Friday, September 20, 2024

पानीका मुहान संरक्षणमा चुरे गाउँपालिका अग्रसर

कैलाली– खानेपानीको संकट भोगिरहेको कैलालीको चुरे गाउँपालिकाले पानीका मुहान संरक्षणलाई प्राथमिकता दिएको छ।

जलवायु परिवर्तन, वनजंगल फडानी, आगलागी, अव्यवस्थित रुपमा ग्रामीण सडक निर्माण लगायतका कारण पानीका मुहान सुक्दै जान थालेपछि चुरेमा खानेपानीको संकट देखिन थालेको हो। पानीको संकटलाई टार्न चुरे गाउँपालिकाले आफ्ना वडामा पानीका मुहान संरक्षण गर्ने, वृक्षरोपण गर्ने, रिचार्ज पोखरी निर्माण गर्ने, कृतिम ताल र पोखरी निर्माण गर्ने र लिफ्टा प्रविधिमार्फत् खानेपानी पुर्याउने लगायत गतिविधि गरिरहेको छ।

चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाडाको लिफ्टा खानेपानी आयोजना।

जनसंख्या वृद्धिका कारण वनजंगल विनास गरेर बस्ती विस्तार गर्ने क्रम बढेपछि पानीका मुहान सुकेका छन्, भने जलचर, थलचरसँगै मानिसलाई समेत पानीको संकट बढेको हो।

चुरे गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँदले ग्रामीण सडक निर्माण गर्दा प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (आईईई) गरेर मात्रै निर्माण गर्ने निर्णय भइसकेको र अब निर्णय कार्यान्वयनमा कडाइ गरिने बताइन्। त्यस्तै, प्रत्येक वर्षायाममा वडा र सामुदायिक वनको सहकार्यमा वृक्षरोपण भइरहेकोे, पानीको मुहान संरक्षणका लागि तारबार गर्ने कामसँगै खुला चरिचरन र वनजंगल डढेलो रोक्न सचेतनामूलक कार्यक्रम भइरहेको उनले जनाइन्। ‘ती समस्या समाधानका लागि सबै वडामा वडा कार्यालयमार्फत् संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भइरहेकोे छ,’ उपाध्यक्ष साउँदले भनिन्।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ३१ भदौमा चुरे गाउँपालिकामा सुख्खापन र पानीका मुहान संरक्षणसम्बन्धी पानी छलफल गरेको थियो। उक्त छलफलबाट भएका उपलब्धीका विषयमा स्थलगत अवलोकनमा जाँदा नेफेजको समूहले पानीका मुहान संरक्षणका कामहरू भैरहेको पाएको हो। प्रत्येक वडामा सुख्खापनलाई हटाउनका लागि वडामा कृत्रिम ताल, पोखरी बनाउने कार्य, मुहानको वरिपरी तारबार गर्ने, वृक्षरोपण गर्ने र त्यसको संरक्षण गर्ने र भएका मुहानलाई सदुपयोग गरी लिफ्टा खानेपानी प्रविधिको उपयोग गरिएकोे छ।

गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा लिफ्टा प्रविधिको उपयोग गरी खानेपानीको समस्या समाधान गरिरहेका छन्। वडा नम्बर ३ का वडाध्यक्ष टेकबहादुर शाहले सुुख्खापन र पानीको मुहान संरक्षणसँगसँगै खानेपानीको समस्या समाधान गर्न विभिन्न कार्यक्रम भइरहेको बताए।

‘पानीको मुहान संरक्षणका लागि वडा नम्बर ३ मा ३ ओटा रिचार्ज पोखरी निर्माण गर्ने हाम्रो लक्ष्य छ। जस अनुसार गत वर्ष सल्लेनिमा रिचार्ज पोखरी निर्माण गरिसकेको छौं’ उनले भने, ‘यस वर्ष २ वटा पोखरी निर्माण गर्ने योजना अनुरुप एउटा सहजपुरदेखिमाथि ठाकुरडाँडामा सम्पन्न भैसकेको छ, अर्को ग्वासीधुरामा बनाउन समिति गठन भई काम सुरु गर्दैछौं।’

चुरे गाउँपालिकामा बस्तीसम्म खानेपानी पुर्याउन प्रयाेग भएकाे पाइप।

उनले आफ्नो वडामा वन वातावरण शीर्षकमा एक लाख रुपैयाँ बजेटमार्फत् सालघारी सामुदायिक वनमा वृक्षरोपण गरिएको, गत वर्षको अधुरो कार्यक्रम लिफ्टा प्रविधिबाट खानेपानी योजनामार्फत् सहजपुरबजार माथिबाट वडाको २० लाख बजेटबाट ८० हजार लिटरको ट्यांकी निर्माण गरेको र बाँकी पाइपलाइनका लागि बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सोलारपाताका र मिटरका लागि सम्झौताका लागि पहल भैरहेको छ बताए। यस वर्ष प्रदेश सरकारबाट २० लाख रुपैंया बजेट बिनियोजित भएकोले वडा नम्बर ३ मा पानीको समस्या टार्न काम भइरहेको समेत उनले जनाए।

