Sunday, October 20, 2024

कस्तो धुलो उडेको !

-खेमा बस्नेत-

‘कस्तो धुलो उडेको ! दिक्क लाग्यो । मलाई बस्नै मन छैन यो धुलो उड्ने ठाउँमा ।’ यो आवाज थियो हेटौडाकी चार वर्षीया बालिका आरोही अधिकारीको ।

नयाँ वर्ष मनाउन आफ्नो फुफु दिदिसँग काठमाडौंको बौद्ध गुम्बा घुम्न आएकी आरोहीले धुलोले सास फेर्न गाह्रो भएपछि आफ्नो दिदिसँग गुनासो पोखिन । आरोहीजस्तै धेरै मानिस बौद्ध स्तुपा बाहिर बस पर्खिरहेका थिए । आरोहीलाईजस्तै सबैलाई धुलोले सताईरहेको थियो । तर, आरोही बाहेक अरुलाई धुलोे पचाउने बानी परीसकेको थियो ।

बौद्ध अगाडी नयाँ वर्ष मनाउन आएका मानिसहरुको भिड थियो । त्यो भिड नै नदेखिने गरी बस,मोटरसाईल लगायतका सवारी साधनहरुका कारण सडकमा धुलो उडिरहेको थियो । धुलोको सास्ती बस पर्खिरहेका मानिसहरुले भोगिरहेका थिए । ‘हामीहरुलाई त सास फेर्न कस्तो गाह्रो भएको छ । अझ आरोहीजस्ता साना बच्चाहरु माक्स समेत लगाउन मान्दैन्’,आरोहीकी दिदिले भनिन् ‘एकछिन उभिएको शरीरभरी धुलोमात्र टाँसिएको छ ।’


तस्वीरहरु: अमिष रेग्मी

बौद्धदेखि नयाँ बानेश्वरसम्म बसको यात्रामा आरोहीले धुलोले दिक्क बनाएको भन्दै गुनासो मात्र गरिन् । ‘कस्तो धुँलो मेरो मुख र नाकमा पनि छि¥यो हेर्नुहोस् न राधा दिदि’,आरोहीले भनिन् । सानी आरोहीकोे यस्तो कुरा सुनेर बसमा बसिरहेका एक जना बृद्धाले भने‘हामीले वर्षौदेखि धुलो खादै आएका छौं । आशा गरौं यो नयाँ वर्षदेखि यी कलिला नानीहरुले धुलो खाना नपरोस् ।’

अहिले काठमाडौंबासी वा यहाँ आउने आन्तरीक तथा वाह्य पर्यटकले काठमाडौंलाई धुलमाण्डुको उपनाम दिने गर्दछन् । सडक विस्तार, ढल सुधार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडानका लागि पछिल्लो समय गरिएको उत्खननले काठमाडौंलाई बढी प्रदूषित बनाईरहेको छ । त्यसमाथि सडक किनारमा यत्रतत्र वालुवा, सिमेन्ट लगायतका निर्माण सामाग्री थुपार्ने कार्यले पनि प्रदुषण वढाईरहेको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवर बाटो खन्ने,खानेपानीको पाइप विछ्याउने,पेटी बनाउने जस्ता विकासका काम गर्न संस्थाले आपसमा समन्वय नगर्दा धुलो वढेको वताउँछन् ।

‘एक ठाउँमा बाटो खन्ने काम सकेपछि त्यही ठाउँमा फेरी बाटो खनेर पानीको पाइप बिछ्याउने, ढल विस्तार गर्दा पुन त्यही ठाउँमा बाटो खनिन्छ जसले गर्दा धुलो बढी भएको हो’,प्रमुख कुँवरले भने । बाटो,ढल निकास तथा खानेपानीको पाइप विछाउने काम चाँडो भन्दा चाडोे सम्पन्न गर्न विभागले सम्वन्धीत निकायलाई ताकेता गरिरहेको छ । सन् २०१६ मा ग्लोबल बर्डेन अफ डिजिजले नेपालमा गरेको अनुसन्धान प्रतिवेदनले प्रत्येक वर्ष वायू प्रदूषणका कारणले हजारौ मानिसले अकालमै ज्यान गुमाउने गरेको देखाएको थियो ।

नेपालमा मात्रै प्रत्येक वर्ष ३५ हजार मानिसको ज्यान गईरहेको र मृत्यु हुनेको संख्या प्रत्येक वर्ष दुईदेखि तीन हजारको दरले बृद्धि भैरहेको जर्मनीस्थित इन्स्टिच्यूट अफ एडभान्स्ड सस्टेनेबिलिटी स्टडिज (आईएएसएस) नामक संस्थाको वैज्ञानिक परियोजनाका नेतृत्वकर्ता डा. महेश्वर रुपाखेतीले हाकाहाकीलाई वताए । खराब हावाका कारण मानिसमा विभिन्न रोगहरु लाग्ने र त्यस्ता रोगका कारण प्रत्येक वर्ष नेपालमा ३५ हजारभन्दा बढी र विश्वमा ७० लाख मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको प्रदूषित सूचिमा नेपाल २६८ औ स्थानमा छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार