Tuesday, October 22, 2024

मुख्य नदीको बाढी पूर्वानुमान तीन दिनअघि नै गरिने

काठमाडौं–जल तथा मौसम विज्ञान विभागले बाढीपहिरो जस्ता विपद्बाट हुने जनधनको क्षति न्यूनिकरणका लागि पाँच बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

नेपालमा बाढीपहिरोबाट वर्षेनी सयौंको ज्यान जानुका साथै हजारौं घरपरिवार विस्थापित हुने गर्छन। विभागले ठूला नदीको बाढी पूर्वानुमान तीन दिन अगाडि नै गर्ने तयारी गरेको हो । त्यसका लागि मौसम पूर्वानुमान महाशाखा २४ घण्टा सञ्चालनमा रहनेछ ।

विभागले देशका मुख्य नदीहरू कोसी, गण्डकी, कर्णाली, महाकाली र पश्चिम राप्ती लगायतको बाढी पूर्वानुमान तीन दिन अघि नै गरेर कम्प्युटर विधिको प्रयोग गरी सार्वजनिक गर्ने जनाएको छ।

यसैगरी, विभागले देशभरका विभिन्न नदीनालाको बाढी अनुगमन र पूर्वानुमान गर्न, हिमताल विष्फोट वा अन्य कारणले उत्पन्न हन सक्ने बाढीसमेतको पूर्वसूचना प्रवाह गर्न बाढी पूर्वानुमान महाशाखालाई २४ घण्टा सक्रिय सञ्चालन गर्ने भएको छ।

विभागले मनसुनको समय हरेक दिन विहान र बेलुका ६ बजे बाढीको पूर्वानुमान बुलेटिन जारी गर्ने भएको छ। उक्त पूर्वानुमानको समय कम्तिमा २४ घण्टापछिसम्मको रहने र विशेष अवस्थामा जुनसुकै बेला विशेष बुलेटिन जारी गरिने विभागले जनाएको छ।

मनसुन जुन १० बाट सुरु हुने भएपनि नेपालमा पछिल्लो समय ढिलो गरेर मनसुन सक्रिय हुने गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि प्रि–मनसुन सक्रिय हुँदा मुकलुका विभिन्न स्थानमा असिनासहितको वर्षा हुने गरेको छ।

यसरी हुनेछ पूर्वसूचना प्रवाह
विभागका अनुसार बाढीको बुलेटिन जारी गरिसकेपछि पहिलो जानकारी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई गराइने छ, भने जारी भएको बुलेटिन विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट हाइड्रोलोजी डट जीओभी डट एनपीमा राखिनेछ ।

त्यस्तै, तत्कालै सबै मन्त्रालय, विभाग, रेडक्रस सोसाइटीसँगै विपद्सँग सम्बन्धीत निकायमा जानकारी पठाइने छ भने देशका मुख्य नदीको बाढीबाट प्रभावित हुने सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलमार्फत् मोबाइलमा एसएमएस पठाइनेछ। बाढीको सूचना प्रवाह गर्न ११५५ नम्बरको टोल फ्रि नम्बर मनसुन अवधिभर सञ्चालन हुने विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार