Monday, October 21, 2024

सिन्धुपाल्चोमा क्रसर उद्योगको मनपरी

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसर उद्योगले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो ।

स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले जानकारी दिए ।

गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । इन्द्रावती नदी किनारमा क्रसरले बनाएका असंख्य खाल्डामध्येको एउटामा बालकको मृत्यु भएको स्थानीयले बताए । घटनापछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । शव परीक्षणको लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मेलम्चीको इन्द्रावती नदी किनारमा आधा दर्जन क्रसर रहेकामध्ये कुनै पनि मापदण्डभित्र पर्दैनन् । नेपाल सरकारले क्रसर सञ्चालनको लागि राजमार्गबाट ५०० मिटर टाढा, खोला किनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापडण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापडण्ड विपरीत निर्वाधरुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन् । वन तथा राजमार्ग तथा नदी किनारमा जोडेरै क्रसर सञ्चालन गर्दा पनि सिन्धुपाल्चोक घरेलु उद्योगले सञ्चालनको लागि स्वीकृति दिएको छ ।

नदी किनारमा असंख्य खाल्डा

नियमविपरीत नदीमा सिधै स्काभेटर प्रयोग गरी असंख्य खाल्डो बनाएको देख्दा पनि स्थानीय सरकारले अनुगमन नगर्नु तथा कारबाही अगाडि नबढाउनुले पनि मोटो रकम लिने गरेको स्थानीयले आरोप लागाएका छन् । स्थानीय सञ्चारकर्मीले पटकपटक अवैध उत्खनन भएको जानकारी गराउँदासमेत मेलम्ची नगरपालिकाले कुनै चासो दिएका छैन् । इन्द्रावती नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ । यसअघि पनि क्रसरले बनाएको खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् । पाल्चोकी क्रसरदेखि लामा क्रसरसम्मले नदीको धार नै परिर्वतन गरी उत्खनन गर्ने गरेका छन् । स्वतन्त्र रुपमा बगेको नदीको धार परिर्वतन गरी नदीजन्य पदार्थ झिक्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेको कृषकको गुनासो छ ।

अनुगमन नै गर्दैनन् स्थानीय सरकार

मेलम्ची नगरपालिकाले मापदण्डविपरीत क्रसर सन्चालन गरेको पाइएमा अनुगमन गरी कारबाही गर्न समिति गठन गरेको भए पनि अहिलेसम्म अनुगमन गरेको छैन । अवैधरुपमा क्रसरले उत्खनन र तोकिएको नियमविपरीत सिधै नदीमा स्काभेटर प्रयोग गर्दै आएको भए पनि स्थानीय सरकारले अहिलेसम्म क्रसर व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । पटकपटक नगरपालिकालाई जानकारी गराउँदा पनि अनुगमन गर्ने भन्दै टार्ने गरेका छन् ।

सिँचाइमा समस्या

नदीमा सिधै स्काभेटर प्रयोग गरिँदा नदी गहिरिएर सिँचाइका लागि बनाएका कुलोमा समेत पानी नचढ्ने भएको कृषक भीम माझीले गुनासो गरेका छन् । क्रसरले नदीमा बनाएको खाल्डोले नदी गहिरिएर पानी नचढेपछि धान रोपाइँ गर्न समस्या भएको बताए । उनले धेरै पटक नदी गहिरिएर सिँचाइको ठूलो समस्या भएको बताउँदा पनि नगरपालिकाले चासो नदिएकोमा दुखेसो पोखे । कुलोमा पानी नउक्लिने बताउँदै उनले पहिलेको तुलनामा यस वर्ष धान उत्पादनमा समेत कमी हुनेमा कुनै दुविधा नरहेको बताए ।

समन्वय समितिको चासो

केही समय अघिमात्रै अवैध क्रसर सञ्चालन तथा उत्खनन् भए नभएको अनुगमनका साथै कारबाही गर्न निर्देशन गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए । उहाँले भन्नुभयो — नियमविपरीत क्रसर सञ्चालन हुनु र नदीजन्य पदार्थ उत्खनन गरी वातावरणमा प्रदूषण बढाउने कार्य गरेमा तुरुन्तै कानूनी दायरामा ल्याएर कारबाही गर्ने तथा आफ्ूले समेत अनुगमनका लागि निर्देशन दिएको उनले वताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार