Tuesday, October 1, 2024

पाँच वर्षभित्र सातवटै प्रदेशमा प्रदूषण परीक्षण प्रयोगशाला

काठमाडाैं–आगामी पाँच वर्षमा मुलुकका सातवटै प्रदेशमा वातावरण प्रदूषण प्रयोगशाला स्थापनाको लक्ष्य लिइएको छ।

विश्व स्वास्थ्य सङ्गठनको हालैको प्रतिवेदन अनुसार प्रदूषणका कारण नेपालमा वर्षेनी ३५ हजारको ज्यान जाने गरेकोमा राष्ट्रिय योजना आयोगको पन्ध्रौँ  पञ्चवर्षीय योजना -आर्थिक वर्ष २०७५–०७६ देखि ०८०–८१ ) काे मस्यौदामा प्रदूषणमुक्त र स्वच्छ वातावरण समेटिएको छ।

हाल प्रदेश स्तरमा प्रदूषण प्रयोगशाला नभएको अवस्थामा आयोगले तयार पारेको मस्यौदामा ७ वटै प्रदेशमा स्थापना गर्ने उल्लेख छ। यसले वातावरण संरक्षणका लागि राष्ट्रिय मापदण्ड तयार भइ नागरिकले अनुभूत गर्न सक्ने गरी सबै प्रकारको प्रदूषण रोकथाम र नियन्त्रणमा उपलब्धि हासिल हुने विश्वास लिइएको छ।

विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर मापदण्ड अनुसार २४ घण्टामा प्रतिक्युबिक मिटर हावामा खतरनाक पीएम २=५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन।

३ सय माइक्रोग्राम पर क्युबिक मिटरभन्दा माथिको वायुको गुणस्तरलाई धेरै खराब मानिन्छ, भने ४ सय या त्योभन्दा माथिलाई गम्भीर मानिन्छ। नेपालमा हाल वायुको गुणस्तर औसतमा ५३ माइक्रोग्राम पर क्युबिक मिटर रहेको छ, यद्यपि काठमाडौंमा प्रदूषणको दर ८० देखि १०० सम्म पुग्ने गर्छ। तर, २०८०–०८१ मा प्रदूषणको गुणस्तर ४० मा झार्ने लक्ष्य लिइएको मस्यौदामा उल्लेख छ।

यसैगरी, आयोगले तयार पारेको पञ्चवर्षीय योजनामा आगामी पाँच वर्षभित्र ३० वटा स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना हुने लक्ष्य राखेको छ। हाल काठमाडौँ उपत्यकामा सात र बाहिर पाँच गरी १३ स्थानमा वायु गुणस्तर मापन केन्द्र छन्।

तर, तीमध्ये कतिपय मापन केन्द्र बिग्रिएका छन्। जस्तो कि त्रिभुवन विश्वविद्यालय हातामा रहेको वायु गुणस्तर मापन केन्द्रको उपकरण २०७४ को दशैँताका चोरी भएपछि उक्त केन्द्र हालसम्म सञ्चालनमा आउन सकेको छैन।

वातावरणविद्हरुका अनुसार हरियालीले पनि वातावरण प्रदूषण न्यूनीकरणमा मद्दत पु¥याउछ। बोटविरुवाले कार्बनडाइअक्साइड ग्यास सोसेर अक्सिजन फ्याँक्ने गर्छ। तर, मुलुकका १ सय ३५ स्थानीय तह वनविहीन छन्।

योजना आयोगले आगामी पाँच वर्षमा वन उद्यान स्थापना हुने र कम्तिमा ५ प्रतिशत हरियाली बढ्ने प्रक्षेपण गरेको छ। योसँगै ७ सय ५३ वटै स्थानीय तहमा फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापना हुने र जोखिमजन्य फोहोर व्यवस्थापनका लागि ठूला औद्योगिक प्रतिष्ठान, अस्पतालमा भस्मिकरण प्लान्ट स्थापना हुने अपेक्षा राखेको छ।

वातावरणतर्फकाे पञ्चवर्षीय लक्ष्य यस्ताे छ

ताजा समाचार

सम्बन्धित समाचार