Friday, November 22, 2024

वनमा डढेलोको जोखिमः सधैंको त्रास

काठमाडौं– फागुन सुरु पछिको जोखिम हो, डढेलो। असार नलाग्दासम्म आगलागीका घटनाले आक्रान्त बन्छ मुलुक। यद्यपि, यस वर्ष पुस २४ गतेबाट सुरु भएको हिउँदे झरीले अहिलेसम्म आगलागी र त्यसबाट उत्पन्न भएको असरका ठूला घटना सुन्न परेको छैन।

करीब डेढ महीनासम्म पश्चिमी वायुको प्रभावका कारण मुलुकभर परेको हिउँदे वर्षाले डढेलोको क्षतिलाई केही पर धकल्यो। जसका कारण पुसदेखि सुरु हुने आगलागीका घटना नभएका हुन्। हुनपनि यसवर्ष हिउँदे वर्षाको दर विगतका वर्षको भन्दा उच्च रह्यो।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा ६०.२ मिलिमिटर वर्षा हुन सामान्य हो। यसवर्ष फ्रेबरीमा ६२.७ मिलिमिटर वर्षा भयो। जबकी फ्रेबरीमा २६.७ मिलिमिटर बर्षा हुनुलाई सामान्य मानिन्छ। फ्रेबरीमा औषतभन्दा २२९.१ प्रतिशत बढी वर्षा भयो।

त्यसगरी जनवरीको औषत वर्षाको दर २०.८ मिलिमिटर हो। तर, जनवरीमा ३६.६ मिलिमिटर वर्षा भयो। जनवरीमा औषतभन्दा १७६.४ प्रतिशत बढी वर्षा भयो। अहिलेसम्मको तथ्याकंले हिउँदका २ महीनामा मात्र १००.९ मिलिमिटर बर्षा भएको छ। हिउँदको औषत वर्षाको दरभन्दा १६५ प्रतिशत पानी पर्यो । जसका कारण डढेलोका घटना अहिले सम्म भएका छैनन्।

जोखिम उस्तै
यसवर्ष अहिलेसम्म आगलागीका घटना नभएपनि हिउँदका ५ महीना अन्यन्तै जोखिमयुक्त महीना हुन्। विगत वर्षका तथ्यहरुलाई हेर्ने हो भने आगलागी र डढेलोका घटना पुसदेखि भएका छन्। जसका कारण करोडौं मूल्य बराबरको धनमाल नष्ट भएको छ।

दक्षिण एशियाली डढेलो व्यवस्थापन सञ्जालका संयोजक सुन्दर शर्मा यसवर्ष हिउँदे वर्षाका कारण अहिलेसम्म डढेलोका घटना नभएपनि जोखिम भने नघटेको बताउँछन्।

प्रकोप व्यवस्थापक विज्ञहरुका भनाइमा सुख्खा, तापक्रम, जल्ने वस्तु र हावाका नै डढेलोको प्रमुख कारण हो । भूकम्प अध्ययन सामुदायिक केन्द्रले संकलन गरेको तथ्यांक अनुसार सन् १९७० देखि सन् २०१६ सम्म भएका आगलागी तथा डढेलोका ६ हजार ९१३ घटनामा परी १ हजार ७६१ जनाको मृत्यु भएको छ।

डढेलो अनुसन्धानकर्ता समेत रहेका शर्माले संकलन गरेका तथ्याकं अनुसार आर्थिक बर्ष २०६१-६२ देखि अहिलेसम्म डढेलोका कारण ९८ जनाको मृत्यु भइसकेको छ। घाइते हुनेको संख्या ८८ छ। शर्माको तथ्याकंले १२ वर्षमा वार्षिक सरदर १२ जनाको ज्यान डढेलोमा परेर ज्यान गएको देखाउँछ । २०६५÷ ६६ को गर्मीयाममा लागेको डढेलोबाट सबभन्दा बढी ४९ जनाले ज्यान गुमाए, ९ जना घाइते भए। त्यो साल १ लाख ४६ हजार ७४२ हेक्टर वन क्षेत्रमा डढेलो लाग्दा ६४ घर नष्ट भएका थिए।

त्यसैगरी २०७०-७१ मा डढेलोका कारण १३ जनाको ज्यान गएको र ११ जना घाइते भएको शर्माको तथ्यांकले देखाउँछ । २०७२ मा १ लाख ३० हजार हेक्टर वन क्षेत्रमा डढेलो लाग्दा ११ जनाको मृत्यु र ११ जना घाइते भएका थिए।

photo source : Nepal Army

जंगलमा किन लगाइन्छ डढेलो ?
नेपालको कुल क्षेत्रफलमध्ये करीब ४४ प्रतिशत भूभागमा वन छ । वन विनाशमा डढेलोलाई एक प्रमुख कारण मानिन्छ।
वन तथा भू संरक्षण विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल वनमा डढेलो लगाएपछि नयाँ पालुवा पलाउँछ, दाउरा निकाल्न सजिलो हुन्छ भन्ने परम्परागत सोच भएका मानिसले आगो झोस्ने बताउँछन् । ‘डढेलोले गर्ने असरबारे जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने गरेको पाइन्छ,’ उनी भन्छन् , ‘जसले गर्दा मानवीय सँगै वातावरणीय क्षति भइरहेको छ।’

