Tuesday, October 22, 2024

बढ्दैछ विषादीको डरलाग्दो प्रयोग

खेमा बस्नेत

काठमाडौं – ललितपुर खोकनाकी मायादेवी थापाले (४५) आर्गनीक तरकारी बेच्न थालेको १० वर्ष भयो । उनले सिजन अनुसारको तरकारी बेच्दै आएकी छन् ।

उनीसँगै ललितपुर एकान्तकुनास्थित खरिबोटमा तरकारी बेच्न आउने साथीको तरकारी चाडै विक्री हुन्छ तर मायादेवीले एक डोका तरकारी बेच्न साँझसम्म कुनुपर्छ ।

‘मैले वेच्ने सागहरु चिल्ला छैन । हेर्दा त्यति चमक पनि देखिदैन, पातहरु किराले खाएको हुन्छ’, उनले भनिन् ‘धेरैले राम्रो छैन किरा लागेको भन्दै किन्दैनन् ।’

उनले जता हरियो र चिल्ला तरकारी हुन्छन् ग्राहक उतै आकर्षित हुने गरेको अनुभव सुनाईन् । मायादेवीले घर बनाएपछि वाँकी रहेको सानो जग्गामा तरकारी लगाउदै आएकी छन् । सानै ठाउँमा लगाएको तरकारी उनका लागि राम्रो कमाईको बाटो बनेको छ तर आर्गनीक भन्दा विषादी हालेको तरकारी ग्राहकले बढी किन्ने गरेको उनको अनुभव छ । ‘मैले रासायनिक विषादी नहाली तरकारी लगाउछु’,मायादेवीले भनिन् ‘त्यही भएर मेरो तरकारी कम विक्री हुन्छ ।’

नेपालमा मायादेवी जस्ता आर्गनीक तरकारी खेती गर्ने कृषक कमै मात्र छन् । अधिकांश कृषकहरुले तरकारीमा विषादीको प्रयोग गर्ने गरेको पाइएको छ । बाली संरक्षण निर्देशनालयका अनुसार नेपालमा ८५ प्रतिशत विषादी तरकारी वालीमा प्रयोग हुने गरेको छ ।

अन्य देशको तुलनामा प्रति हेक्टर विषादीको प्रयोग निकै कम (३९६ ग्राम खास विष प्रति हेक्टर प्रति वर्ष) रहे पनि करिव ८५ प्रतिशत भन्दा बढि विषादी तरकारी वालीमा प्रयोग हुने गरेको जनाएको छ । गत वर्षको तथ्यांक अनुसार नेपालमा ५७४ टन खास विष विषादी आयात भएको निर्देशनालयको भनाई छ जसमा कीटनासक १८१ टन, रोगनाशक २४७.४ टन, झारनासक १३४.२ टन र अन्य ११ टन रहेको छ ।

विषादी आयातमा करिब ६९ करोड रुपैयाँ गत वर्ष खर्च भएको छ । सन् १९५२ मा मलेरिया रोग नियन्त्रणको लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रति वर्ष वढदै गएको निर्देशनालयका सुचना अधिकारी तथा बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए ।

विश्वमा प्रत्येक वर्ष ४ करोड मानिसलाई विषादीको प्रयोगले कुनै न कुनै रुपमा असर गर्ने अनुमान गरिएको छ । विश्वमा विषादीकै कारणले वार्षिक करिव ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गर्छ ।

विषादीको प्रयोगले विषादीको कारोवारमा संलग्न व्यक्ति र कृषकहरुलाई असर गर्ने गर्दछ । विशेषगरी यसको असर महिला र केटाकेटीहरुमा बढी पर्ने गरेको गरेको सुचना अधिकारी सुवेदीले जानकारी दिए ।

विषादीको असरको तात्कालिक लक्षणहरु मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टी कमजोर लगायतका हुन भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्यूमर, नपुंसकता, वाझोपन, विकृत वच्चाको जन्म, शरीरका विभिन्न अगंहरुमा असर, नशा सम्वन्धी समस्या देखापर्ने उनको भनाई छ ।

तरकारीमा प्रयोग भैरहेको खतरनाक विषादीहरु मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको निर्देशनालयको भनाई छ । सुवेदीका अनुसार विषादीको वढी प्रयोगले कृषि उत्पादनमा हृास तथा कृषि पर्यावरणमा असर गर्ने गर्दछ । ओजनतहको विनासमा विषादीको भार ६ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार