Friday, November 22, 2024

यसरी जोगाइयो पानीको मुहान

डडेल्धुरा–भित्री मधेसमा पर्ने आलिताल गाउँपालिका–८ डोलाकोठ गाउँमा मगर समुदायको बसोबास छ। १४ घरपरिवार रहेको यो गाउँ सदियौंदेखि कृषिमा निर्भर छ, तर पहिले खानेपानीको समस्या थिएन।

‘म सानो छँदा यहाँ पानी नै पानी थियो। चैत–वैशाखमा पनि खानेपानीको समस्या हुँदैनथ्यो,’ विगत सम्झदै उर्मिला घर्ती मगर भन्छिन्,‘अहिले पानीका मुहान सुक्न थालेपछि संरक्षणको प्रयास थालेका छौं।’

वन विनास, अव्यवस्थित विकास लगायत मानवीय कारणले पानीका मुहान सक्न थालेको थाहा पाएपछि यहाँका बासिन्दाले एउटा उपाय अपनाएका छन्–पानीका मुहानभन्दा माथिल्लो भेगमा घासदाउरा र चरिचरन बन्द।

प्रतिमान घर्तीमगरका अनुसार मुहानका माथिल्लो क्षेत्रमा घासदाउरासँगै चरिचन बन्द गरेपछि पानी पुनर्भरणका लागि रिर्चाज पोखरी बनाइएको छ, भने आइब्रो र बाँधको प्रयोग गरिएको छ। ‘खाली क्षेत्रमा रुखविरुवा पनि लगाएका छौं,’ उनले भने। भूमिगत पानीको स्रोत घट्दै गएको थाहा पाएका यहाँका बासिन्दाले बर्खाको पानीको समेत सदुपयोग गरेका छन् रिचार्ज पोखरीमार्फत्।

रिचार्ज पोखरी भनेको वर्षाको पानी जम्मा हुने गरी बनाइएका ससाना खाल्डा हुन्, भने आइब्रो भनेको पनि आँखीभाैं जस्तै आकारमा तयार गरिएका खाल्डा। यस्ता खाल्डा पानीको मुहानभन्दा माथिको भागमा बनाइन्छ। यसले गर्दा वर्षाको पानी जमिनभित्र जान पाउँछ र मुहानमा पानी जम्मा हुन सहयोग पुग्छ। ‘हामीले चेक ड्याम बनायौं वृक्षरोपण गर्यौ। अहिले त पहिले जस्तो समस्या छैन। मुहानमा पानी बढेको छ,’ थमनबहादुर थापाले भने।

यस्तो अभ्यासले भने जस्तो नतिजा दिइरहेको छ। मुहानमा पानीको मात्रा बढ्दै गएको स्थानीयको अनुभव छ।  ‘वर्षाको पानी खाल्डोमा जम्मा हुन्छ। अनी जमिनले सोसे पछी मुहानमा पानी बढ्छ भनेर भनेका छन्,’ गणेश घर्ती मगरले भने, ‘यो वर्ष त मुहानमा पानी अलि बढेको छ।’

यो डोलाकोटका १४ परिवारले पानीखाने एक मात्रै मुहान हो। मुहानको वरीपरी सिस्नो समेत रोपिएको छ। मुहान भन्दामाथि बाँसको बार लगाएर बाँध बनाइएको छ।

जलाधार व्यवस्थापन विज्ञ गोपालहरी शर्मा मानवीय क्रियाकलाप, वनजंगल फडानी, जनसंख्या वृद्धि, अव्यवस्थित विकास जस्ता कारणले मुहान सुक्ने गरेको पाइएको बताउँछन्। जलवायु परिवर्तन पनि एउटा असरको रुपमा देखिन थालेको उनको भनाइ छ।

आलिताल गाउँपालिकाका अध्यक्ष कुलबहादुर गुरूङ पानीको मुहान संरक्षण गरी सबैलाई खानेपानीको पहुँचमा पुर्याउन योजना बनाइएको बताउँछन्। ‘हामीले संरक्षणसम्बन्धि नीति नै बनाइरहेका छौँ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार