Friday, April 25, 2025

टुँडिखेल जोगाउन तीन महिना निरन्तर पहरेदारी

काठमाडौँ– रत्नपार्कदेखिको रंगशालासम्मको टुँडिखेल अहिले खुम्चिदै गएको छ । लामो समयदेखि संरक्षण गर्दै प्राकृतिक ,सांस्कृतिक, ऐतिहासिक, राजनीतिक, सामाजिक स्वतन्त्रताको प्रत्याभूत गरिरहेको टुँडिखेल पछिल्लो समय बसपार्क, अनाधिकृत पसल सञ्चालन, पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ ढलान गरी मासिदैँ आएको छ ।

सोही कार्य रोक्न, टुँडिखेललाई थप अतिक्रमणबाट जोगाउन र खुल्लामञ्चलाई खुल्ला राख्नका लागि आजदेखि ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ ।

तीन महिनासम्म चल्ने ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत अबदेखि प्रत्येक शनिबार मानवसाङ्लो बनाएर टुँडिखेल घेराउ गरिने छ । अतिक्रमणमा परेको टुँडिखेललाई पूर्वावस्थामै फर्काउन र देशैभर रहेका अन्य खुल्लास्थानहरुको संरक्षणका लागि सन्देश दिन पनि ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको आयोजकको भनाइ छ ।

‘अकुपाई टुँडिखेल’ अभियानमा हाकाहाकीले अभियान्ता, राजनितिज्ञ र केही सर्वसाधरणसँग कुरा गरेको थियो । उनीहरूको भनाइ उनीहरूकै शब्दमाः

गणपति लाल श्रेष्ठ, सम्पदा संरक्षण अभियान्ता
२०७२ सालको भूकम्प पछि काठमाडौँ उपत्यकामा भएका खुल्ला स्थानहरूको संरक्षण गर्नुेपर्छ भन्ने नीति सरकारले ल्याएको थियो । तर त्यो नीति कार्यान्वयन भएन । काठमाडौँमा भएका खुल्ला ठाउँहरू मासिदैँ गए । टुँडिखेल देशको मुहार पनि हो । विभिन्न काल खण्डबाट यो मिचिदैँ आएको छ । आज यो खुल्ला छैन । यो अभियानले जनप्रतिनिधिहरूलाई बाध्ने काम गर्छ भन्ने हाम्रो विश्वास हो । सकारात्मक काममा हामी पनि सरकारसँग छौ भन्ने प्रतिक हो । टुँडिखेलले अतिक्रमण भएका देशभरको खुल्ला ठाउँको प्रतिनिधि गर्छ । यो ति सबै ठाँउलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि हो । अर्को भनेको टुँडिखेल पानी संचित गर्ने स्थान पनि हो । खुल्ला ठाउँको अभावमा काठमाडौँमा पानीको मात्रा कम हुँदैछ । यो समग्र प्रदूषित वातावरणको विरुद्धको अभियान हो । नेपालको सविधानको धार ४८ को (घ) ले पनि सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने कर्तव्य समेत तोकेको छ । ति अतिक्रमण गर्ने विरुद्ध कारवाही हुनुपर्छ ।

हिरण्यलाल श्रेष्ठ, परराष्ट्रविद
‘अकुपाई टुँडिखेल’ अभियान जनता जागरुक भएर उठेको आवाज हो । टुँडिखेलमा मैले खेलेको छु । अहिले म ७८ वर्षको भए । मैले यो ठाउँमा आएर धेरै ठूल्ठूला भाषण सुनेको छु । जात्रा ल्याउने ठाउँ पनि हो यो । संस्कृतिक कार्यक्रम गर्ने ठाउँलाई आज बार लागाएर र फोहोर थुपारेर कुरुप बनाइएको छ । र यो ठिक होइन् । खुल्लामञ्चलाई खुल्ला नै राख्नु पर्छ । किनभने भूकम्प फेरी आउन सक्छ । त्यस्तो बेलामा आएर बस्ने ठाउँ कहाँ ? ९० सालको भूकम्पमा पनि यहा आएर बसेको हो । ०७२ मा पनि हामी यही आएका हौं । अब शहरको जनसंख्या वृद्धि हुने क्रममा छ । त्यसैले पनि यसलाई मास्नु हुँदैन । सबै वडामा पार्क बनाउनको लागि म सुझाव दिन चाहान्छु । काठमाडौँ महानगरको मेयर आउनु पथ्र्यो । तर आउनु भएन । विगतका गल्तीहरू सच्याउनु होस् । हाम्रो आग्रह छ । यो अभियान जागरुकताको लागि पहिलो पाइला हो । जनताले आवाज राख्न सके भने यसलाई फेरी खुल्ला गर्न सकिन्छ । बार लगाएर र घर बनाएर यसलाई कब्जा गर्न दिनु हुन्न ।

प्रगतिमान बोम्जन, सर्वसाधारण
टुँडिखेलको इतिहास फरक छ । आज भन्दा १०/१५ वर्ष अगाडि यो जनाताको आवाज बोल्ने ठाउँ थियो । राजनीतिकदेखि सांस्कृतिक कार्यक्रम गर्ने स्थल हो यो । घाम ताप्ने ठाउँको रुपमा लिइएको थियो । तर आज यसलाई खुम्चाइएको छ, अतिक्रमण भएको छ । खुल्लामञ्च फेरी खुल्ला हुनुपर्छ । यो अभियान खुल्लामञ्चलाई फेरी खुल्ला गर्नुपर्छ भन्ने आवाज दिनलाई हो। देशभरको जग्गा अतिक्रमण गर्ने सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायलाई सचेत गर्ने आवाज हौं हामी ।

ओम श्रेष्ठ, सर्वसाधारण
काठमाडौँमा हजारौं मानिस मात्रै हुँदा खुल्लामञ्च खुल्ला थियो जुन आवश्यक पनि थिएन । तर आज नेपलको जनसंख्या करोडौं छ । काठमाडौँमा लाखौं मानिसहरू बस्छन् । यो साघँुरो बन्दै छ । भोलिको दिनमा भूकम्प आउला, आगलागी होला अन्य विविध कुराहरू होलान् अनि त्यस्तो अवस्थामा मानव जीवनको सुरुक्षा कसरी हुन्छ? यसैले खुल्लामञ्चलाई पहिलाको जस्तै बनाउन नसकेपनि आवश्यक पूर्वाधारहरूको निर्माण गर्नुपर्छ र त्यो वातावरण मैत्री होस् ।

ताजा समाचार

सम्बन्धित समाचार