Wednesday, October 23, 2024

चीन पठाउने चारवटै गैडा तयार

काठमाडौं– नेपालले चीनलाई उपहार स्वरुप दिने दुई जोडी गैंडा चितवन राष्ट्रिय निकुञ्जबाट समातिएको छ ।

चीनलाई उपहार दिइने दुई भाले र दुुई पोथी गरी चारवटै बच्चा गैंडाहरू समातेर अहिले निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जको पश्चिम क्षेत्र सुखिभार घाँसे मैदानबाट बिहीबार अन्तिम पोथी बच्चा गैंडा समातिएको हो ।

गैंडा समाउन ६ वैशाखमा परिचालन गरिएको टोलीले एउटा भाले बच्चा गैंडा १५ वैशाखमा निकुञ्जको पश्चिम क्षेत्र खोरिया मुहानको घाँसे मैदानबाट र १८ वैशाखमा पोथी बच्चा गंैडा खोरिया मुहान नजिकै सुखिभार जंगल क्षेत्रबाट समातेको थियो । एउटा भाले बच्चा गैंडा भने गत भदौमा बाढीबाट उद्धार गरेर सौराहामा राखिएको थियो ।

यी दुई जोडी गैंडालाई नयाँ आहार, बासस्थल र वातावरणप्रति अभ्यस्त गराउन दुई महिनासम्म बुमामा राखिने उनले बताए । यसअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले एउटा जोडी गैंडा आगामी जुनको दोस्रो साता विमानमार्फत् चीन पठाइने बताएका थिए ।

प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार एउटा आर्थिक वर्षमा एउटा जोडी गैंडा मात्र उपहार दिन पाइन्छ । सोही अनुसार सरकारले अर्काे जोडी गैंडा भने नयाँ आर्थिक वर्षमा मात्र पठाउने तयारी गरेको छ ।

तत्कालिन वन मन्त्री अग्नी सापकोटाको २९ पुस ०७३ मा चीन भ्रमण क्रममा चिनियाँ वनमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले आफ्नो मुलुकलाई गैंडा उपहार दिन आग्रह गरेका थिए । उनीहरूको आग्रह सुनेर फर्किएका मन्त्री सापकोटाले यसबारे मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए। मन्त्रिपरिषदले दिन मिल्ने नमिल्ने बारे राष्ट्रिय र अन्तराष्ट्रिय कानुनबारे अध्ययन गर्न वन प्रशासनलाई निर्देशन दिएको थियो। दिन मिल्ने निष्कर्ष आएपछि २६ असार ०७३ मा तत्कालीन सरकारले दुई जोडी गैंडा चीनलाई दिने निर्णय गरेको थियो । चिनले सो गैंडा राष्ट्रिय चिडियाखनामा राख्ने जानकारी नेपाललाई दिएको छ ।

पछिल्लो गणना अनुसार नेपालमा ६ सय ४८ गैंडा छन् । तीमध्ये चितवनमा ६ सय ५, बर्दियामा ३५ र शुक्लाफाँटा निकुञ्जमा ८ छन्। नेपाल र भारतमा गरी एक सिंगे गैंडाको संख्या २५ सयको हाराहारीमा मात्र छ ।

कहिले कुन देशलाई उपहार दिइयो ?

नेपालले तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ वैशाखमा पहिलोपटक एक जोडी गैंडा उपहार दिएको थियो।

पछिल्लो पटक सन् २००६ मा तत्कालीन युवराज पारसले अस्ट्रिया सरकारलाई एक जोडी गैंडा उपहार दिएका थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अप्रशोधित तथ्याङ अनुसार २४ गैंडा उपहार र आदानप्रदानका नाममा दिइएको छ। अहिलेसम्म अमेरिकालाई ६, भारतलाई ४, अष्ट्रियालाई २, बेलायतलाई २, जापानलाई २, जर्मनीलाई २, पाकिस्तानलाई २, बर्मालाई २, थाइल्याण्डलाई दुई गैंडा दिइएको छ।

दक्षिण छिमेकी भारतलाई पनि दुई जोडी गैंडा दिइएको थियो। त्यसबापत सरकारले भारतबाट १८ वटा हात्ति ल्याएको थियो । ती हात्ती ल्याएपछि चितवनमा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार