काठमाडौँ– बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध छन्।
सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो।
निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ। यो सडकमा पटकपटक हटाउँदा पनि माथिबाट पहिरो आउन नरोकिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए।
उनले भने, “नयाँ सडकमा यस्ता समस्या बढी पाइन्छ ।” ललितपुरको लाँकुरी भञ्ज्याङ–मानेदोभान सडक माथिबाट गएको पहिरोका कारण गत बिहीबार अवरुद्ध भएको थियो। सडक अझै सञ्चालन हुन नसकेको विभागले जनाएको छ।
सातदोबाटो–धापाखेल दुई साता पहिले भासिएको थियो। दुई लेनको सडक अहिले एक लेन सञ्चालनमा छ भने एउटा लेनअवरुद्ध छ। छम्पी–टीका भैरव सडक माथिबाट आएको पहिराकै कारण झण्डै दुई सातादेखि अवरुद्ध रहेको थियो भने हाल सो सडक केही ठाउँमा सञ्चालन र केही ठाउँमा अवरुद्ध रहेको छ।
कर्णाली राजमार्गको काने खोलाले करीब ३० मिटर सडक बगाउँदा त्यहाँको सडक गत १२ गतेदेखि अवरुद्ध छ। त्यस्तै बेंसीशहर मनाङ सडक पनि पहिराकै कारण गत बिहीबारदेखि अवरुद्ध रहेको छ।
लहानको ५४ किमी लम्बाइको मिरचैया कटारी घुर्मी सडक गत महीना २६ गते पहिरोले बगाएको थियो। हाल सो सडकअवरुद्ध रहेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए। सो सडकको नयाँ ट्याक खोल्ने तयारी भइरहेको छ। यातायात सञ्चालन हुन अझै पाँच दिन लाग्ने विभागले जनाएको छ।





