Tuesday, October 22, 2024

के– के छन आजका दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

आजका दैनिक पत्रपत्रिकाले वातावरणसँग सम्वन्धीत खबरहरुलाई त्यति प्राथमिकता दिएका छैनन् ।

नागरिक र अन्नपूर्ण पोष्टले केही वातावरणीय मुद्दा उठाएपनि अरु पत्रिकामा वातावरणका समाचारहरु एकदमै कम छन् । नागरिक दैनिकमा ‘औलो निवारणमा जलवायु परिवर्तन चुनौती’ शिर्षकको समाचार प्रकाशित भएको छ ।

तापक्रम बृद्धिले उच्च हिमाली जिल्लामा समेत औलोका बिरामी भेटिन थालेकाले सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने सरकारी लक्ष्यमा चुनौती थपिएको सो समाचारमा उल्लेख छ । औलो रोग यस रोगका किटाणुबाट संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्छ । यो वर्ष मुगुमा ६५ जना र बाजुरामा ४६ जना विरामी भेटिएका थिए ।

‘ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया सुरु’ शिर्षकमा म्याग्दीको खबर नागरिकले छापेको छ । जलजला गाँउपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया सुरु गरेको समाचारमा उल्लेख छ ।

‘सप्तरीमा हात्ती आतंक दुई महिनामा तीन महिलाको मृत्यु’ शिर्षकमा राजविराजबाट जितेन्द्रकुमार झाले लेखेको समाचार पनि नागरिक दैनिकले प्रकाशित गरेको छ । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रसँगै जोडिएर रहेको सप्तरीको पुर्वोत्तर ग्रामिण भेगमा जंगली हात्तिको आतंकले सर्वसाधारण आतंकित भएका छन् । हात्तिको आक्रमण हुने डरले उनीहरु रातभर जाग्राम पनि बस्ने गरेका छन् । गत सोमबार मध्यराती घर नै भत्काएर हात्तिले कञ्चनरुप नगरपालिका –११ की ४० वर्षीया दुर्गादेवी यादवको ज्यान गएको हो । यसअघि गत फागुनमा घरबाट गुँइठा संकलन गर्न खेतमा गएका २ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

नयाँ पत्रिकामा ‘डिपबोरिङमार्फत खानेपानी’ शिर्षकको खबर केदार लाफाले लेखेका छन् । सुख्खाग्रस्त क्षेत्रका रुपमा चिनिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा डिपबोरिङमार्फत खानेपानीको ब्यवस्था गरिएको खबरमा उल्लेख गरिएको छ । ‘भैँसीको प्रजनन क्षमता बढाउने प्रविधिको विकास’ शिर्षकको समाचार दीपेन्द्र अधिकारीले चितवनबाट लेखेको खबर छ । हिउँद बाहेक अन्य समयमा मात्र ब्याउने भैँसी अब हिउँदमा पनि ब्याउने भएको कुरा समाचारमा उल्लेख छ । यस्तै ‘अलैँचीको बिरुवामा ढुसी’ शिर्षकको लमजुङबाट शान्ता कमलीको खबर पनि नयाँ पत्रिकामा छ ।

अन्नपूर्ण पोष्टमा ‘पूर्वी नेपाल भूकम्प उच्च जोखिममा’ शिर्षकको समाचार नितु घलेले लेखेकी छन् । खबरमा भनिएको छ – ०७२ बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरुको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वी भागमा भूकम्पीय जोखीम उच्च देखीएको छ ।

त्रिचन्द्र क्याम्पसका भुगभर्गशास्त्र विभागका डाक्टर दीपक चम्लागाईले चार महिना पहिले मात्रै यो तथ्य फेला पारेको जानकारी दिएका हुन् । त्यसैगरी राजधानी दैनिकमा ‘कर्णाली रोजगारको काममा डोजर परिचालन’ शिर्षकको समाचार कालिकोटबाट प्रेमराज सिंखडाले लेखेका छन् । कान्तिपुर दैनिकर्मा रसायनमुक्त प्रदेशको सपना’ शिर्षकमा चन्द्रकिशोरले विचार लेखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार