Wednesday, October 23, 2024

बीस वर्ष पुराना गाडी धमाधम नियन्त्रणमा

-खेमा बस्नेत
काठमाडौं – सरकारले देशभरका बीस वर्ष पुराना ७९ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था विभागले चैतमा महिनामा गरेको अनुगमनका क्रममा देशभरका ७९ वटा थोत्रा गाडी नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद बैठकले २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरू २ वर्षभित्र विस्थापन गरिसक्नुपर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णय अनुसार विभागले पुराना सवारी साधनका कारण वायु प्रदूषण बढेको ठहर गर्दै चैत १ गतेदेखि त्यस्ता सवारी साधन संचालनमा प्रतिबन्ध लगाएको थियो ।

विभागका निर्देशक तुल्सीराम अर्यालले पुराना सवारी साधनका कारण वायू प्रदूषण र दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्न देशभरका बीस वर्ष पुराना साधन हटाइएको जानकारी दिए । निर्देशक अर्यालका अनुसार उपत्यकामा गत वर्षको फागुनदेखि यस्ता साधन हटाइएको होे ।

विभागका शाखा अधिकृत भबिन्द्र कार्कीका अनुसार मेचीमा ५ वटा,कोशीमा ३६ वटा, ,सगरमाथामा २ वटा, जनकपुरमा २ वटा, नारायणी ७ वटा, गण्डकीमा १८ वटा, लुम्बिनीमा ५ वटा, भेरी ४ वटा महाकालीमा ६, राप्तीमा २, र काठमाडौंमा २ वटा गाडी नियन्त्रणमा परेका छन् ।

उपत्यकामा गत वर्षको फागुनदेखि यस्ता साधन हटाइएको भएता पनि २ वटा त्यस्ता गाडी अनुगमनका क्रममा भेटिएको कार्कीले बताए । विभागले प्रेट्रोलियम पदार्थबाट चल्ने २० वर्ष पुराना गाडीमात्र हटाइरहेको बताएको छ । विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ ।

कार्कीका अनुसार उपत्यका बाहिर बीस वर्ष पुराना साधनको संख्या १६ हजार ९६१ रहेको छ । ‘हाम्रो रेर्कड अनुसार १६ हजार ९६१ वटा २० वर्ष पुराना सवारी साधन छन्’उनले भने ‘यो संख्या धेरै देखिनुमा सवारी धनीले लगत कट्टाका लागि नआएकोे हुनाले देखिएको हुन सक्छ ।’

त्यस्तै विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरेको थियो ।

जस अनुसार २९५ जनाले लगत कट्टा गरेका छन् भने २१ जनाको लगत कट्टाको प्रक्रियामा छ । कार्कीले २० वर्षीय सवारी नियन्यण गर्ने कार्यलाई निरन्तरता दिने समेत जानकारी गराए । ‘सडकमा गुड्ने त्यस्ता सवारी नियन्यणमा लिने प्रक्रिया निरन्तर छ । अनुगमन गरिरहेका छौं’ अधिकृत कार्कीले भने ।

ताजा समाचार

सम्बन्धित समाचार