त्यस्तै, वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराले आफूहरुले वातावरणमैत्री विकास निर्माणका लागि गाउँकार्यपालिकाले निर्णय गरेर कार्य गरिरहेको बताए। ‘हामीले वडा नम्बर १ का प्रत्येक उपभोक्ता समितिलाई पानीका मुहान संरक्षण गर्न वृक्षरोपण गर्नुपर्ने, खुला चरिचरण रोक्ने लगायतका विषयमा सामूहिक छलफल गने गरेका छौं।,’ उनले भने।

बस्ती माथिल्लो क्षेत्रमा र मुहान तल्लो भेगमा भएकाले खानेपानीको समस्या टार्न लिफ्टा प्रविधि अपनाउन सक्ने सम्भावना प्रशस्त भएको उनले बताए। तर, बजेट अभावका कारणले उक्त कार्य गर्न नसकिएको भन्दै वडा र गाउँपालिकाको बजेटले मात्रै नपुग्ने भएकाले प्रदेश र संघले सहयोगका लागि पहल गरिरहेको बोहराले वडा अध्यक्ष बताए।
गाउँपालिकाको वडा नम्बर ५ मा पनि मुहान संरक्षणको काम भएको छ।

वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर तामाङले मुहान संरक्षणका लागि खुला चरिचरना रोकिएको बताए। उनले चुरेको फेद भएकाले कम्पासे धुरालाई संरक्षण गर्नका लागि जनचेतनामूलक अन्तक्र्रिया कार्यक्रम वडास्तरबाट भैरहेको बताउँदै ३ वटा रिचार्ज पोखरी समेत निर्माण गरिएको जानकारी दिए।

‘सुकिसकेको मुहान संरक्षण गरी सोही मुहानबाट अहिले ३०÷३५ घरधुरीले पानी खाइरहेको छन्। भासुगाउँ र निगलाडीमा ३ लाख रुपैयाँ बिनियोजन गरी लिफ्टा खानेपानी प्रविधि अपनाई ट्यांकी निर्माण सकिएको छ,’ उनले भने। अब खानेपानी वितरणका लागि पाइप, सोलार लगायतको आवश्यकता रहेकाले खानेपानीका क्षेत्रमा काम गर्ने संघसंस्थासँग समन्व गर्ने र प्रदेश सरकारसँग रकम माग गरिने वडा अध्यक्ष तामाङले उल्लेख गरे ।

वडा नम्बर ६ मा लिफ्टा खानेपानी प्रविधि गाउँमा आएपछि ३–४ घण्टा टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता हटेको फल्टुडेकी हेमुकुमारी घर्तीमगरले बताइन्। ‘पहिले हामीलाई निकै सास्ती थियो, केही महिना भयो घरमै पानी आउँछ हामी खुसी छौं,’ उनले भनिन्।

हेमु मात्र उनी मात्र र्होन लिफ्टा खानेपानी प्रविधिका कारण यहाँका १ सय ८५ घरपरिवारले राहत अनुभूति गरेका छन्। वडा नम्बर ६ का वडाध्यक्ष प्रेमबहादुर साउँद खोल्सा र मुलबाट पानी पिउने बाध्यतालाई हटाउँदै ‘एक घर, एक धारा’ सहित आफूहरुले काम गरिरहेको बताए।


चुरे गाउँपालिका वडा नम्बर ६ को लिफ्टा सोलार।

गाउँपालिकासँगको समन्वय तथा खानेपानीको क्षेत्रमा काम गरिरहेको आभिडब्लुआरएमपीले वडा नम्बर ६ मा काम गरिरहेको उनले जानकारी दिए। वडाध्यक्ष साउँदले भने, ‘वडा नम्बर ६ मा फल्डुटे लिफ्टा खानेपानी योजना लामो समयको प्रयास पश्चात सफल भएको र केही काम गर्न बाँकी छ, लिफ्टको काम करीब सकियो।

अब वितरण गर्ने कार्य धमाधम भैरहेको छ त्यसका लागि प्रदेश र केन्द्र सरकारले रकम सहयोग गरेको छ।’ साढे ८ सय घरधुरी रहेको वडा नम्बर ६ मा १ सय ८५ घरधुरीलाई उक्त लिफ्टा खानेपानी योजनाले पुग्ने उनको भनाइ छ।

माग अनुसार मुहानको वरिवरि तारबार गर्ने, सरसफाइ गर्ने लगायतका संरक्षणका काम भैरहेको र ढुंगाना भन्ने स्थानमा कृत्रिम पोखरी निर्माण गरिएको उनले बताए। जसले गर्दा तरकारी बारी सिंचाइ गर्न सहज भएको स्थानीय बताउँछन्। यस वर्ष पनि रिचार्ज पोखरी निर्माणका लागि भूःसंरक्षणसँग समन्वय गरिरहेको वडाध्यक्ष साउँदले बताए।

नेफेजले अघिल्लो भदौ महिनामा गरेको पानी छलफलको उपलब्धीका विषयमा पुनः फागुन २६ गते फलोअप छलफल गरेको थियो। जसमा अघिल्ला प्रतिवद्धता पूरा गर्ने, केही वडामा रहेको खुला चरिचरण रोक्ने र जलीय जैविक विविधता संरक्षण सम्बन्धी नीति निर्माण गर्ने रहेका छन्।

सम्बन्धित समाचार : जलीय जैविक विविधता संरक्षण सम्बन्धी नीति लागू गरिने

ताजा समाचार

सम्बन्धित समाचार