Tuesday, October 22, 2024

प्रकृतिसँग जोडिएको किराँत समुदायको साकेला उभौली

काठमाडौं– किराँत समुदायले प्रकृतिसँग जोडिएको साकेला उभौली पर्व धुमधामका साथ मनाउँदैछन्।

हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर सोमबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाइरहेका छन् ।

पर्वका अवसरमा किराँत, राई यायोक्खाले विभिन्न ठाउँमा सामुहिक रूपमा नाचगान गर्दैछन् । परम्परागत मौलिक भेषभुषामा सजिएकाहरू मात्र नभइए आधुनिक शैली अपनाएकाहरू पनि नाचगानमा भाग लिने गरेका छन् ।

साकेला उभौली किराँत, राई, लिम्बु, याक्खा र सुनुवारको प्रमुख पर्व हो। किराँत समुदायमा अन्नबाली लगाउने समय अर्थात गर्मी मौसम सुरु भएपछि अन्नबाली सप्रियोस् भनेर उभौली पर्व मनाउने प्रचलन छ।

उभौली पर्वका अवसरमा किराँत समुदायका व्यक्तिहरू एकै ठाउँमा जम्मा भइ नाचगान गरेर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गर्छन ।

भोजपुर, खोटाङ, धनकुटालगायतका जिल्लामा मनाइने उभौली पर्व पछिल्ला समयमा काठमाडौं उपत्यकामा पनि मनाउने गरिएको छ ।

प्रत्येक वर्ष चण्डिपूर्णिदेखि यी जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमिको पूजा गरी उभौली पर्व अर्थात भूमि पूजा गरी चण्डी नाच गरी १ महिनासम्म मनाउने गर्छन।

किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष अन्नबाली लगाउने समय बुद्धजयन्ती अर्थात् चण्डिपूर्णीमामा उभौली र अन्नबाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) खुसीयालीका साथ आफ्नो प्रमुख पर्वका रूपमा मनाउन गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायका मानिसले जातीय भेषभुषामा सजिएर ललितपुरको हात्तीवन, नखिपोट, काठमाडौको कीर्तिपुर लगायतका स्थानमा भेला भइ नाचगान गरेर उभौली मनाउने गर्छन । घेरा बनाएर गरिएको नाचगानमा बुढापाकाभन्दा युवायुवती बढी सहभागी हुने चलन बढ्दै गएको छ ।

परापूर्वकालमै सुरु भएको मानिने यो पर्वमा किराँत–राईहरूले पृतिपूजा र प्रकृती पूजा गर्छन् । किराँत–राईहरूले यो पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन्।

उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो पर्व मनाइन्छ । साकेला साकेन्वा उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरु हुन्छ । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो पर्व वसन्त ऋतुमा अन्नबाली सप्रियोस्, सबैमा सुख, शान्ति सुस्वास्थ्य रहोस् र प्राकृतिक विपद् तथा विपत्ति नआओस् भन्ने कामना गरिन्छ ।

किराँतहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेला पर्वमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् । कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् ।

हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ। स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन्।

गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले अन्य जातिका युवायुवतीको सहभागिता पनि बढ्दो छ।

ताजा समाचार

सम्बन्धित समाचार