चितवन– गएको भदौमा बिस हजारी ताल गेट क्षेत्रको टिकौली नहरमा दुई वर्ष भन्दा कम उमेरको गैंडाको बच्चा (केटो)को अवशेष भेटियो । भदौ १८ गते भेटिएको केटालाई अर्को वस्यक गैंडाले हानेको वा गोहीले तानेर पानीमा पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । ढिला भेटिएको केटोको लिंग पहिचान हुन सकेन । केटो एक देखी दुई वर्षसम्मको उमेर भएको प्राविधिकहरुले प्राप्त अवशेष हेरेर आंकलन गरे । यसपछि कार्तिकको १४ गते मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ मा दुई वर्ष भन्दा कम उमेरकै पोथी केटो मरेको भेटिएको थियो ।
गैंडाको आक्रमणबाट लागेको चोटपटकले घाईते हुँदा केटो मरेको थियो । मृत भेटिएको अवशेष हेर्दा छातीमा प्वाल परेको र रगत जमेको, पेट र आन्द्रामा चोट लागेको भेटिएयो । लगत्तै कात्तिक १९ गते चपरचुलीको बँदेल खोलामा १ महिनाको पोथी अर्को गैंडाको आक्रमणमा मरेको भेटियो । पेट, छाती र खुट्टामा चोट लागेको पाइयो । माघको ६ गते १ वर्ष उमेरको भाले गैंडा मेघौलीको गोलाघाट नजिकै मृत फेला परेको थियो ।
धेरै सडेको अवस्थामा भेटिएका कारण प्राविधिकले केटोको अवस्था र मर्नुको कारण बारेमा कुनै आंकलन गर्न सकेनन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ को नगर वनमा माघ १४ गते ३ महिनाको पोथी पनि मृत भेटियो । फागुन १४ गते निकुञ्ज भित्र खोरिया मुहान क्षेत्रमा २ वर्षको पोथी अर्को गैंडाको आक्रमणमा परेर मरेको भेटियो । यस्तै, सोही दिन कुमरोज क्षेत्रमा गोहीको आक्रमणमा परेर २ हप्ताको भाले घाईते भएको भेटिएको थियो । उपचारको क्रममा केटो म¥यो ।
अर्को लिंग पहिचान हुन नसकेको करीब ६ महिनाको केटो कसरा सेक्टरको जमेली सितामाई घाट क्षेत्रमा मृत भेटियो । केही ढिला भेटिएकाले मर्नुको खास खारण खुल्न सकेन । यसरी एक वर्षको अवधीमा मात्रै ८ वटा केटो मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले जानकारी दिए । यो एक वर्षको अवधीमा जम्मा ४३ वटा गैंडा प्राकृतिक रुपमा मृत भेटिएका थिए । चितवन निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र वरपर मात्रै ४१ वटा गैडा मृत भेटिएको हो । निकुञ्जको भित्री (कोर) क्षेत्रमा ३४ र मध्यवर्ती क्षेत्रमा ७ वटा गैंडा मरेको भेटिएको घिमिरे बताउँछन् । राष्ट्रिय वन क्षेत्रमा थप दुई वटा गैंडा मृत भेटिएका छन् ।
चोरी शिकारी हट्यो, प्राकृतिक कारणले मर्ने बढ्यो
एक वर्षमा मृत भेटिएका ४३ गैंडा मध्ये ९ वटा भाले र १४ वटा पोथी रहेका छन् । २० वटा गैंडाको लिंग पहिचान हुन सकेन । चितवन निकुञ्ज र यहाँको वन क्षेत्रमा प्राकृतिक कारणले ४३ वटा गैंडा मर्नुलाई गम्भिर विषय मानिएको छ । जुन प्राकृतिक रुपमा गैंडा मर्ने संख्या हालसम्म कै उच्च रहेको छ । यसअघिको आर्थिक वर्ष २०७४/०७५ मा २६ वटा गैंडा प्राकृतिक रुपमा मरेका थिए । जसमा ४ वटा केटो रहेका छन् ।
