Tuesday, October 22, 2024

वर्षाले पनि रोकिएन सरसफाइ अभियान

शनिबार उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २५९औँ हप्ता शनिबार सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाईलगायत संस्थाका गरी २५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिइन् ।
सफाइमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलगायतका अभियानकर्मीको सहभागिता थियो । वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२०औँ हप्ताको कार्यक्रमअन्तर्गत शनिबार कागेश्वरी मनोहरा नगरपालिकास्थित कोलमतेश्वर महादेव मन्दिर र त्यसअघिको नदी किनारमा सफाइ गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए ।

सफाइमा पुडासैनीमैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर १०० भन्दा बढीको सहभागिता थियो । सफाइमा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख बिन्दु सिम्खडा, विभिन्न विद्यालयका विद्यार्थीको पनि सक्रिय सहभागिता थियो ।

रुद्रमती सफाइको २१४औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए ।
तिलगंगाखण्डको वाग्मती सफाइको १६२औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा घर घरमा गएर जनचेतनामूलक अभियानसमेत गरिएको थियो ।

विष्णुमती सफाइ अभियानको १८६औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजु पुल क्षेत्र सफाइ गरियो । आजको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले जानकारी दिए ।
चक्रपथ सफाइको ५५औँ हप्तामा आज तिलगंगाबाट गौशालासम्म सफाइ गरियो । सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा पनि भत्काइयो । तिलगंगा आँखा केन्द्रले सार्वजनिक जग्गा मिचेर बनाएको टहरा भने आजैदेखि आफैँ भत्काउन शुरु गरेको सफाइ संयोजक लोकबहादुर टण्डनको भनाई छ ।

सफाइ शुरु गर्ने समयमा पानी परे पनि आजको चक्रपथ सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जनाइएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५५औँ हप्तामा मातृशक्ति सफाइ समूहले डष्टबिन व्यवस्थापन, घरदैलो जनचेतनामूलक अभियान सञ्चालन ग¥यो ।

सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक प्रमिला पौडेलले जानकारी दिइन् । चक्रपथ बाफल खण्ड सफाइको ३७औँ हप्तामा सीतापाइलाचोकमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार