Tuesday, October 22, 2024

८० वर्ष नाघेका रुखहरु धमाधम काटिदै

काठमाडौं – देशका बिभिन्न जिल्लामा ८० वर्ष नाघेका रुखहरु धमाधम काटिदै छ ।

वैज्ञानिक वन ब्यवस्थापन अन्र्तगत पुराना काम नलाग्ने रुखहरु काट्ने कामलाई तिव्रता दिइएको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलका अनुसार काठका लागी प्रयोग हुने साल, सिसौ लगायतका रुखहरु काटेर वनलाई व्यवस्थापन गर्न थालिएको हो ।

‘वैज्ञानिक, प्राविधिक र आर्थिक दृष्टिकोणलाई मध्यनजर गरेर वैज्ञानिक वन ब्यवस्थापनको कार्य अगाडी बढिरहेको छ,’ उनले भने, ‘फर्निचरजन्य काठका लागी प्रयोग हुने साल, सिसौ लगायतका रुख ८० वर्षपछि काटेर त्यही ठाउँमा अर्को नयाँ विरुवा लगाउनुपर्छ ।’ उनका अनुसार यो निती काठ उत्पादन राम्रो हुने वनहरुमा मात्र लागु गरिएको छ । यो सरकारको प्रमुख प्राथमिकता प्राप्त कार्यक्रम हो ।

‘चितवनका जंगलमा ढलेका, बुढा भएका रुखहरुको बेग्लै महत्व छ किनकी त्यहाँका वन्यजन्तुलाई त्यही अनुसारको वासस्थानको आवश्यकता पर्छ,’ उनले भने, ‘अन्य जंगलमा भने यस्ता रुख तथा अनावश्यक बुट्यानले फाइदा गर्दैन् ।’

संरक्षण भएको लामो समय पूरा गरेका रुखहरु त्यत्ति राम्रो नहुनु, फेरी कुहिएर खेर जाने समस्या थपिनु र नयाँ रुख विरुवा उत्पादनमा समेत कठिनाई उत्पन्न हुने पक्षहरुलाई ध्यान दिएर यो कार्यक्रम अगाडी बढाइएको सरकारी अधिकारीहरुको भनाई छ ।

पुराना रुखहरुले अक्सिजन उत्सर्जन गर्न नसक्ने, पहिरो–भुक्षयलाई थेग्न नसक्ने,जतिखेर पनि ढल्न सक्ने, वनको सौन्दर्य विग्रने लगायतका समस्या आउने गर्छ । सुर्खेत, दाङ, बर्दिया, प्यूठान, कैलाली, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी, मोरङ लगायतका जिल्लामा सो कार्यक्रम लागु भइरहेको छ । मोरङमा भने प्रदेश सरकारले यो कार्यक्रम लागु गरेको छ ।

वैज्ञानिक वन ब्यवस्थापन प्रणालीमा विरुवा रोप्ने, हुर्काउने र काट्ने गरि ३ चरण हुन्छन् । विरुवा रोप्ने र हुर्काउने काम चुनौतीपूर्ण छ । पारदर्शिता कायम राख्न विरुवाको वैज्ञानिक अभिलेख सम्बन्धित जिल्ला वन कार्यालयले राख्छ । ‘हामीले तय गर्ने सिस्टम र कार्ययोजना अनु्सार रुख कटानी हुन्छ,’ प्रवक्ता पौडेलले भने ।

ताजा समाचार

सम्बन्धित समाचार