बिजुली र इन्धन बिना पानी तान्ने पम्पको खानेपानीमन्त्रीद्वारा निरीक्षण

काठमाडौँ– खानेपानीमन्त्री बीना मगरले बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिँचाइ तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छन्।

ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधि सञ्चालनमा ल्याइएको छ। नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रालिले पम्पको माध्यमबाट बिना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको छ।

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिए। नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिँचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए । कम्पनीले वर्षा र पापा पम्प नामकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ।

पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटरदेखि १५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए। यस पम्पबाट पानी तानेर सिँचाइ र माछापालन गर्न सकिने उनको भनाइ छ। महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे।

अवलोकनपछि मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताए । यस किसिमको नयाँनयाँ प्रविधिको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने उनको भनाइ थियो । सो अवसरमा मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए।

ताजा समाचार

सम्बन्धित समाचार