कैलाली– बालुवामा सुन चाल्ने र माछा मार्ने सोनाहा समुदायको परम्परागत पेसा हो। तर,अब यो पेसाबाट जिविको चल्न छाडेको छ त्यसैले उनीहरुले वैकल्पिक पेसा रोज्न थालेका छन्।
बर्दियाको राजापुुर नगरपालिका–१ मुुग्रहवाका कालु सोनाहाको आधा जिन्दगी नदीमा सुन चालेर र माछा मारेरै बित्यो। यो पेसाबाट जीवन धान्न नसकेपछि उनले पेसा परिवर्तन गरे । अहिले शौचालय निर्माणमा प्रयोग हुने रिङ बनाएर दैनिकी चलाइरहेका छन् ।
‘पहिले भन्दा अहिले मेरो जीवन खुसी छ । अलिकति माछा मारे खान्थे नत्र भोकै बस्थे । जौको रोटी खान्थे, सम्झिँदा पनि रुन मन लाग्छ,’कालु सोनाहाले भने,‘२०६९ सालदेखि कुखुरा पनि पालेको छु, सुन चाल्न र माछा मार्न फुर्सद छैन ।’
राजापुुरको मुुग्रहवा गाउँकै मैया सोनाहाको पनि नदी र खोलासँगको सामिप्यता गहिरो छ । उनका कैयौँ दिन र रात खोलामै बिते । अहिले उनले किराना पसललाई जीवन चलाउने माध्यम बनाएकी छन्। ‘ऋण पाए । फ्रिज पनि किनेको छु । पहिले भन्दा अहिले एक दुई रुपैयाँ आउँछ,’उनले भनिन्।
बर्दियाको गेरुवा गाउँपालिका–६ का दुुखाराम सोनाहाले विगत ५ वर्षदेखि कपाल काट्ने काम गर्दे आएका छन् । परम्परागत पेसाबाट जीवन धान्न मुुस्कील भएपछि उनले यो पेसा अँगालेका हुन् । ‘कपाल काट्न थालेको ५ वर्ष भयो । गाउँभरको सैलुन। एक जनाको कपाल काटेको ५० रुपैयाँ लिन्छु । महिनामा १५ हजार हुन्छ । पाँच वर्ष भयो कपाल काटेको। यसैबाट जीवन धान्नेको छु,’दुखारामले भने ।
यी सोनाहा समुदायका केही प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय वैकल्पिक आय आर्जनमा धेरैको आकर्षण बढेको छ। धेरैले निजी व्यवसाय सुरु गरेका छन्। कसैले कुखुरा पालन, पशु पालन, तरकारी खेती त कहिले ज्याला मजदुरी गरीरहेका छन् ।
यतिमात्र होइन सोनाहा समुुदायले राजापुुर नगरपालिका–१ मुुग्रहवाका ८ वटा घरमा होमस्टे समेत सञ्चालन गरेका छन् । यो उनीहरूले गरेको नयाँ अभ्यास हो । यो कामको नेतृत्व सोनाहा विकास समाजका अध्यक्ष शान्ति सोनाहाले गरीरहेका छन् । धेरै वर्ष अगाडिदेखि परम्परागत पेसाका लागि आवाज उठाउँदै आएका शान्ति सोनाहाले गरेको यो काम समुदायका लागि नै नौलो बनेको छ ।
‘आय स्रोतको बाटो भएको छ । होमस्टे लगायत मजदुरी गर्न पनि जान्छन् । नेपालमै काम मिल्ने भएकाले मजदुरी गर्ने,महिलाहरू होमस्टे गर्ने पसल गर्ने भइरहेको छ,अध्यक्ष शान्तिले भने,‘खोलामा सुन चाल्दा कसैले चिन्दैनथे । परम्परागत पेसा एकै चोटि छोड्न मिल्दैन तर, त्यही पेसाकै कारणले गर्दा शिक्षा सामाजिक अवस्थामा पछाडि परेको र अब चाहिँ अगाडि बढ्न खोज्दैछौ। वैकल्पिक पेसामा लाग्यो। अहिले पढाईको दौडामनमा स्कुल जाने गरेका छन् ।’
होमस्टे सञ्चालक पार्वती सोनाहाले जीवनका रहर लाग्दा वसन्तहरू नदी खोलामै बिताइन । नदीमा सुन चालेर र माछा मारेर सन्तानलाई शिक्षा प्रदान गरिन। सन्तानको खुसीका लागि नदीमै हात खुुट्टा खियाइन। अहिले उनको मेहनत होमस्टे सञ्चालनमा छ। उनले विगतका दुःखहरू बिर्सिएकी छैनन् ।
‘ढुुंगासंग लड्न त बल चाहिन्छ। हात खुुट्टा पाक्छन्। घरमा बसेर होमस्टे व्यवसाय गर्न पाए राम्रो हुन्छ । धेरै फरक छ । पुरानो भन्दा अहिले फरक हो,’उनले भनिन्,‘पहिले बाहिरी कुुरा थाहा थिएन । आफनै पेसामा नदी ढुुंगा माटोसँग मात्र मित्रता थियो भने अहिले धेरै कुरा गर्न सक्छन् भन्ने देखियो ।’
हिजो माछा मार्ने र सुन चाल्ने कला मात्र भएका सोनाहा समुदाय अहिले पाहुनालाई स्वागत सत्कार गर्छन्। स्थानीय मिठा-मिठा परिकारहरू पकाएर खुुवाउछन्। उनीहरूले खानामा बिशेषगरी माछाका परिकार बनाउने गर्छन्। कर्णाली नदीको माछा यहाँको मुख्य परिकार हो।
घरायसी वातावरणमा खान र बस्न पाइने भएपछि विभिन्न स्थानबाट पर्यटकहरू त्यहाँ पुुग्छन । काम विशेषले पुुग्नेहरू पनि होमस्टेमा बास बस्न पुुग्छन। उनीहरूको काम र मेहनत देखेर गाउँमा वैकल्पिक पेसा प्रतिको आकर्षण बढेको छ। यसले होमस्टे सञ्चालकहरू थप उत्साहित भएका छन्।
‘पहिले भन्दा अहिले धेरै खुसी लाग्छ । गाउँमा पनि मेलमिलाप भैराछ। काम नपाएर बाहिर जानुपर्ने अवस्था थियो। अहिले संस्कृतिदेखि सरसफाइ मिलेर गर्ने काम गरेका छौ। धेरै खुुसि लाग्छ,’ थारु तथा सोनाहा होमस्टेका सञ्चालक पदेशी चौधरीले भने।
होमस्टे सञ्चालन गरेकाहरू आफ्नो कला र संस्कृति जगेर्ना गर्न पनि लागि परेका छन्। यसका लागि परम्परागत नृत्यमा अभ्यास गर्ने काम भईरहको छ। यसमा शान्ति सोनाहाको विशेष भूमिका छ। समुदायका सबै व्यक्तिलाई जुटाएर उनले देखाएको यो सक्रियता साच्चिकै प्रशंसनीय छ।
‘जुुन पहिलाको पुुर्खाहरूले नाच्ने नाच गाउने गीत बिर्सिसकेमा। हामी गयौ । त्यसैले मेरो प्रयास संस्कृति जोगाएर राख्नुुुपर्छ । ड्रेस गाना पनि बनाएर राखका छौ,’अध्यक्ष शान्तिले भने,‘जुुन पेसा परिवर्तन हँुुदै गएको छ । हामी पनि अरू व्यक्तिहरू जस्तै सभ्यताहरू सिकिरहेका छौ।’
यस्ता कार्यक्रममा सबै सोनाहाहरूलाई समेटेर लैजानुपर्ने आवश्यकता महसुस भएको छ । यस्ता कुरालाई मध्यनजर गर्दे शान्ति सोनाहाले सबैलाई समेटेर काम गर्ने योजना बनाएका छन्।