अर्को गैंडाको आक्रमणमा परेर लागेको चोटका कारण आठ महिनाको पोथी, बाघको आक्रमणबाट करीब २ वर्षको पाथी र बाघकै आक्रमणमा अर्को दुई वर्षको पोथी मरेको निकुञ्जको तथ्यांक रहेको छ । यस्तै, घाईते अवस्थामा उद्धार गरिएको भाले केटोको पनि उपचारका क्रममा मृत्यु भएको थियो । मृत भेटिएको २६ वटा मध्ये १२ वटा भाले र १० वटा पोथी रहेका छन् । ४ वटाको लिंग खुल्न सकेन ।
चितवन निकुञ्जमा गैंडाको चोरीशिकारी पनि प्रमुख समस्या रहेको थियो । आर्थिक वर्ष ०५८/०५९ मा ३७ वटासम्म गैंडा चोरीशिकारीले मारिएकोमा ११ वटा प्राकृतिक रुपमा मरेका थिए । वि.स २०६७ सालको पुस १९ पछि चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गैंडाको चोरी शिकारबाट गैंडा मरेनन् । २०६८ सालको पुस २३ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन निकुञ्जमा पहिलो ‘शून्य शिकार वर्ष’ मनाएको थियो । त्यसपछि आर्थिक वर्ष ०७१/०७२ र ०७२/०७३ मा चोरीशिकारबाट गैंडाको शिकार भएन । ०७३/०७४ मा एउटा गैंडा चोरीशिकारीबाट मारिएको थियो । त्यसपछि हालसम्म चोरीशिकारबाट गैंडा मरेको छैन ।
चोरीशिकारीबाट गैंडा नमरेपनि प्राकृतिक कारणबाट गैंडा मर्ने दर ह्वातै बढेको छ । चितवन निकुञ्ज क्षेत्रमा आर्थिक वर्ष ०५५/०५६ मा २३ वटा र आर्थिक वर्ष ०५६/०५७ मा २८ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए । त्यसयता क्रमश प्राकृतिक मृत्यु हुने संख्या घटेको पाईन्छ । निकुञ्जको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा भने यो प्राकृतिक कारणले गैंडा मर्ने क्रम उकालो लाग्दै गएको छ । आर्थिक वर्ष ०७२/०७३ मा १५ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए । त्यसपछिका तीन वर्षमा क्रमशः २४, २६ र ४३ वटा पुगेको छ ।
पछिल्लो २२ वर्षको अवधीमा निकुञ्ज र यस वरपरका क्षेत्रमा ४९८ वटा गैंडा मरेको तथ्यांक रहेको छ । जसमा ३३३ वटा प्राकृतिक कारणले र १६५ वटा चोरी शिकारीका कारणले मरेका छन् ।
बुढो नभई धेरै गैंडा मर्नु चिन्ताजनक
प्राकृतिक कारणले मरेका सबै गैंडा उमेर पुगेर र बुढो भएर मरेका भने होईनन् । गएको आर्थिक वर्षमा मरेका ४३ वटा गैंडा मध्ये अर्को वन्यजन्तुसँग लडाइँ गरेर ९, बुढो भएर ६, संक्रमण भएर २ र दुर्घटनामा परेर २ वटा गैंडाको मृत्यु भएको थियो । दुर्घटनामा परेर मरेकोमा एउटा सेफ्टी ट्यांकीको खाडलमा परेर र एउटा भीरबाट लडेर मरेको हो । त्यसबाहेक २३ वटा गैंडा मर्नुको कारण भने पत्ता लगाउन सकिएन ।
२०७४/०७५ मा २६ वटा गैंडा प्राकृतिक कारणले मरेको पाईकोमा वन्यजन्तुसँग लडाइँ र आक्रमणमा परेर १०, बुढो भएर ६, दुर्घटनामा परेर १ वटा र संक्रमण तथा बिरामी भएर ६ वटा गैंडा मरेको पाईएको थियो । २ वटा गैंडा मर्नुको कारण भने पत्ता लाग्न सकेन । ०७३/०७४ मा प्राकृतिक कारणले २४ वटा गैंडा मरेकोमा पनि उमेर पुगेर मर्ने गैंडाको संख्या कम नै रहेको छ । त्यस वर्ष बुढो भएर मर्ने गैंडाको संख्या ५ वटा रहेको छ । ११ वटा गैंडा अर्को गैंडाको आक्रमणमा परेर मरेको थियो । ३ वटा मर्नुको कारण भने खुल्न सकेन । विद्युतिय धरापमा परेर दुई वटा र बिरामी भएर एक वटा गैंडा मरेको थियो । दुई वटा बालुवामा भासिएर मरेको भेटिएको थियो । यस वर्ष १ वटा गैंडा चोरीशिकारीले मारेका थिए ।
