Saturday, September 21, 2024

श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशी

बेझाड- रामपुर नगरपालिका–१० गेझाको माथिल्लो मनभागा छाप क्षेत्रमा स्थानीयवासीको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको छ ।

एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टासम्म समय लगाएर खानेपानीको जोहो गर्न बाध्य यहाँका स्थानीयवासीले श्रमदान र रकम उठाएर लिफ्टिङ प्रणालीबाट गाउँमा खानेपानी लगेका हुन् । खानेपानी आयोजना निर्माणका लागि १९ घरधुरीबाट प्रतिघरधुरी रु १९ हजार २०० का दरले कुल रु तीन लाख ६४ हजार ८०० रकम रकम सङ्कलन गरिएको थियो । यस आयोजना निर्माणमा रामपुर नगरपालिकाले रु १३ लाख सहयोग गरेको छ ।

कुल रु १६ लाख ६४ हजार ८०० को लागतमा गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानीको सुविधा पु¥याइएको मनभागा लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष भीमबहादुर सिङ्जालीले बताए । खानेपानी आयोजना सम्पन्न गर्न यहाँका १९ घरपरिवारका स्थानीय उपभोक्ताबाट एक सय जनाको जनश्रमदान परेको छ ।

“वर्षौँदेखिको खानेपानी समस्या समाधानमा आएको छ, पानीको सुविधा पुगेपछि तरकारी, फलफूल खेती गरेर आयस्रोत बढाउनेतर्फ स्थानीयवासी लागेका छन्”, उनले भने। यस खानेपानी आयोजनाबाट यहाँका १९ घरधुरीका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । थप छ घरपरिवारलाई खानेपानी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष सिङ्जाली बताउछन्।

बस्तीदेखि करीब ५६० मिटर तल रहेको किर्लोखोला र ढुसिनी गैराको पानीलाई लिफ्टिङ गरेर माथि गाउँमा लगिएको हो । पिउनेपानी, गाई–भैँसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाउँमा पानीको कुनै पनि स्रोत नहुँदा यहाँका स्थानीयवासीले निकै समस्या भोग्दै आइरहेका थिए । पानी बोक्दैमा बिहान बित्ने गरेको स्थानीयवासी बिनिता ठाडाको भनाइ छ । “बिहान साढे दुई बजेपछि उठेर गाग्री बोकेर पानी लिन जाने हो, अबेर गइयो भने पानी भर्ने पालो पाइँदैनथ्यो, पानी बोक्दैमा बिहान बित्थ्यो”, उनले भने ।

श्रीमान् विदेश, बच्चाबच्चीको हेरचाह, गाई–भैँसीलाई घाँसपात, मेलापात, दुई÷तीन घण्टा लगाएर एक्लै पानी बोक्नुपर्ने समस्या झेल्नुभएकी ठाडा अहिले भने गाउँमै पानी पाएपछि दङ्ग छन्। गाउँमा खानेपानीको सुविधा पुगेपछि मेलापात, घरायसी धन्दा, गाई–भैँसीको हेरचाह गर्न सजिलो भएको उनले बताए।

रम्भा गाउँपालिकाको वीरकोट मोचाबारीमा रहेको धरमपानीको मुहानबाट विसं २०३९÷४० देखि नै पाइपबाट ल्याइएको पानी यहाँका स्थानीयवासीले उपभोग गर्दै आएका थिए । विस्तारै पानी सुक्दै जाँदा विसं २०५७÷५८ देखि गाउँमा खानेपानीको अभाव सिर्जना हुनथालेको हो । पानीको समस्याले कुनै पनि पेशा–व्यावसाय गर्न नपाइएको उपभोक्ता तुला सारुले बताए।

“प्रशस्त जग्गा भए पनि पानी नभएपछि राम्रो उत्पादन हुने जग्गा बाँझिन पुगे, अब पानी आएपछि पुनः बाँझिएका जग्गा प्रयोगमा आउन थालेको छ”, सारुले भने । पानीको सुविधा पुगेपछि अहिले गाउँमा कृषि तथा पशुपालन व्यावसायमा चहलपहल बढ्न थालेको छ । पहिला माथिल्लो मनभागा र छापगाउँमा गरी करीब ५० घरपरिवारको बसोबास थियो ।

खानेपानीकै समस्याका कारण कोहीले बस्ती नै छाडेर अन्यत्र बसाइँसराइ गरेका थिए । अहिले दुई गाउँमा करीब २६ घरपरिवारको बसोबास छ । यो क्षेत्र रामपुर नगरपालिकाको केन्द्रदेखि सबैभन्दा टाढा र विकट क्षेत्रमा पर्छ । यहाँ वर्षौँदेखि खानेपानीको अभाव हुँदा पनि समस्या समाधानमा कसैको ध्यान नजाँदा स्थानीयवासीले एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टाको समय खर्चनुपथ्र्यो । पानी बोक्दैमा दिन बिताउन बाध्य यहाँका स्थानीयवासी अहिले भने गाउँमै पानी उपभोग गर्न पाउँदा खुशी भएका छन् ।रासस

ताजा समाचार

सम्बन्धित समाचार