काठमाडौँ– यतिबेला भारतको राजधानी नयाँ दिल्ली र नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेश र विहार राज्य अत्यधिक प्रदूषणको चपेटामा छन्।
प्रदूषणका कारण जनजीवन प्रभावित भएको छ, निर्माण कार्य रोकिएको छ, विद्यालय बन्द छ। प्रदूषणलाई कम गर्न भन्दै सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लगाइएको छ। दिल्लीको प्रदूषणको असर भारतसँग सिमा जोडिएका प्रमुख शहरमा बाक्लो छ भने काठमाडौँसम्म पनि त्यसको असर परिसकेको छ।
यदि हामीले पनि समयमै नै गम्भीर नबन्ने हो र कदम नचाल्ने हो भने काठमाडौँले पनि दिल्लीकै नियती भोग्नुपर्ने दिनहरू धेरै टाढा छैनन्। अहिलेको गतिमा डिजेल र पेट्रोलबाट चलेका गाडीको संख्या बढ्ने, सार्वजनिक सवारीको वेथिती झन् बढने र समग्र निर्माण कार्य र उद्योग धन्दालाई व्यवस्थित नबनाउने हो भने काठमाडौँले निकै विषाक्त अवस्थाको सामना गर्नुपर्ने हुन्छ र त्यतिबेला समाधानको लागि कुनै पहल लिन ढिलो भईसकेको हुनेछ।
आजभन्दा ३०/४० वर्ष अगाडि दिल्ली लगायत अन्य प्रमुख शहरले गरेको लापरवाहीको नतिजा उनीहरू अहिले भोग्दैछन्, दुर्भाग्यवश हामी पनि त्यही यात्रामा छौँ। खाली फरक यति हो हामी कति छिटो अथवा ढिलो पुग्छौँ। तर अहिले नै प्रदूषणको चपेटामा रहेको काठमाडौँका लागि ति दिनहरू धेरै टाढा छैन। तर सरकारी निकायले तत्काल कदम चाल्ने हो भने धेरै ढिलो चाहि भईसकेको छैन।
दिल्लीको प्रदूषणले काठमाडौँभन्दा पनि धेरै तराईका जिल्लाहरूमा बढी असर गरिरहेको छ। प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको छ।
विज्ञहरूका अनुसार तत्काल सरकारका अगाडि चारवटा कार्य छन्। पहिलो, विद्युतिय सवारी साधन वृद्धि गर्ने, दोस्रो अहिलेको सार्वजनिक सवारीमा व्यापक सुधार ल्याउने र तेस्रो काठमाडौँको निर्माण कार्यबाट आउने धुलोलाई रोक्न निर्माणकर्तालाई नै जिम्मेवार बढाउने गरी कडा कानुन ल्याउने।
चौथो, विभिन्न प्रयोजनका लागि पटक पटक सडक खन्ने अबस्थाको अन्त्यका लागि विभिन्न निकायहरूको विचमा समन्वय गर्ने।
हाकाहाकीसँग कुरा गर्दै वातावरणविद् प्रभु बुढाथोकीले विद्युतीय सवारीलाई प्राथमिता दिनुपर्ने बताए। उनी भन्छन्, ‘काठमाडौँलाई मेगा सिटी बनाउने कुरा चलिरहेको छ। मेगा सिटी हुने वित्तिकै सवारीको चाप पनि बढ्छ। दिल्लीमा जस्तो धेरै सवारी साधन काठमाडौँमा छैनन् तर अहिलेको जस्तै काठमाडौँ अस्तव्यस्त रहने हो भने प्रदूषणले यहाँ भयावह रुप लिन्छ । त्यसै कारणले शुरुमा हामीले विद्युतिय सवारीलाई बढी प्रथमिकता दिनु पर्छ।’
साधै उनले आपसी सहकारीता हुनुपर्नेमा जोड लिए । प्रदूषण नियन्त्रण एक्लै सम्भव नरहेको भन्दै उनले भने, ‘प्रदूषण नियन्त्रणका लागि ७ वटै प्रदेशबीच सहर्काय हुनुपर्छ।’
त्यस्तै अर्को वातावरणविद् विनोद भट्ट धुलो नियन्त्रणमा बढी जोड दिनुपर्ने बताउँछन्। पानी परेको वेलामा वायु सफा रहने भएता पनि हिउँदको समयमा प्रदूषण नहट्ने भएकाले प्रदूषणको स्रोत घटाउनु पर्ने उनको सुझाव छ।
‘धुँवा जति हानिकारक छ वातावरणको लागि धुलो पनि त्यत्ति नै छ,’ उनले भने, ‘वायु मण्डलबाट धुलो १०/१५ दिनमा कम हुन्छ भनेर सोच्नु गलत हो।’
उनी भन्छन्, ‘हामी धुलोधुँवा नियन्त्रण र फोहोर व्यवस्थापनमा सचेत भएनौँ भने दिल्लीको रेन्जको प्रदूषणमा पुग्न हामीलाई केही वर्ष मात्र लाग्छ। प्रदूषणको कारण जति पनि श्वासप्रस्वासको विरामीको संख्यामा वृद्धि हुँदै गएको हाम्रो लागी सचेत गराउने संकेत हो। दिल्लीको प्रदूषण हाम्रो लागि अवसर हो सचेत रहनको लागि र आवश्यक कदम चाल्नको लागि।’
प्रदूषणका कारण काठमाडौँमा पनि पब्लिक हेल्थ इमरजेन्सिको घोषणाको अवस्था आउन सक्ने वातावरणविद् भूषण तुलाधर बताउँछन्।
दिल्लीको प्रदूषणको इन्डिकेटर काठमाडौँमा पनि रहेकाले त्यसको पहिचान गर्न आवश्यक रहेको उनले सुझाए। दिल्ली सरकारसँग पहिलानै प्रदूषणको तह पार गर्यो भने के गर्ने भन्ने कार्य योजना रहेको तर नेपालमा त्यस्तो आपतकालिन कार्ययोजना नभएको तुलाधारले बताए।
‘पहिला त प्रदूषण हुन नदिन तर्फ ध्यान दिने हो अर्को भनेको संकटकालिन अवस्थाको लागि तयारी कार्य योजना बनाउने हो,’ उनले भने।