गैंडा ठूलो स्तनधारी जीव अन्तर्गत पर्दछ । एक सिंगे गैडा चार सय वर्ष अघिसम्म पाकिस्तान देखी म्यानमारसम्म पाईनेमा अहिले केही स्थानमा मात्र गैंडाको बसोबास सिमित भएको गैंडाका विषयमा विद्यावारिधि गरेका डा. नरेश सुवेदी बताउँछन् । इन्दुस, गंगा र ब्रह्मपुत्र नदी र यसका शाखा नदी वरपर बासस्थान बनाएर गैंडा बस्दै आएको पाईन्थ्यो । अहिले नेपाल र भारतका केही स्थानमा मात्र सिमित भएको छ ।
नेपालमा पनि पुर्वदेखी पश्चिमसम्मको तराई क्षेत्र गैंडाको बासस्थान रहेको थियो । तराईका जंगल मासियो र चोरी शिकार गर्ने बढेपछि गैंडाको संख्या घटेको उनी बताउँछन् । खानाको जोहो गर्न धेरै हिँड्नुपर्ने र पोथी गैंडाको खोजीमा धेरै चहार्नुपर्ने हुँदा र गैंडाको घनत्व धेरै भएर पनि गैंडा जुध्ने गर्छन् । ‘बासस्थान कसरी व्यवस्थापन भएको छ भन्ने महत्वपुर्ण हुन्छ’ उनले भने, ‘उपयुक्त बासस्थानमा थोरै क्षेत्रमामा पनि धेरै गैंडा सहजै बस्न सक्छन् ।’
निकै ढिला भेटिन्छन् अवशेष
पछिल्लो एक वर्षको अवधीमा मृत भेटिएका ४३ गैंडा मध्ये २० वटा गैंडाको लिंग पहिचान हुन सकेन । भने, २३ वटा गैंडा मर्नुको कारण नै खुल्न सकेन । प्राकृतिक रुपमा मृत भेटिएका आधा भन्दा बढी गैंडाको मृत्युको कारण खुल्न नसक्नुको पछाडी तिनिहरुको अवशेष ढिला भेटिनु रहेको छ । ४३ वटा गैंडा मध्ये २६ वटा गैंडाको अवशेष गलिसकेको अवस्थामा फेला परेका छन् । जसमा एक वर्ष भन्दा अघि मरेको गैंडा पनि रहेको अनुमान निकुञ्जले गरेको छ ।
फागुन २१ गते देवीताल क्षेत्रमा भेटिएको अस्थिपञ्जर एक वर्षभन्दा अघि मरेको गैंडाको रहेको थियो । यस्तै, ६ महिना भन्दा अघि रहेका गैंडा पनि धेरै नै रहेका छन् । यसरी मरेको लामो समयपछि अस्थिपञ्जरहरु भेटिदाँ मर्नुको कारण अनुमान र आंकलन समेत गर्न सकिदैन । प्रयोगशालाबाट अनुसन्धान गर्ने संभावना पनि नहुने वन्यजन्तुका चिकित्सक डा. कमल गैरे बताउँछन् । हिउँदको चिसो समयमा डेढ÷दुई सातासम्म पनि गैंडाको शव कुहिसकेको हुँदैन । गर्मी मौसममा त एक सातामा नै गल्ने हुन्छ । यसरी सडीगली गएपछि मृत्युको कारण र भाले, पोथी पत्ता लगाउन नसकिने उनले बताए ।
समयमा नै मृत शरीर भेटियो भने त्यसको परीक्षण र जाँचबुझ गरेर मृत्युको कारण पत्ता लगाउन सकिन्छ । ‘समयमा मरेको गैंडा पत्ता लागेन, देखिएन, भेटिएन भने मृत शरीर गल्दै जान्छ, कुहिएर नष्ट हुँदै जान्छ’ उनी भन्छन्, ‘त्यसपछि मर्नुको कारण पनि पत्ता लगाउन कठिन हुन्छ ।’ एक साताभित्रै भेटिएमा मृत्युको कारण आंकलन गर्न सजिलै सकिन्छ । जनावरको मृत्युसँगै रोगब्याधका किटाणु, भाईरस पत्ता लगाउन समयमा नै नमुना लिईनुपर्छ । ३० वर्ष निकुञ्जमा काम गरेर अहिले सेवा निवृत्त भएका चिकित्क डा. गैरेको अनुभवमा गैंडा एउटा निश्चित ठाउँमा नबस्ने भई स्वतन्त्र रुपमा घुमफिर गरिरहन मन पराउने जीव हो ।