प्राकृतिक र मानवीय कारण नै बन डढेलोका समस्या हो । नेपालको सन्दर्भमा मानवीय कारण नै बढी जिम्मेवार छ । साथै तालिम प्राप्त जनशक्ति र स्रोत साधनको अभावले डढेलो नियन्त्रणका काम समेत प्रभावकारी हुन सकेका छैनन्।
डढेलो लगाउनेलाई दण्डित गर्ने कानूनी व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी छैन । डढेलो लगाउनेलाई कानुनी कार्वाहीको व्यवस्था पनि छ । तर, त्यसको प्रभावकारी कार्वान्यन नै हुन सकेको छैन । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ।

वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरेपनि त्यो कागजमै सिमित छ ।
त्यसैगरी सामुदायिक वन, सरकारद्वारा व्यवस्थित वन, कबुलियती वन र संरक्षित क्षेत्रको व्यवस्थापनका कार्ययोजनाहरूमा डढेलो व्यवस्थापनको विषयलाई गम्भीरताका साथ लिइएको पाइँदैन । जसले गर्दा पनि बनमा डढेलो लाग्ने गरेको छ।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक भने समूहले डढेलो नियन्त्रणका लागि प्रभावकारी काम गरेको दावि गर्दछिन् । सामुदायिक वनका उपभोक्ताले राष्ट्रिय वनमा लाग्ने डढेलोलाई समेत नियन्त्रण गरेको उनको भनाई छ। ‘समस्या राष्ट्रिय वनको हो,’ उनी भन्छिन्, ‘राष्ट्रिय वनबाट सल्केको डढेलोले सामुदायिक वनहरूमा क्षति पुगेको छ, वन जोगाउने हो भने, सबै वन समुदायलाई हस्तान्तरण गर्नुपर्छ ।’

छैन अध्ययन
वन डढेलोबाट हुने क्षतिको कुनै अनुमान नै गर्न सकिँदैन । प्रकोप क्षेत्रका जानकार दिननाथ भण्डारी डढेलोले गर्ने वातावरणीय क्षतिको मूल्याकंन नै नभएको बताउँछन् ।

वनमा लाग्ने डढेलोले वनस्पति, वन्यजन्तु र जैविक विविधतामा क्षति गराउनुको साथै वायुमण्डलमा हरितगृह ग्यास बढाउँछ । नेपालमा हरेक वर्ष डढेलोले पुर्याएको क्षतिबारे सरकारी तहबाट अध्ययन भएको छैन । विभागका महानिर्देशक लम्साल स्रोतसाधनको अभावका कारण अध्ययन हुन नसकेको बताउँछन् । उनका अनुसार, भौतिक क्षतिको सामान्य लेखाजोखा भए पनि जीवजन्तु र वातावरणीय क्षतिको विस्तृत अध्ययन भएको छैन ।

वनको डढेलोले वायुमण्डललाई कति प्रदूषित बनाउँछ भन्ने कुरा सन १९८७ मा ब्राजिलको ५० हजार वर्ग किलोमिटर अमेजन क्षेत्रको डढेलोले देखाएको छ । अध्ययन अनुसार, त्यहाँको डढेलोले ५०० मिलियन टन कार्वनडाइअक्साइड र ४४ मिलियन टन कार्वन मोनोअक्साइड निकालेको थियो ।

तापक्रम वृद्धि र जलवायु परिवर्तनमा कार्वन डाइअक्साइड ग्यासको मुख्य भूमिका हुन्छ । डढेलोका अध्येता शर्मा पृथ्वीको तापक्रम र माटोमा सुक्खापन वृद्धिमा डढेलो एउटा प्रमुख कारण रहेको बताउँछन ।

चैतदेखि जेठसम्म अफगानिस्तानदेखि बर्मासम्मको हिमालय हिन्दुकुश क्षेत्रको वनजंगलमा लाग्ने डढेलोका कारण भारत, नेपाल, भूटान, बंगलादेश र बर्मासम्मको भू–भागलाई तुवाँलोले छोप्छ ।

यसले पुर्याइरहेको वातावरणीय क्षतिबारे नेपालमा मात्र होइन, दक्षिण एशियाका अन्य देशमा समेत विस्तृत अध्ययन भएको छैन । नेपाललगायत सबै देशमा डढेलोको जोखिम भने बढ्दै गएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार