Friday, September 20, 2024

जलीय जैविक विविधता संरक्षण सम्बन्धी नीति लागू गरिने

धनगढी–कैलालीको चुरे गाउँपालिकाले पानी परियोजनासँग समन्वय गरी जलीय जैविक विविधता संरक्षण सम्बन्धी नीति निर्माण गरी अघि बढ्ने जनाएको छ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आयोजना गरेको पानी छलफल कार्यक्रममा जलीय जैविक विविधता संरक्षण सम्बन्धी नीति निर्माण आवश्यक भएकोले त्यसका लागि गाउँपालिकाले परियोजनासँग समन्वय गरी अघि बढ्ने प्रतिवद्धता समेत गरेको छ।

चुरे गाउँपालिकाका ६ वटै वडामा पानीका मुहान संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने नीति कार्यान्वयनको सुरुवात भएको गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँदले जानकारी दिइन्। उनले सुख्खायाममा चुरे गाउँपालिका क्षेत्रभित्र पानीका मुहान सुक्ने भएकोले पानीको मुहान संरक्षण आवश्यक भएको बताइन्। उपाध्यक्ष साउँदले मानवीय जीवनमा वातावरणको महत्व निकै भएकाले वातावरण संरक्षणसँगै खुला चरिचरन रोक्ने प्रतिवद्धता समेत गाउँपालिकाले गर्ने बताइन्।

सडक निर्माण, वनजंगल विनाश लगायत विभिन्न कारणले पानीका मुहान सुक्दै गएकोले सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यानमा राखेर विकास निर्माण गरिनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ७ का सदस्य लोकबहादुर सारूमगरले बताए। उनले चुरे गाउँपालिकाभित्र ३१ वटा सामुदायिक वन रहेको बताउँदै खुला चरिचरनका कारण वातावरणमा समेत असर पर्न थालेकाले त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए।

सुख्खायाममा चुरेका स्थानीयबासीले पानीको विकराल समस्या भोग्दै आएका छन्। चुरेमा रहेका परम्परागत पानीका मुहान विविध कारणले सुक्दै गएकाले पानीका मुहान संरक्षण गर्न स्थानीयबासी नै लाग्नुपर्ने ठूलीगाड सिंचाइ जलउपभोक्ता समिति काफलगैराका अध्यक्ष योगेन्द्रबहादुर शाहको भनाइ छ। चुरेमा भएका पानीका मुहान संरक्षण नहुँदा मुहान सुक्दै गएकोले पानीको मुहान संरक्षणसँगै जलीय जैविक विविधता संरक्षण सम्बन्धी नीति आवश्यक भएको शाहको भनाइ छ।

चुरे ६ मा रहको पूरानो फल्टुडे बजारबासीले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन्। बजारमा देखिएको खानेपानी समस्या समाधान गर्न बगैचुला लिफ्टिङ खानेपानी योजना विगत एक वर्षदेखि लागू भएको छ। सो खानेपानी योजना यही आर्थिक वर्षमा सूचारु हुने आशामा रहेको वडाध्यक्ष प्रेम साउँदको भनाइ छ। सोलार प्रविधिबाट खानेपानी योजना सम्पन्न पश्चात महिलाहरुले राती ३ बजे उठेर खोलाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्ययता हट्ने विश्वास उनको छ।

गाउँपालिकाकी उपाध्यक्ष साउँदका अनुसार चुरेका ६ वटै वडामा आवश्यक बजेट विनियोजन गरी जलीय जैविक विविधता तथा वातावरण संरक्षण नीति बनाएर कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरिन्। चुरेमा यस अघि वातावरण पत्रकार समूहले आयोजना गरेको पानीका मुहान संरक्षण कार्यक्रमले वातावरणसँग जोडिएका सवालसँग आफूहरुलाई झक्झक्याएको चुरे ३ का वडाध्यक्ष टेकबहादुर शाहले बताए।

चुरे १ का वडाध्यक्ष हुकुम बोहराले जलीय जैविक विविधता संरक्षण सम्बन्धी जानकारी जनस्तरसम्म पुर्याउन आवश्यक रहेको बताए। उनी भन्छन्– जलीय जैविक विविधता संरक्षण तथा वातावरण संरक्षणका बारेमा जनतालाई जागरुक बनाउनुपर्छ ।

पानी छलफल कार्यक्रममा चुरे गाउँपालिकाका जनप्रतिनिधिहरुले ३ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन्, भने यस अघि १० बुँदे प्रतिवद्धताहरुमा हस्ताक्षर गरेका थिए ।

अम्रिता केसीले सञ्चालन गरेको कार्यक्रममा पानी परियोजनाका गजेन्द्र सिंह, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीयबासिन्दा तथा पत्रकारको सहभागिता रहेको थियो।

यस्ताे छ  ३ बुँदे प्रतिवद्धता

ताजा समाचार

सम्बन्धित समाचार