बिरामी अथवा बुढो भएर थला पर्दा र घाईते भएर अशक्त हुँदा अरु गैंडाले पनि नभेट्ने एकान्त र एकै ठाउँमा बसिरहन रुचाउँछ । त्यस्तो बेला भित्री वन क्षेत्र, झाडीमा र पानीको घोलमा मरेमा समयमा नै भेटिन मुस्किल हुने उनले बताए । बुढो भएका, अशक्त कतिपय गैंडालाई निकुञ्जको सुरक्षा टोलीले निगरानी गरिरहेका हुन्छन् । निगरानीमा राखिएका गैंडा नदेख्दा तत्काल खोजी गर्दा तिनका मृत शरीर चाँडै भेटिन्छन् । निगरानीमा नपरेका, दुर्गम, सुरक्षा पोष्ट नजिक नभएका स्थानमा भने गस्ती जाँदा र छान मारेर हेर्दा मात्र अवशेष फेला पर्न सक्ने संभावना धेरै रहेको उनी बताउँछन् ।
चितवन निकुञ्जमा रोग नै लागेर गैंडा मर्ने भनेको ज्यादै न्युन मात्र देखिएको डा. गरैको भनाई छ । संक्रमण खालको खतरनाक रोगहरु खासै नदेखिएको उनले बताए । ‘वन्यजन्तु मरेपछि समयमा नै फेला पर्दैनन्, समयमा नै नमुना संकलन भएमा मात्र परीक्षण गर्न संभव हुन्छ’ उनी भन्छन्, ‘राम्रा प्रयोगशालाको सहयोग भएमा मात्र बेलैमा पत्ता लगाउन संभव छ । नेपालमा पशुपंक्षीको प्रयोगशाला कमजोर नै छ, त्यसमाथि पनि वन्यजन्तुको रोगब्याध जाँच गर्ने त निकै कम छ ।’ चितवन निकुञ्ज सुरक्षाका लागि विभिन्न स्थानमा ५५ वटा नेपाली सेनाका सुरक्षा पोष्ट छन् । रातको समयमा थप ५० वटा स्थानमा अस्थायी पोष्ट राख्ने गरिएको छ ।
निकुञ्ज संरक्षणकै लागि कोशी टप्पुबाट ल्याईएका ५ वटा गरी ६१ वटा हात्ती निकुञ्जमा रहेको छ । वन्यजन्तु संरक्षण कै लागि राज्यको तर्फबाट लगानी ठूलो रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन् । हात्ती, पैदल गस्ती गरेर निकुञ्जमा वन्यजन्तुको निगरानी र खोजी गर्ने गरिन्छ । यो पटक देवीताल सफा गर्दा पुराना हाडखोर समेत भेटिएको उनले बताए । गैंडा मरेको लामो समयपछि भेटिनुमा निकुञ्जकै कमजोरी भएको उनी स्विकार गर्छन् । ‘स्मार्ट खालको गस्ती हुनुपर्छ भनेर निर्देशन पनि भएको छ, गस्ती सबै ठाउँमा पुग्न नसकिने अवस्था अझै पनि छ’ उनले भने , ‘कुनै वन्यजन्तु मरेको भए समयमा नै भेटियोस् भनेर गरिने स्विपिङ नियमित बनाउने प्रयास भैरहेको छं ।’
गैंडालाई घोल र घाँस
गैंडा आहाल बस्न र पानीमा खेल्न मन पराउने जिव हो । ४० प्रतिशत भन्दा बढी काँस पाईने घाँसे मैदान क्षेत्रमा गैंडा बस्न रुचाउँछ । निकुञ्ज स्थापना ताका निकुञ्जमा २० प्रतिशत क्षेत्र घाँसेमैदान थिए । अहिले त्यो घटेर १० प्रतिशतमा सिमित भएको छ । गैंडाको बासस्थान अध्ययनमा निकुञ्जको ९३२ वर्गकिलोमिटर मध्ये करीब ४५० वर्ग किलोमिटर मात्रै गैंडाका लागि उपयुक्त बासस्थान भएको डा. सुवेदीले जानकारी दिए ।
‘सन् २००९ देखी २०१५ सम्म अध्ययन र निरीक्षणगर्दा चितवनको गैंडामा बासस्थान ह्रास र माईकेनियाको कारणले पारेको असर हेरेको थिएँ’ उनले भने, ‘मेरो अध्ययनमा माईकेनिया (मिचाहा प्रजातिको झारले) रैथाने घाँस प्रजाति सबै हराईदिएको छ, यसले बासस्थान बिग्रिराखेको छ ।’ पहिले कसराबाट पुर्वपट्टि धेरै गैंडा बस्थे । निकुञ्जको करीब ६६ प्रतिशत गैंडा त्यतै रहेको थियो । अहिले पुर्वको बासस्थान बिग्रेर गैंडा कम भएका छन् । निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा सरेको छ । पहिलेको ठ्याक्कै उल्टो अहिले ६६ प्रतिशत जसो गैंडा पश्चिम क्षेत्रमा बसोबास गर्ने उनी बताउँछन् ।
गैंडालाई प्रशस्त मात्रामा खानको लागि घाँस चाहिन्छ । गैंडाको ४० प्रतिशत भन्दा बढी खान्की काँस हो । काँस, सिरु, नरकट लगायतका घाँस नै यसको प्रमुख खान्की हो । सुख्खा समयमा घाँसको अभाव हुन्छ । सुख्खा समयमा कुटमेरो लगायतका डाले घाँस पनि खान्छ । अहिले घाँस पनि माईकेनियाले नासेको छ । खानाकै लागी धेरै हिँड्नु पर्ने भएमा बढी तनाब हुने र गैंडाहरु बीच झगडा हुने क्रम बढ्ने डा. सुवेदीले बताए । गैंडाले ४० प्रतिशत समय करीब खाना खान बिताउँछ । ३० प्रतिशत समय सुत्नको लागि उपयोग गर्छ ।
चिसो मौसममा ३ प्रतिशत र सुख्खा समयमा २१ प्रतिशत समय आहाल बस्ने गैंडाका लागि घाँस जत्तिकै महत्व घोलले पनि राख्छ । गैंडाले १८ महिनासम्म गर्भमा राखेर बच्चा जन्माउँछ । खाने सुत्ने धेरै गर्न पायो भने गैंडा स्वस्थ हुन्छ र बच्चा पनि धेरै पाउँछ । खानेकुरा खोज्न डुल्न मै अहिले गैंडाको समय र परिश्रम धेरै लागिरहेको उनले बताए ।
गैँडाको प्राकृतिक र अस्वभाविक मृत्यु धेरै बढेपछि चितवन निकुञ्जले निकुञ्ज भित्रका पोखरी, घोल र घाँसे मैदान व्यवस्थापनमा ध्यान दिन थालेको छ । गएको आर्थिक वर्षमा निकुञ्जले पानी भएका घोल र पोखरीलाई सरसरफाई गरेर फराकिलो बनाएर ७१ वटा पोखरी सुधार गरेको छ । १ करोड ३६ लाख ५० हजार रुपैयाँ खर्च गरेर पोखरी सुधार गरिएको हो । निकुञ्ज भित्रको टेम्पल, कसरा, देवीताल र ईचर्नीमा २ गरि पाँच वटा सिमसार समेत यो वर्ष व्यवस्थापन गरिएको निकुञ्जका सुचना अधिकारी घिमिरे बताउँछन् । २५ लाख रुपैयाँको बजेटमा सिमासार व्यवस्थापन गरिएका हुन् ।
निकुञ्ज भित्रको टेम्पल, सुखिभार, कछुवानी, डूमरिया, भिम्ले क्षेत्रमा ८४ लाख १८ हजार रुपैयाँ खर्च गरेर करीब २ सय हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको निकुञ्जले जनाएको छ । गैँडाको बासस्थान व्यवस्थापनमा ध्यान नदिँदा नै अहिलेको अवस्था आएको चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल बताउँछन् । यसअघि चोरी सिकार नियन्त्रण बाहेका विषयमा खासै ध्यान नपुगदा घाँसे मैदान, पोखरी र घोल घट्ने र सुक्ने भएका थिए । यो वर्ष भने गैंडाको बासस्थान व्यवस्थापन घोल, पोखरी र घाँसे मैदान सुधारमा केही काम भएका छन् ।
यो पर्याप्त नभएपनि बासस्थान सुधार हुँदा प्राकृतिक कारणले हुने गैंडाको अस्वभाविक मृत्यु केही कम हुने उनको अपेक्षा छ । यस्तै कामलाई हरेक वर्ष प्राथमिकता दिनुपर्ने उनले बताए । २०७४ सालमा निकुञ्जमा बाढी आएको कारणले पनि गैंडाको बासस्थानमा धेरै क्षति पुगेको प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन् । ‘गत वर्ष जस्तो अस्वभाविक मृत्यु यो वर्ष नहोला’ उनी भन्छन्, ‘यो वर्ष पनि यही संख्या दोहोरियो भने समस्या चुनौतीपूर्ण नै छ भनेर बुझ्नुपर्ने हुन्छ ।’
विस्तृत अध्ययन र अनुसन्धान आवश्यक
पछिल्लो पटक सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६४५ वटा गैंडा रहेको पाईएको थियो । जसमा १७८ वटा भाले, २३७ वटा पोथी र २३० वटाको लिंग छुट्टिएको थिएन । सो गणनामा १२३ वटा केटो रहेको पाईएको थियो । चितवन निकुञ्ज र वरिपरिको क्षेत्रमा ६०५ वटा रहेकामा १७० भाले, २२५ पोथी र २१० वटाको लिंग खुल्न नसकेको पाईएको थियो । निकुञ्ज क्षेत्रमा ११६ वटा केटो भेटिएका थिए ।
त्यसअघि सन् २०११ मा गरिएको गणनामा नेपालमा ५३४ वटा गैंडा रहेकामा चितवन निकुञ्ज क्षेत्रमा ५०३ वटा गैंडा भेटिएका थिए । सन् २००८ को गणनामा नेपालमा ४३५ गैंडा रहेको पाईएकोमा १३८ वटा पोथी र १०६ वटा भाले भेटिएको थियो । अरुको लिंग पहिचान हुन सकेको थिएन । चितवन निकुञ्ज क्षेत्रमा ४०८ वटा रहेको थियो । देशभर ८८ वटा केटो गैंडा भेटिएकामा चितवन निकुञ्ज क्षेत्रमा ८० वटा केटो रहेका थिए ।
यस्तै, सन् २००५ को गणनामा नेपालमा ४०९ भेटिएकामा चितवन निकुञ्ज क्षेत्रका ३७२ हरेका थिए । सन् २००० को तथ्यांक अनुसार नेपालमा ६१२ रहेकामा चितवन निकुञ्जमा ५४४ भेटिएको थियो । चितवन निकुञ्ज र यस वरपरका क्षेत्र नेपालमा गैंडाको प्रमुख बासस्थान हो । यसबाहेक पर्सा, बर्दिया निकुञ्ज र शुक्लाफाँटा आरक्षमा पनि केही संख्यामा गैंडा रहेका छन् ।
गैंडाको प्रमुख बासस्थान मै अस्वाभाविक रुपमा धेरै संख्यामा गैंडा मर्नुले गैंडा संरक्षणमा नयाँ प्रश्नहरु उब्जिएका छन् । त्यसमा पनि कम उमेरका केटो र पोथी गैंडा धैरे हुनुले गैंडाको संख्या वृद्धिमा नै प्रभाव पर्ने डा. सुवेदी बताउँछन् । गैंडाको लागि उपयुक्त बासस्थान बनाउन, नयाँ स्थानमा घोल बनाउन, घाँसे मैदान बन्न केही वर्षको फरकमा बाढी आएर नदि घुम्नुपर्ने उनले बताए । यसरी बाढी आउँदा ठाउँ ठाउँमा बन्ने घोल, दलदल गैंडालाई आवश्यक पर्छ । गैंडा बाढीमा आश्रित हुने प्रजाती भएपनि दुई वर्ष अघि निकुञ्जमा गएको बाढीलाई नै अहिले प्राकृतिक रुपमा गैंडा मर्नुको कारक मानिनुलाई त्यसभित्रको सत्यता विस्तृतमा अध्ययन गरिनुपर्ने उनले बताए ।
चितवन निकुञ्जमा मात्रै हेर्दा पनि निकुञ्जको पुर्वी क्षेत्रबाट पश्चिम क्षेत्रमा गैंडा किन सर्न थाले भनेर विस्तृत अध्ययन हुनुपर्ने आवश्यकता रहेको उनले बताए । प्राकृतिक कारणले यति धेरै संख्यामा गैंडा क्षति हुनु आफैंमा गहिराईमा पुगेर अध्ययन गरिनुपर्ने विषय हो । हुर्कदै गरेको केटो र प्रजनन् गर्ने पोथी धेरै संख्यामा मर्दा यसको प्रत्यक्ष असर दिर्घकालसम्म पर्ने संभावना अधिक रहने सुवेदीको भनाई छ । अहिले राष्ट्रिय निकुञ्ज विभागको विज्ञ टोलीले यस बारेमा अनुसन्धान र अध्ययन गर्ने काम थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल बताउँछन् । टोलीको एक सदस्यमा उनी समेत रहेका छन् । टिमले अध्ययनको काम सुरु गरिसकेको उनले जानकारी दिए ।