‘काफल चरी गाँउछे वनमा रमाई–रमाई, कुक्कु कुक्कु, पंछी भर्भराउँछे डाली समाई समाई’ । रेशराज आचार्यको चलचित्र धर्म संकटमा गायिका देवीका प्रधानले गाएको गीत सुन्दा जो कसैलाई पनि बैशाख– जेठमा पाइने काफल अनि त्यही बेला हाम्रो गाँउघरमा पाइने कोइली चराको आवाज याद आउँछ ।
तर पछिल्लो समयमा कोइलीको सुरीलो स्वर दुर्लभ हुन थालेको छ । ‘आज भन्दा ५०–६० वर्ष पहिले कोइलीले काफल पाक्यो आवाज धेरै सुन्न पाइन्थ्यो,’ गोदावरीकी ८० वर्षीय भगवती उपाध्यायले भनिन् । उनले थपिन,‘ अहिले त घरहरु पनि बढे , बनजंगल घटे चरा देख्न त परै जाओस् आवाज पनि कठिन हुन थाल्यो ।’ उनले यदाकदा विहानको समयमा कोइलीको आवाज सुन्ने गरेको वताइन् । ललितपुर लेलेका कृष्ण खत्रीले पनि अहिले वनमा काफल र कोइलीको आवाज दुवै दुर्लभ भएको वताए । यसका पछाडी विभिन्न कारणहरु रहेका छन् ।
पंछीवीद डा हेमसागर बरालका अनुसार कोइलीको लागि आबश्यक पर्ने आहारको कमी, वनजंगल फडानी र डढेलोका कारण कोइलीको संख्या घट्दै गएको हो । ‘कोइलीका लागी आवश्यक हावापानीमा आएको परिवर्तन र आहारको कमी लगायतका कारणले कोइलीको संख्या घटेको अनुमान गरिएको छ,’उनले भने ।
सन् २०१६ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको एक अध्ययन अनुसार कोइली चरा घटेको देखिएपनि संकटको सूचीमा भने परिसकेको छैन् । नेपालमा १७–१८ प्रजातीका कोइली चरा पाइने डा बराल बताउँछन् । कोइली अन्र्तगत रैथाने कुकु , काफल पाक्यो , कुहु , कुकु ,भारक , पुर्वीय , सानो कोइली लगायतका कोइली नेपालमा पाइन्छ । पछिल्लो समयमा गृष्म आगन्तुक चराहरु नेपालमा आइरहँदा केही कोइली प्रजातीका चराहरु पनि नेपालमा आएका छन् । ग्रीष्मकालको प्रवासी चरा जुरे कोइली अफ्रिका महादेशबाट करिब पाँच हजार किलोमिटर लामो दूरी पार गर्दै नेपाल भित्रिन्छ ।