Friday, September 20, 2024

पोखरी संरक्षणपछि तरकारी बारीमा सिंचाइ सुविधा

डोटी–डोटीको दिपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकामा पोखरी संरक्षण गर्न थालिएको छ।

पुराना पोखरी माटो, ढुंगा, सिसा र फोहोरले पुरिँदै जान थालेपछि स्थानीय बासिन्दा ढुंगा, फोहोर निकालेर पोखरीमा पानी जम्मा गर्ने गरेका छन्। र, पोखरीमा जम्मा भएको पानी तरकारीबारीमा सिंचाइका लागि प्रयोग गर्ने गरिएको स्थानीय बासिन्दाले बताएका छन्।

दिपायल सिलगढी नगरपालिका २ की गंगा बोगटीका अनुसार अहिले पोखरीमा जम्मा भएको पानी बारीसम्म पु¥याउन प्लास्टिक पाइपको जडान गरिएको छ। जसकारण पानीको चुहावट हुँदैन।

‘पहिले पोखरी पनि फोहोर थियो। लेदोसहितको पानी थियो,’ उनले भनिन्, ‘अहिले सफा गरेर प्लास्टिक पाइपमार्फत तरकारीबारीसम्म लग्न गरेका छौं।’ उनका अनुसार पहिले पोखरीको पानी कुलोमार्फत् सिंचाइका लागि तरकारी बारीसम्म लग्ने गरिन्थ्यो। बोगटीले १५ रोपनी जमिनमा अहिले गहुँ खेतीसँगै तरकारी पनि फलाएकी छन्।

 हाल व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएकी बोगटीले एक सिजनमा ३० हजारभन्दा बढी कमाइ हुने गरेको सुनाइन्।
माटो र ढुंगाले बनेका पोखरीलाई स्थानीय र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाको सहकार्य र यूएसआइडीको सहयोगमा संरक्षण गरिएको हो। यहाँ रहेको पुनेतोला पोखरीको सरसफाइ गरी पुनर्निर्माण गरिएको छ। पोखरीको संरक्षणपछि बोगटीसँगै यहाँका स्थानीयलाई खेतबारीमा सिंचाइका लागि सहज भएको छ।

त्यस्तै, सायल गाउँपालिकाका स्थानीले पनि सोही संस्थाकै सहयोगमा तीन वटा पोखरीको संरक्षण गरेका छन्। उनीहरूले रोकायानारा पोखरी, बुढाइजर र रानी वन पोखरीका संरक्षण गरेका हुन्।

सायल गाउँपालिका ६ की शर्मादेवी रोकाया पोखरीको पानी बारीसम्म पुग्न थालेपछि बेसिजनमा पनि हरियो साग लगाउन थालेको सु्नाइन्। ‘पहिले सिजनमा मात्र हरियो साग लगाउँथे, अहिले सिंचाइ सुविधा भएपछि सहज भएको छ,’ उनले भनिन्।

स्थानीय किसान अमर खड्का पोखरी संरक्षणपछि आफूहरुलाई सिंचाइ गर्न सजिलो भएको बताउँछन्। पोखरीको संरक्षणसँगै खेर गैरहेको पानीको सदूपयोग भएको उनी बताउँछन्।

अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाले तीन पोखरीको पुनर्निर्माण र एक नयाँ पोखरी बनाएको जनाएको छ। संस्थाले दुई गाउँमा प्लास्टिक पाइप, मेलेखमा पोखरीदेखि खेतसम्म पानी ल्याउनका लागि एचडिपिइ पाइप सहयोग गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार