Tuesday, October 22, 2024

सडकमै मर्छन पशुचौपाया, कसले गर्ने व्यवस्थापन ?

काठमाडौैं– काठमाडौं उपत्यकाका विभिन्न सडकमा मृत अवस्थामा भेटिने छाडा पशुचौपाया र भुस्याहा कुकुरका कारण राजधानीबासी समस्या झेल्न बाध्य छन् ।

मरेका पशुचौपायाको समयमै व्यवस्थापन नहुँदा पैदलयात्री मुख थुनेर हिँड्न बाध्य छन् भने सवारीसाधनको आवतजावतमा पनि अवरोध खडा हुने गरेको छ ।

विशेषगरी कलंकी, कालीमाटी, गौशाला, कोटेश्वर, महाराजगञ्ज, चावहिल लगायतका स्थानमा छाडा पशुचौपाया र भुस्याहा कुकुरको समस्या रहेको छ ।

छाडा पशुचौपाया, कुकुरले सडकमा अवरोध सृजना गर्ने, लखेट्ने सडक फोहोर गर्ने समस्या त छँदै छ मरेका पशुचौपाया कयौं समस्यासम्म बीच सडकमै हुने गरेका छन् ।

‘मरेका पशुचौपाया तथा भुस्याहा कुकुरका कारण सडकमा विभिन्न समस्या आइपर्छ,’ जावलाखेलका कमल भारतीले भने, ‘सडकमा जाम हुने मात्र होइन दुर्गन्ध फैलिने र अर्को दुर्घटना हुने सम्मको अवस्था आइलाग्छ ।’

उनका अनुसार कतिपय पशुचौपाया सडकमै मर्छन भने कतिपय अन्यत्र मरेका पशुलाई सडकमै फ्याँकिन्छ । ‘समस्या त यहाँ धेरै हुन्छ नि यहाँ गाडी र यातायातलाई समस्या हुन्छ, दुर्घटना हुन सक्छ,’ उनले थपे ।

सिनो गन्हाउँदा पैदलयात्री नाक थुनेर हिँड्न बाध्य छन् भने साँघुरो सडकका कारण ट्राफिक जामको समस्या भोगेका राजधानीबासीमा झन समस्या थपिएको छ ।

मृत जनावरको व्यवस्थापन छिटो गर्न महानगरपालिकाको ध्यान नगएको स्थानीयको गुनासो छ । कलंकीका टलकबहादुर तामाङ महानगरको ध्यान, मुख्य सडकमा मात्र नभइ भित्री सडकमा पनि जानुपर्नेमा जोड दिन्छन् । ‘महानगरले सक्रिय भएर काम गर्नुपर्यो, उनले भने, ‘कुकुर र पशुचौपायाको दीर्घकालीन समस्याको समाधान खोज्नुपर्छ,’ उनले थपे ।

मरेका पशुचौपायाका कारण ट्राफिक जाम हुने समस्या बढ्दो अवस्थामा रहेको ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले बताउँछन् । ‘मरेका पशुचौपाया बीच बाटोमै हुन्छन् । सडकबाट नहटाउन्जेल जाम त हुन्छ नै दुर्गन्ध फैलिन्छ, उनले भने, ‘गर्मीमा गन्हाएर बसिनसक्नु हुन्छ ।’

हाछेथुका अनुसार सडकमै मरेका भुस्याहा कुकुर ट्राफिक प्रहरी आफैले उठाएर फाल्ने गरेपनि अन्य पशुचौपायाको व्यवस्थापन महानगरपालिकाले गर्ने गरेको छ ।

ललितपुर महानगरपालिका सरसफाइ शाखाका प्रमुख सुरेन्द्र अवाले मरेका पशुचौपायाको ‘भ्याएसम्म’ व्यवस्थापन गरिने गरिएको बताउँछन् । ‘सडकमा पशु मरेको खबर आएमा प्रहरी र वडा कार्यालयको रोहबरमा सार्वजनिक स्थानमा गाड्ने गरिएको छ,’ उनले भने, ‘जनशक्ति अभाव हुँदा कहिलेकाहीँ मरेका छाडा पशुचौपायाको व्यवस्थापनमा ढिलाइ हुन्छ ।’

अवाका अनुसार ललितपुर महानगरमा फोहरमैला व्यवस्थापनका लागि २०५७÷ ०५८ ताका अढाइ सय कर्मचारी रहेपनि हाल आएर कर्मचारी संख्या घटेका छन् । ‘नगर, उपमहानगर हुँदै महानगरमा पुगिसक्यौं, कार्य क्षेत्र बढ्दै गएको छ । १५ किलोमिटर सडकबाट २७ किलोमिटरमा पुगिसकेका छौं,’ शाखा प्रमुख अवालेले भने, ‘तर आवश्यक कर्मचारी र प्रविधि थप्न सकेका छैनौं ।’ मरेका पशुचौपाया व्यवस्थापन गर्ने ठाउँको पनि अभाव रहेको छ ।

साँघुरो बाटो, त्यसैमाथि सवारीसाधनको चाप अनि सडक विस्तारका नाममा खनिएका खाल्डाखुल्डीले धुलो उड्दा समस्या भएको ट्राफिक प्रहरी सुनाउँछन् ।

काठमाडौं महानगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण लिइ लिलाममा बिक्री गर्ने गरेको छ ।

काठमाडौं महानगर नगर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार केही दिन अघि मात्र काठमौडौंका विभिन्न स्थानबाट २९ वटा छाडा पशु नियन्त्रणमा लिइएको थियो ।

‘छाडा पशुचौपायाका कारण सडक दुर्घटना मात्रै बढेको छैन । सडक फोहोरसँगै बोटबिरुवा खाइदिने समस्या रहेको छ,’ उनले भने, ‘ छाडा पशु ट्राफिक जाम हुने समस्याको कारक पनि बन्ने गरेका छन् ।’ उनका अनुसार छाडा छोडिएकामा गाइका बाछीभन्दा बाछा बढी रहेका छन् ।

छाडा पशुचौपायाको समस्या बढ्दै गएपछि महानगरले साप्ताहिक रुपमा लिलामी प्रक्रिया अगाडि बढाउँदै आएको छ । महानगरले नियन्त्रणमा लिएका चौपाया टेकुस्थित कान्जी घरमा राखेर लिलाम गरी बिक्री गर्ने गर्छ ।

‘नियन्त्रणमा लिइएका चौपाया कान्जी घरमा धेरै दिनसम्म राखिँदैन,’ उनले भने, ‘स्थानीय स्वायत्त ऐन २०५५ अनुसार लिलाम प्रक्रियामा जान्छौं । ’ महानगरले गत आर्थिक वर्षमा ५ सय १३ वटा छाडा पशुचौपाया नियन्त्रणमा लिएको तथ्यांक छ ।

ताजा समाचार

सम्बन्धित समाचार