अझै नदीमै आश्रित सोनाहा समुदाय
वैकल्पिक पेसाले अहिले केही सोनाहा समुदायको अवस्था फेरिएको छ। तर, अझै पनि केही व्यत्तिहरू नदी खोलामै आश्रित छन्। कर्णाली नदी सोनाहा समुदायले पुर्खादेखि सुन चालिरहेको स्थान हो। यही नदीमा सुन चालेर सोनाहा समुदायले पुुर्खोदेखि जीवन चलाउँदै आएका छन्, आज पनि।
बालुवामा सुन धोएपछि केही चम्किला साना–साना कणहरू देख्छिन्। यी कणहरूलाई कटौरामा राख्ने गरिन्छ। त्यसपछि घरेलु विधि प्रयोग गरेर सुन निकाल्ने काम हुन्छ। घाम ,पानी , चिसो केही नभनी सुन चाल्नेहरूको कथा पिडादायी छ। उनीहरू पनि वैकल्पिक पेसाको खोजीमा छन्।
‘एक दिनमा पाँच लालसम्म सुन आउँछ । पहिले जस्तो नदी छैन। कति समय लाग्छ कति मेहनत गर्नुपर्छ । रोजीरोटी चलाउन अप्ठेरो छ । मजदुरी गर्ने सुन चाल्ने सुन चालेर मात्रै अब खान पुग्दैन । लेबरको काम गर्नुपर्छ,’राजापुर नगरपालिका–१ की माइती सोनाहाले भनिन्।
नदीमा सुन चालेर जीवन धान्न ग्राहो हुँदै गएको रामु सोनाहा बताउँछन्। दिनभरि कष्ट गरी सुन चाल्दा पनि जोहो गर्न नसकेका यी सोनाहा समुदाय बाध्यताले सुन चालिरहेका छन्। वैकल्पिक आय आर्जनमा लागेता पनि प्रभावकारी काम नपाउँदा उनीहरू अहिले समस्यामा पर्दै गएका हुन्।
हिजोको दिनमा पुुर्खाहरूले सहजै यो पेसाबाट जीवन धाने। अब भने यो पेसाबाट जीवन चलाउन गाह्रो भैसकेको छ। यो समस्या भोगेका अगुुवा भूमिका खेलिरहेका शान्ति सोनाहाले विभिन्न निकायमा पुुगेर पहल खेल्ने गर्छन्। छलफल समन्वय र सहकार्य गर्छन्। यो प्रयासपछि स्थानीय र प्रदेश सरकारले योजना तथा कार्यक्रम बनाएका छन्।
‘गत वर्ष पनि होमस्टे गर्नेका लागि तालिम दिएका थियौ। होमस्टे प्रवर्धनको लागि भनेर बजेट विनियोजन गरेका छौ। सोनाहा पनि लक्षित वर्ग अन्तर्गत पर्ने भएकाले कार्यक्रम बनाएका छौ,’राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले भने,‘रााजापुर नगरपालिकाबाट श्रोत साधनले भ्याएसम्म सहयोग गरिरहेका छौ । नयाँ पेसा अवलम्बन गर्नको लागि सहयोग गर्ने छौ।’
सिमान्तकृत समुदायमा पर्ने सोनाहा समुदाय अब आय आर्जनको वैकल्पिक बाटोमा लागेका छन्। यो काममा शान्ति सोनाहाले खेलेको नेतृत्वदायी भूमिकाले सबैलाई प्रेरणा मिलेको छ। उनीहरूले वैकल्पिक पेसासँगै आफ्नो संस्कृति पनि जोगाउन लागि परेका छन्। संरक्षणको महत्त्व बुझेका बर्दियाका सोनाहाले गरेको यो प्रयास साच्चिकै जीवनोपयोगी छ। यस्ता प्रयासले प्राकृतिक स्रोत माथिको चाप घटाउँछ अनि संरक्षणमा पनि सघाउँछ ।