीनकुनेसम्म साइकल लेन निर्माणको योजना अघि सारेको छ। उक्त विषयमा अध्ययन भइरहेकाले वजेट विनियोजनलगायत अन्य प्रविधिक निर्णय हुन बाँकी रहको काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए।

वातावरणविद् भुषण तुलाधर साइकल लेनको लागि अहिले सडकमा पर्याप्त ठाउँ भएको बताउँछन्। गाडीलाई प्राथमिकता दिइएको भन्दै उनले पहिला दिमागमा ठाउँ बनाउन जरुरी रहेको बताए।

साइकललाई सानो ठाउँ भए पुग्ने भएकाले पनि शहरको सानो गल्लीमा पनि सम्भव रहेको उनको भनाइ छ तर प्राथमिकता गाडीलाई दिने वा साइकललाई दिने भन्ने प्रश्न रहेको उनको तर्क छ। रिङरोडको ८ लेनको सडक निर्माण भएको उदहारण दिँदै उनले भने, ‘गाडीको लागि चाहिने लेन ३.५ मिटर हो र साइकलको लागि १.२ मिटर। अब यसमा हामी आफे विचार गरौं, एउटा गाडीको लेनमा २ वटा साइकल लेन बन्छ। अब यहाँ कुरा हामीले कुनलाई प्राथमिकता दिने भन्ने मात्रै हो।’

साइकल लेन सुरक्षित बनाइयो भने साइकल यात्रुको संख्यामा वृद्धि हुने उनी बताउँछन्। ‘साइकल चढ्ने मान्छे नै छैन ? साइकल लेन बनाएर के गर्ने ? भन्नेहरू धेरै छन् यहाँ, तर पहिला सुरक्षित लेन हुनु प-यो अनि संख्यामा वृद्धि हुन्छ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार