चितवन– मुलुकको सबैभन्दा जेठो चितवन राष्ट्रिय निकुञ्जको घाँसे मैदान वर्षेनि घट्न थालेको छ ।
सन् १९७० मा निकुञ्जको कुल क्षेत्रफलको २० प्रतिशत घासेमैदान रहेकोमा हाल आएर ९.६१ प्रतिशत अर्थात् ८ हजार ९ सय ५५ हेक्टरमा सीमित बनेको छ। जबकि, निकुञ्जको कुल क्षेत्रफल ९ सय ५२. ६३ वर्ग किलोमिटरमा फैलिएको छ। निकुञ्जमा शाकाहारी जनावर बढ्दै जाने तर घाँसे मैदान घट्दै जाने क्रमले निकुञ्जमा रहेका वन्यजन्तुको आहारामा समस्या देखिन थालेको हो। निकुञ्जभित्र ४२५ वटा घाँसे मैदान छन् ।
निकुञ्जको तथ्यांक अनुसार निकुञ्जमा हरिण, बँदेल, जरायो चित्तलजस्ता जनावरको संख्या थपिँदै जाँदा घाँसे मैदान व्यवस्थापन गर्दै बढाउनुपर्ने देखिएको छ। सन् २०१५ को अध्ययन अनुसार गैँडाको संख्या ६ सय ५ रहेकोमा पछिल्लो गणना हुन सकेको छैन।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रुपाखेतीका अनुसार घाँसे मैदान बढाउन काम थालिएको छ। ‘हरेक वर्ष घाँस काट्ने, आगो लगाउने, घाँसे मैदानमा उम्रिएका रुखका पोथ्राहरु हटाउनेजस्ता कार्य भइरहेको छ, ’ उनले भने, ‘यसलाई निरन्तरता दिइनेछ।’ गत आर्थिक वर्षमा मात्र १ सय ६५ हेक्टर घासे मैदान व्यवस्थापन गरिएकोमा यस वर्ष ७ सय हेक्टर थप्ने योजना रहेको उनले बताए।
वन्यजन्तुविद् उदयराज शर्मा निकुञ्जका कारण घासेमैदान जंगलमा परिणत भएर कम भएको हुनसक्ने बताउँछन्। यद्यपि, कायम रहेको घाँसे मैदानलाई जोगाइराख्नुपर्ने र त्यसका लागि निकञ्जले कम खर्चिलो माध्यम प्रयोग गर्न सक्छ। एनका भनाइमा वर्षको एक पटक घासे मैदानको घाँस कटानका लागि उपभोक्तालाई दिनुपर्छ । ‘निकुञ्जमा वर्षेको केही दिन घास काट्न दिने हो भने नयाँ घास पलाउँछ, यो विधि तराईका निकुञ्जमा प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘शाकाहारी वन्यजन्तुले पनि नरम घास मन पराउँछन्।’
पछिल्लो समय निकुञ्जका हिंस्रक वन्यजन्तु मात्र नभइ शाकाहारी वन्यजन्तु पनि बस्तीमा पस्न थालेपछि घाँसे मैदान व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। निकुञ्ज र आसपासमा क्षेत्रमा माइकेनिया नामक मिचाहा प्रजातिको झार पनि बढ्दै गएको छ। वन्यजन्तुले खाने घाँसेमैदान समेत माइकेनिया, पार्थेनियम, वनमारा नामका मिचाहा प्रजातिको झारले सखाप पारिरहेको छ । माइकेनिया नामको वनमारा प्रजातिको झारले रूख बिरुवामा चढेर मार्ने गरिएको छ, जसका कारण वन्यजन्तुहरू आहारा प्रजाति खोज्नका लागि बासस्थानसमेत परिवर्तन गरिरहेका छन्।