Tuesday, October 22, 2024

जलवायु परिवर्तनको असर पानी र कृषिमा : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको नकारात्मक असर पानी र कृषिमा परेकोे बताएकी छन् ।

काठमाडौंमा बुधबार आयोजित ‘अन्तर्राष्ट्रिय सिंचाइ तथा जल निकास नियोग’को आठौँ एशियाली क्षेत्रीय सम्मेलनकोे उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्–‘जलवायु परिवर्तनको नकारात्मक असर पानी र कृषिमा परिरहेको छ।’

राष्ट्रपति भण्डारीले सिंचाइमा आधुनिक प्रविधिको प्रयोगले गर्दा जलवायु परिवर्तनको जोखिम बढेको भदै न्यूनिकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

‘पानीको महत्वलाई बुझेर पानीको सदूपयोग गरौं । पानीको स्रोतको दीगो संरक्षण गर्नु हाम्रो कर्तव्य हो,’ उनले भनिन् ‘सिंचाइको प्रयोगले अर्बौको जनसंख्यालाई खाद्यान सुरक्षाको प्रत्याभूती गर्ने सम्भव भएको हो।’

जलवायु परिवर्तन र बढ्दो वातावरणीय ह्रासले बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि खडेरी जस्ता विपदको जोखिम बढिरहेको अवस्थामा व्यवस्थित सिंचाइ प्रणालीको आवश्यकता र महत्व झनै वर्तमान विश्वमा बढ्दै गएको राष्ट्रपति भण्डारीको भनाइ छ।

‘व्यवस्थित सिंचाई र जलको विकास विना विश्वव्यापी दीगो विकास लक्ष्य पुरा गर्ने सम्भव हुँदैन,’ उनले भनिन्, ‘पृथ्वीमा भएका प्राकृतिक स्रोत साधनको आधुिनक विज्ञान तथा प्रविधिको प्रयोग गरी जलस्रोतको बहुउपयोग गरी बहुपक्षीय सिंचाई परियोजना विकसित गर्ने समेत ध्यान पुग्ने बेला आएको छ।’

पर्यावरणीय सन्तुलन पक्षलाई बेवास्ता गर्दा विश्वमा वन विनास, पर्यावरणमा ह्रास, नदी तथा समुद्रीय जीवको अस्थित्व खतरामा परेकोप्रति भण्डारीले चिन्ता व्यक्त गरिन्।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाहमुखी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण गर्नुपर्ने खाँचो रहेको औंल्याइन् ।

‘कृषि उत्पादन बढाउन दीगो सिंंचाइ प्रणाली आवश्यक पर्छ। अबको योजना कृषि र सिंचाइलाई अलग–अलग रूपमा नभई समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्।

चुरे र महाभारतलाई संरक्षण गर्ने त्यसक्षेत्रमा बृक्षरोपण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । ‘साना तथा मझौला सिंचाईको स्रोतको रुपमा रहेको चुर, महाभारतको संरक्षण गर्ने जल सिंचित गर्ने बोटविरुवा रोप्नुपर्दछ,’ राष्ट्रपति भण्डारीले भनिन्।

कृषि, वन, फलफूल खेती करेसा बालीको विकासमा सिंचाईको बहुआयामिक पक्षलाई आत्मसाथ गर्नुपर्ने भण्डारीको भनाइ छ।

‘जमिनको जथाभावि खण्डिकरणले कृषियोग्य भूमि सीमित हुन गएको छ। सीमित कृषियोग्य जमिनबाट लाभ लिन बहुआयामिक सिंचाइमा जोड दिनुपर्छ’, भण्डारीले भनिन्।

ऊर्जा, जलस्रोत तथा सिंंचाइमन्त्री वर्षमान पुनले आर्थिक समृद्धिका लागि नेपाल सरकारले ऊर्जा, जलस्रोत र सिंचाइ तीन क्षेत्रमा विशेष ध्यान दिएको बताए ।

‘वर्षभरी सिंचाइ हुने नयाँ प्रविधि, ऊर्जामा नयाँ–नयाँ लगानी गर्ने सरकारले जोड दिइराखेको छ,’ मन्त्री पुनले भने।

मन्त्री पुनले आगामी पाँच वर्षमा पाँच हजार मेगावाट जलविद्युत आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए।

‘सिंचाइका प्रशस्त सम्भावना छन् । सिंचाइमा हामी बहुउद्देश्यीय आयोजना सञ्चालन गरिहेका छौं,’ उनले भने, ‘सिंचाइ जलऊर्जा, बाढीनियन्त्रण पर्यावरणीय संरक्षण जस्ता बहुउद्देश्यीय आयोजना सञ्चालन गर्ने गइरहेका छौं। केही आयोजना सञ्चालित छन्।’

अन्तर्राष्ट्रिय सिंँचाइ तथा जल निकास नियोगका अध्यक्ष फेलिक्स राइन्डर्सले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानीको अधिकतम सदुपयोगमा ध्यान दिन सुझाव दिए ।

‘विश्वले कृषिमा जति पानीको प्रयोग गर्नुपर्ने हो त्यती प्रयोग गर्ने सकेको छैन,’ उनले भने, ‘पानीको महत्वलाई बुझौं र पानीको प्रयोग गरौं ।’

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले सिंचाइ तथा जल व्यवस्थापनमा थप विकास गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

तीन दिनसम्म चल्ने उक्तसम्मेलनमा ३० वटा देशका सयभन्दा बढी र नेपालका पाँच सय प्राविधिक तथा बैज्ञानिकहरूकोे सहभागिता रहेको छ। सम्मेलनमा २२ वटा देशका करिब ७० वटा अनुसन्धान एवं अनुभव सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र सिंँचाइ तथा जल निकास नियोगद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको शीर्षक ‘हरित क्रान्तिका लागि सिंचाइ’े रहेको छ । जलस्रोतका क्षेत्रका काम गर्दै आएकोे अन्तराष्ट्रिय गैरसरकारी संस्था नियोगको सदस्यता नेपालले सन् १९७३ मा लिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार